२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ चढाइँदै

अस्ताउँदो सूर्यलाई अर्घ चढाउँदै लहानकी व्रतालु महिला। फाइल तस्बिर : नागरिक

सूर्य उपासनाको महान् पर्व छठ आइतबार अस्ताउँदो सूर्यदेवलाई अर्घ दिई मनाइँदै छ। आइतबार अपरान्हदेखि यहाँका पोखरी, नदी र जलाशयमा विभिन्न पूजा सामग्रीसहित श्रद्धालु जाने क्रम सुरु हुन्छ।

अस्ताउँदो सूर्यदेवलाई अर्घ अर्पण गरी कतिपय स्थानमा श्रद्धालु पुजा सामग्री घर लग्ने र सोमबार बिहान पुनः जलाशयमा पूजा सामग्रीसहित जान्छन्। तर लहान नगरपालिका ३ को रघुनाथपुर पोखरी, जनकपुरधामको गंगासागर पोखरी, वीरगन्जको घडिअर्वा पोखरीलगयतमा भने श्रद्धालुको पूजा सामग्री छठ घाटमै राख्ने व्यवस्था पूजा समितिले मिलाउँदै आएको छ।

पूजा सामग्री लिएर घर जाने र पुनः आउने झन्झटबाट मुक्त गर्न सुरक्षित व्यवस्था मिलाइएको रघुनाथपुर पोखरी छठ पूजा समितिका अध्यक्ष भुवनेश्वर महतोले बताए। उनका अनुसार छठ घाटमा बस्ने श्रद्धालुको मनोरञ्जनका लागि आइतबार हुने भारत र अस्ट्रेलियाबीचको विश्वकप क्रिकेटको फाइनल खेल हेर्ने व्यवस्था मिलाइएको छ।

पहिला धार्मिक कार्यक्रमको व्यवस्था हुन्थ्यो तर यसपालि ठूलो पर्दामा विश्वकप क्रिकेटको फाइनल म्याच हेर्ने व्यवस्था मिलाइएको उनले बताए। चार दिवसीय छठ पूजाको अन्तिम दिन सोमबार उदाउँदो सूर्यदेवलाई अर्घ प्रदान गरी पूजा सम्पन्न हुनेछ।

पूजाको पहिलो दिन शुक्रबार व्रतालु महिला र पुरुष जलाशयमा स्नान गरी अरवाअरबाइन खाई व्रत सुरुवात गरेका थिए।

शनिबार खरनाको खिर भगवान्लाई भोग लगाई आफूले खाएर निर्जल र निराहार व्रतको सुरुवात गरेका व्रतालु सोमबार बिहान उदाउँदो सूर्यदेवलाई अर्घ दिएपछि मात्र व्रतालु अन्नजल गर्नेछन्।

अस्ताउँदो सूर्यलाई अर्घ चढाउने क्रम साँझदेखि सुरु हुने भए पनि दिउँसोबाटै पवित्र घाटमा जाने क्रम सुरु हुन्छ। चार दिवसीय छठ पूजाको चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी यो पर्व सम्पन्न हुनेछ। उदयाचलगामी सूर्यलाई अर्घ प्रदान गरी तथा छठको कथा श्रवण गरी मात्र उनीहरू अन्न जल ग्रहण गर्नेछन्।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो। अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान र जीवनकै पाटोका रूपमा लिइनु हो।

धनी, गरिब, तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन्। वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ। छठका अवसरमा बेहुलीझैं सिँगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड उल्लेखनीय हुन्छ।

प्रकाशित: ३ मंसिर २०८० ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App