५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ओलाङ्चुङगोलामा मात्र मनाईने फुटुक हेर्न बिदेशी नागरिक पनि आए

तस्बिरहरु :तेञ्जिङ शेर्पा वालुङको फेसबुकपेजबाट

ताप्लेजुङको दुर्गम तर आर्कषक पर्यटकिय स्थल ओलाङचुङगोलामा मात्र मनाइने फुटुक पर्व आज सकिएको छ।कात्तिक कृष्ण पक्षको द्वितीयादेखि शुरुभई औंसीका दिन समापन हुने यो पर्वलाई आस्था र बिश्वासको प्रतिक मानिन्छ।

 यसबर्ष स्थानीय बाहेक ६ जना बिदेशी नागरिक र अन्य क्षेत्रबाट उपस्थित गरी सयजना बढी मानिसहरु गोला पुगेको फुटुक पर्व मनाउन गठित समितिका संयोजक टाँसी लामाले जानकारी दिए।उनी फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका वडा सदस्य समेत हुन्।नेपालमा ओलाङ्चुङगोलामा मात्र मनाईने फुटुक पर्व हेर्न बेल्जियमका ६ जना नागरिक गोलामा रहेको टाँसीले बताए।

उनका अनुसार अघिल्लो बर्ष अष्टे«लियाका नागरिकले फुटुक पर्व हेरेका थिए।उनीहरु फर्किएर आफ्ना साथीभाईलाई पर्वको बारेमा बताएपछि बेल्जियमका नागरिक फुटुक हेर्न नै गोलामा आएको उनले बताए।

 ताप्लेजुङबाहेक,इलाम,दार्जिलिङ,सिक्कीम र काठमाडौंबाट समेत फुटुक पर्वमा सहभागी हुन मानिसहरु आएको टाँसीले जानकारी दिए।ओलाङ्चुङगोला हुँदै नेपाल र चीनको स्वशासित क्षेत्र तीब्बतबीचको सीमानाका टिपताला तथा आकर्षक र बिशेष मानिएको सिङजेमा ताल हेर्न मानिसहरुको आउजाउ बढ्न थालेपछि त्यहाँ पुगेर फर्किएका आन्तरिक पर्यटकहरु समेत फुटुक पर्वमा सहभागी भएका थिए।

अन्तिम दिन आइतवार(आज) लामाको नृत्य हेर्न र भगवानको आशीर्वाद लिनका लागि स्थानीयवासी र फुटुक पर्वप्रति आस्था राखेर त्यहाँ पुगेका धर्मालम्बीहरु गुम्बा नजिकै पाल तथा टेन्ट टाँगेर अराधनामा केन्द्रित भए । अघिल्लोबर्ष फक्ताङ्लुङ गाउँपालिकाले फुटुक पर्व मनाउन १ लाख रुपैयाँ सहयोग गरेपनि त्यसबाहेकका सबै फुटुक पर्वमा गाउँलेले आफैंले रकम जुटाएर मनाइँदै आएको स्थानीयले बताएका छन्।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने चलन छ।पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ।झण्डै साढे चारसय पुरानो मानिएको दिकीछ्योलिङ गुम्बामा आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई आकासदीपझैं माथि फालिन्छ।

कसैकसैले यसलाई आगोको रापले गुम्बाको धुरी कटाएको पनि भन्ने गर्छन्। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन्। यस्तै लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्छन्।आकासदीप फालेसंगै फुटुक पर्वको अन्तिम कार्य समेत समापन हुने ठानिन्छ। 

प्रकाशित: २६ कार्तिक २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App