१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

इलामको माइपोखरीमा त्रि–धार्मिक महाउत्सव सुरु

तस्बिर: भीम/नागरिक

रामसार क्षेत्र माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ सुरु भएको छ। 

धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीलाई धार्मिक सहिष्णुताको उत्कृष्ट नमुना बनाउने प्रयासमा स्थानीयले मंसिर १ देखि ८ सम्म त्रि–धार्मिक महाउत्सव संयुक्त रूपमा आयोजना गरेका हुन्।

महाउत्सवको उद्घाटन सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले गरे। आयोजक समितिका अनुसार माइपोखरीछेउमा तीन हजारभन्दा बढी भक्तजन अटाउने पुराणस्थल बनाइएको छ भने बौद्ध गुम्बा र किरात साकेला थान झकिझकाउ बनाइएको छ। उद्घाटन अवसरमा माइपोखरीबाट सुरु कलश यात्रा देउराली बजार परिक्रमा गरेर पुनः त्यहीँ फर्कियो। ‘कलश यात्रासँगै स्थानीय सबै धर्म–संस्कृति, समुदाय, जातजातिका झाँकी प्रदर्शन गरिएको छ,’ आयोजक समिति संयोजक प्रेम नाछिरिङ राईले भने।

महाउत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। पुराणमा दिनहुँ कम्तीमा दुई पण्डितले आठ दिनसम्म कथा वाचन र प्रवचन गरिरहेका छन्। नजिकैको बौद्ध गुम्बामा निरन्तर पूजापाठ गरिँदैछ। किरातका लागि साकेला थान तयार गरी कम्तीमा दुई दिन र बढीमा आठै दिन फरक–फरक गुरुहरूले प्रवचन दिने तयारी छ। प्रवचनमा किरातको धार्मिक ग्रन्थ मुन्धुमको उत्पत्ति, विकास, प्रयोग, धार्मिक र व्यावहारिक पक्षलगायत पनि समेटिने आयोजकले जनाएको छ।

माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञ कुण्ड, साधु कुटी, बौद्ध गुम्बा, तीन चुलो, युमाथान अवलोकन र दर्शन, महाउत्सवभर हरेक साँझ वनासरबाट आएका गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किरात गुरुबाट प्रवचन यसका थप आकर्षण छन्। ‘हरेक साँझ महात्म्य भजन कीर्तन, ज्ञान मञ्च र प्रवचन हुनेछन्,’ राईले भने, ‘प्रदेशकै प्रख्यात पर्यटकीय स्थलसमेत रहेको माइपोखरीबाट तीन देशका हिमाल देखिनु आफैँमा अर्को आकर्षण हो।’ पुवामाईको शिर, १८ भन्दा बढी प्रजातिका गुराँस पाइने छिन्टापु, मेचीकै अग्लो टोड्के झरनालगायत पनि नजिकै रहेकाले महाउत्सवमा आगन्तुक पाहुनाको संख्या धेरै हुने आशा गरेको उनले जनाए।

विश्वशान्तिको कामनासहित माइपोखरीमा महाउत्सव आयोजना गरिएको हो। धार्मिक पर्यटन प्रवर्धनका लागि ‘हामी सबैको योगदान, माइपोखरी प्रचारप्रसारको महाअभियान’ नारा तय गरिएको आयोजक समितिका सञ्चार संयोजक श्यामकुमार राईले बताए।

माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहु धार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहु आयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्दै माइपोखरी क्षेत्र विकास कोषसमेत स्थापना गर्ने महाउत्सवको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। कोषमा अहिलेसम्म करिब तीन लाख रुपैयाँ जम्मा भइसकेको र श्रद्धालु भक्तजनबाट संकलन हुने क्रम जारी नै रहेको संयोजक प्रेमनाछिरिङले जानकारी दिए।

माइपोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहु धार्मिक उत्सव सञ्चालन गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन्। इलाम सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरी पुग्न बिब्ल्याँटेबाट माइपोखरीसम्मको करिब ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ। कच्ची सडक पनि सहज रहेकाले आगन्तुकलाई यहाँसम्म आइपुग्न समस्या नभएको आयोजकले जनाएको छ। 

प्रकाशित: १ मंसिर २०८० १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App