५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

डेढ दशकसम्म सुध्रिएन बेनी-भकुण्डे सडक

म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका-२ ज्यामरुक कोटको भकुन्डे जोड्ने बेनी-लभ्लिहिल-भकुन्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ। सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। सडकको अवस्थामा सुधार नहुँदा स्थानीय बेनी-रत्नेचौर-भकुन्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन्।

२०६५ सालमा ‘ट्र्याक’ खुलेको बेनी-लभ्लीहिल-भकुन्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारीसाधन सञ्चालन हुन नसकेको स्थानीय कृष्णबहादुर घिमिरेले बताए।

सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको भनाइ छ।

२०६५ सालमा ट्र्याक खोल्ने काम भए पनि बाटोमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नुपरेको खबराका चन्द्रबहादुर कार्कीले बताए। ‘अहिलेसम्म बेनीबाट जिप वा बसमा चढेर गाउँमा आउन पाइएको छैन,’ कार्कीले भने, ‘खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकामा बोकेर बिक्री गर्न बजार लैजानुपर्छ, सडक हुनु र नहुनुको अर्थ नै भएन।’

समय-सयममा सामान्य रूपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयको गुनासो रहेको छ।

वर्षाको समयमा बाढीपहिरो तथा हिलाम्य र हिउँदको समयमा धुलाम्य भएर पैदल र मोटरसाइकलमा कठिन यात्रा गर्नुपरेको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताए।

साढे सात किलोमिटर कच्ची उक्त सडकमा जिप, बसलगायत साधन चल्नसक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो सडक पार गरेर जिप भकुन्डेसम्म पुग्छ।

बाटाको समस्याकै कारण म्याग्दीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल ज्यामरुक कोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ। बाटाको मर्मत सुधार गरी यातायातका साधन सञ्चालन हुनसक्ने बनाउन सके ज्यामरुक कोटमा पर्यटक पुग्नुका साथै स्थानीयलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने स्थानीय भीमबहादुर पौडेलले बताए।

सो सडक मर्मतका लागि हालसम्म करिब एक करोड रूपैयाँ खर्च भइसकेको छ। वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी-भकुन्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए। सडकको स्तरोन्नतिका लागि ठुलै बजेट आवश्यक पर्ने उनको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८० ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App