२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिसो बढिसक्यो, तर, रोकिएन डेंगी

चिकित्सक भन्छन्ः डेंगीका बिरामी दिनहुँ आउँछन्

तनहुँको दमौलीमा डेंगी संक्रमण नियन्त्रणका लागि गरिएको सर्च एण्ड डिस्ट्रोय अभियान। फाइल तस्बिरः नागरिक

यो वर्ष तनहुँ सदरमुकाम दमौलीलाई डेंगीले आक्रान्त बनायो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भए। डेंगीबाट तनहुँमा पाँचजनाले ज्यान गुमाए। तनहुँपछि कास्कीमा संक्रमित बढी भए। कास्कीमा यो  वर्ष २ हजार ८ सय ७५ जना संक्रमित बने।  

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका अनुसार यो वर्ष प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका छन्। केन्द्रका संयोजक डा. मधुरजी ढकाल भन्छन, ‘अहिले पनि प्रदेशका विभिन्न जिल्लामा डेंगीका बिरामी भेटिएका छन्। चिसो बढ्दै गएपनि डेंगी संक्रमण शून्यमा भने झर्न सकेको छैन।’

उनका अनुसार अहिले पनि तनहुँ, कास्की, स्याङजा, बागलुङ र गोरखा लगायतका जिल्लामा दिनहुँ डेंगी संक्रमित भेटिएका छन। ‘चिसो बढ्दै गएपछि संक्रमण कम हुनुपर्ने हो। पहिले भन्दा केही कम भएको त हो, तर, जुन रुपमा संख्या घट्नुपर्ने हो, त्यो अनुसार हुन सकेको छैन,’ उनले भने, ‘चिसो बढ्दै गएको, वर्षायाम रोकिएको, वर्षामा जमेको पानी पनि सुकिसकेको हुनाले संक्रमण कम हुने आँकलन छ। तर, बाह्रैमहिना पनि धेरथोर बिरामी भेटिन सक्ने सम्भावना छ। बाहिर भन्दा घरायसी सरसामानमा संकलित पानीका कारण संक्रमण फैलाउने लामखुट्टे सक्रिय बनेको हुनसक्छ।’  

उनका अनुसार डेंगी फैलाउने लामखुट्टेले टोकेपछि ४ देखि १४ दिनसम्म संक्रमण देखिन सक्ने भएकोले पनि अहिलेसम्म जोखिम रहिरहेको हो। पोष्ट मनसुन सिजन भएकोले पनि अब बिस्तारै संक्रमण कम हुने विश्वास रहेको उनले बताए। ‘पोहोर–परार चिसो बढेपछि रोकिएको थियो। यो पटक पनि त्यही अपेक्षा हो,’ ढकालले भने।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार सदरमुकाम दमौलीमा अहिले पनि दिनहुँजसो डेंगी संक्रमित फेला परिरहेका छन्। मंगलबार मात्र तीनजना संक्रमित फेला परेको अधिकारीले बताए। तनहुँ मुकाम दमौली गत असोजमा डेंगीको हटस्पट नै बनेको थियो। त्यो बेला दिनकै एकसय हाराहारीमा संक्रमित हुने गरेका थिए । ‘अहिले पनि दिनहुँ बिरामी भेटिएका छन। पहिलेको तुलनामा संक्रमण कम भएको त हो, तर, शुन्यमा झर्न भने सकेको छैन,’ अधिकारीले भने, ‘पहिले त निकै नै हायलकायल पारेको हो । यतिखेर भने घटेको छ। तर निमिट्यान्न भने हुन सकिएको छैन।’

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष डेंगीका कारण तनहुँमा ५ र स्याङजामा २ गरि ७ जनाको ज्यान गएको छ। प्रदेशका सबै ११ वटै जिल्लामा यो वर्ष डेंगी संक्रमण फैलिएको थियो। मन्त्रालयका अनुसार तनहुँ र कास्कीपछि डेंगीका बढी संक्रमित गोरखामा भएका थिए। गोरखामा यो वर्ष ७ सय २३ जना संक्रमित बनेका छन्। त्यस्तै बागलुङमा ४ सय ८१, स्याङजामा ४ सय ७९, लम्जुङमा २ सय ३४ जना संक्रमित बनेका थिए। त्यस्तै नवलपुरमा १ सय २२, म्याग्दीमा १ सय ८, पर्वतमा २१, मनाङमा १० र मुस्ताङमा ३ जना डेंगीका संक्रमित फेला परेका छन्।  

चिकित्सकहरु तापक्रम घट्दै जाँदा पनि डेंगी संक्रमण रोकिने नसकेको बताउँछन् । अहिले पनि डेंगीका बिरामी उपचारका लागि अस्पताल आउने गरेको उनीहरुको भनाई छ। पोखराको मेडिप्लस अस्पतालका फिजिसियन डा.सरोज पोखरेलका अनुसार अहिले पनि डेंगी संक्रमित दिनहुँजसो उपचारका लागि अस्पतालमा आईरहेका छन्। 

‘केही वर्ष अघि चिसो बढ्दै गएपनि डेंगी संक्रमित कम हुन्थे, तर, अहिले चिसो बढिसक्दा पनि तुलनात्मक रुपमा संक्रमण कम हुन सकेको छैन, दिनहुँजसो डेंगीका बिरामी भेटिरहेका छौं,’ पोखरेलले भने, ‘संक्रमण फैलाउने लामखुट्टेको बाच्ने क्षमता बढ्दै जाँदा संक्रमण पनि रहिरहेको अनुमान हो।’

उनका अनुसार लामखुट्टे बाच्नका लागि उपयुक्त मौसम रहिरहँदा अहिले पनि संक्रमण कायम रहेको हो। विश्वव्यापी जलवायु परिवर्तनले तापक्रम बढाउँदै लगेको र त्यसले डेंगी फैलाउने लामखुट्टेलाई बाच्नका लागि उपयुक्त तापक्रम तयार भएको हुँदा संक्रमण फैलाउन सघाउ पुगेको उनले बताए। ‘पहिला पहिला २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम डेंगी फैलाउने लामखुट्टेका लागि उपयुक्त हुने गरेकोमा अहिले चिसो बढेर तापक्रम २० डिग्री हाराहारीमा झरिसक्दा पनि डेंगी संक्रमण रहिरहेको छ,’ डा. पोखरेलले भने, ‘अब त चिसो झनै बढ्दै गएको छ। संक्रमण कम हुनसक्छ। तर, पछिल्लो समय त बाहै्र महिना नै संक्रमण देखिने सम्भावना छ।’

चिकित्सकका अनुसार डेंगी सार्ने लामखुट्टेको १५ देखि २० डिग्री सेल्सियस तापक्रममा पनि बाच्न सक्ने क्षमता विकास भएकोले गर्दा जोखिम रहिरहेको हो। ‘लामखुट्टेको क्षमता बढेकै हो। केही वर्ष अघिसम्म घरको तेश्रो–चौथो तलामा लामखुट्टे लाग्दैनथ्यो, अहिले चौथो तलासम्म पनि लामखुट्टे पुग्ने गरेको छ। त्यस्तै कम तापक्रममा पनि बाच्न सक्ने क्षमता बिस्तार गरेकोले पनि संक्रमण कम हुन नसकेको हो,’ पोखरेलले भने।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो।  

प्रकाशित: ५ मंसिर २०८० ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App