अवैध रुपमा जंगली जनावरको मासु नेपाल भित्र्याइदै गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी बङ्गरा कटानले बरामद गरेको छ। सशस्त्र प्रहरी बलले ओसार पसारमा प्रयोग भइरहेको से२प ३३२६ नम्बरको मोटरसाइकलसहित आलो मासु बरामद गरेको हो।
बिहान ४ बजेको समयमा गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङ्गरा कटान सालघारी टोलमा भारतबाट नेपाल भित्रदै गरेको चित्तलको जस्तो देखिने २८ केजी आलो मासु सशस्त्र प्रहरीले बरामद गरेको छ।
सीमा सुरक्षाका लागि गस्तीमा खटिएको समयमा बङ्गरा कटानबाट चित्तलको जस्तो देखिने मासुसहित मोटरसाइकल बरामद गरिएको बिओपीका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालले जानकारी दिए। उनले भने, ‘नियमित गस्तीमा गएको समयमा बिहानीपख ४ बजेको समयमा गस्ती टोली देखेर मासु ओसार्दै गरेको व्यक्तिले मासुसहित मोटरसाइकल छोडेर खेतैखेत भाग्यो।’
बरामद गरिएको मासु वडा नम्बर ९ का वडाध्यक्ष प्रेम भण्डारी, वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र स्थानीय प्रतिनिधिको रोहबरमा खाडलमा पुरेर नष्ट गरिएको थियो भने केही मासु परीक्षणका लागि वन कार्यालय मार्फत् नमुना लिइएको थियो। मासु ढुवानीका लागि प्रयोग गरिएको मबरामद मोटसाइकल भने वन कार्यालाई थप अनुसन्धान तथा कारबाहीका लागि बुझाइएको उनले बताए।
प्रकाशित: २६ कार्तिक २०८० ११:४० आइतबार