१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गैंडा मारिएको घटना छानबिन टोली चितवनमा

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो।

उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूष्म रुपमा अध्ययन गरिएको छ। आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति लगायत सरोकारवालासँग छलफल गरिँदै छ।

मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले जानकारी दिए। यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ। ढकालले भने, “हामी सूष्मरुपमा अध्ययन र छलफल गरेर प्रतिवेदन तयार गर्छाैं।”

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो।

समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन्।

आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषय समेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए।

राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो। बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै ६ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दश दिनमा फेला परेका थिए।

प्रकाशित: ४ मंसिर २०८० ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App