२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जाजरकोटमा मृत्यु भएकामध्ये ५० प्रतिशत बालबालिकाः छैन भूकम्पबाट जोगिने तालिम र शिक्षा

शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा ७८ जना बालबालिकाले ज्यान गुमाए। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार भूकम्पबाट मृत्यु भएका १ सय ५३ मध्ये ७८ बालबालिका छन्।  

७८ बालबालिका मध्ये जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जनाको मृत्यु भएको हो। यसै गरी १९ जना वृद्ध वृद्धाको ज्यान गएको छ। जाजरकोटमा १५ जना वृद्ध वृद्धाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ४ जनाको मृत्यु भएको छ । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकी उपमेयर धनकुमारी शाही रातमा भूकम्प गएकाले पनि धेरै संख्यामा बालबालिका र वृद्घवृद्घाको मृत्यु भएको बताउँछिन्। 

उनी भन्छिन्, ‘रातीको समयमा भूकम्प आयो। सबै जना निन्द्रामा थिए। ठुलाहरू थाहा पाएपछि भाग्न सक्छन् तर बालबालिका र वृद्ध वृद्धालाई भाग्न पनि गाह्रो हुन्छ त्यसैले धेरै परे। कतिलाई त भूकम्प आएको भन्ने पनि थाहा भएन। भाग्नलाई समय पनि भएन। संरचनाहरू कमजोर हुँदा भत्किहाले। भाग्नलाई समय नभएका कारण पनि बढी बालबालिका र वृद्धवृद्धाहरुको मृत्यु भएको देखिन्छ।’

धेरै जति बालबालिका अभिभावकसँगै पनि मृत्यु भएको उनले बताइन्। बालबालिका मात्र नभएर बालबालिकासँगै अभिभावकको पनि मृत्यु भएको उनको भनाइ छ। 

राष्ट्रिय बाल अधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बरबहादुर रोकाया साना बालबालिका र वद्धवृद्धाहरु भाग्न नसकेका कारण नै बालबालिका र वृद्धवृद्धाहरुको बढी मृत्यु भएको बताए। 

‘रातीको भूकम्प धेरै जति सुतिरहेका अनि कतिलाई भूकम्प आयो भन्ने नै थाहा पनि भएन। त्यसैले बढीको मृत्यु भयो। एक सेकेन्ड नै ढिला भयो भने पनि मृत्यु भइहाल्यो। छिटो भाग्न नसक्दा उनीहरूको मृत्यु भएको देखिन्छ, उनले भने।

कति बालबालिका अलमलमा परेर पनि मृत्यु भएको हुनसक्ने रोकाया बताउँछन्। के आयो ? के गर्ने ? भन्ने अलमलमा पर्दा पनि बालबालिका र वृद्ध वृद्धाको मृत्यु भएको उनको ठम्याई छ।

रोकायाका अनुसार भूकम्पबाट प्रभावित बालबालिकालाई उद्धार गरिएको र मनोसामाजिक परामर्शकर्तालाई पठाएर बालबालिकाको अवस्थाको बारेमा बुझेन काम भइरहेको छ। ‘शारीरिक र मानविक अवस्था जाँच्ने काम भइरहेको छ’, उनले भने।

‘बालबालिकाहरूको उद्धार कार्य सकिसक्यौ। अब उनीहरुलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ। भूकम्पले धेरै बालबालिकाहरूको मानसिक अवस्था बिग्रेको हुनसक्छ। ती बालबालिकाको बारेमा जानकारी लिइरहेका छौँ, रोकायाले नागरिकन्यूजसँग भने।

भूकम्पविद् प्राडा आमोदमणि दिक्षित भूकम्पबाट धेरै बालबालिका र वृद्ध वृद्धाको मृत्यु हुनको कारण कमजोर घरहरू रहेको बताउँछन्। भूकम्पले कमजोर घरहरूलाई भत्काउने भएकाले मृत्युको संख्या नि बढेको उनको ठम्याई छ । त्यस्ता घर भौतिक संरचना अनुसार बनाउने हो भने मृत्युको संख्या कम गराउन सकिने डा. दिक्षितले बताए। 

अर्को कारणमा भूकम्प मध्यरातमा जाँदा बालबालिका र वृद्धवृद्धाहरु धेरै परेको उनको तर्क छ । डा.दिक्षितले भने, ‘मध्यरातमा भूकम्प गयो। त्यो बेला बालबालिका र वृद्धवृद्धाहरुको क्रियाकलाप कम हुन्छ। बालबालिकाहरू सुतिरहेका हुन्छन्, उनीहरु त्यतिखेर नै उठेर हिँड्ने कुद्ने भन्ने हुँदैन। त्यो बेला आमाहरूले नै आफ्ना बच्चाहरू छोडिरहेका हुन्छन्। भूकम्पको बेलामा मान्छेहरु पहिला आफैलाई बचाउन खोज्छ। त्यसैले पनि बालबालिकाहरू र वृद्धवृद्धाहरु परेका छन्।’

धेरै जति युवा र वयस्कहरू कामका लागि जिल्ला र देश बाहिर गएका र घरमा बालबालिका वृद्धवृद्धा मात्र बस्ने भएकाले पनि भूकम्पबाट मृत्यु हुनेमा पनि उनीहरुनै परेको डा. दिक्षितले बताए। 

‘हाम्रो देशका धेरै युवाहरु देश बाहिर छन् र कतिपय आफ्नो रोजीरोटीका लागि घर बाहिर छन्। हाम्रो बालबालिका र वृद्धावृद्धाहरु घरमा बस्ने गरेको छन् त्यसले उनीहरु थप प्रभावित बनेको पुष्टि गरेको छ, उनले भने।

भूकम्पविद् डा मुकुन्द भट्टराई जाजरकोट भूकम्पबाट बालबालिका र वृद्ध वृद्धाको धेरै मृत्यु हुनुको कारण समयमा नै उपचार नपाउनु पनि भएको बताउँछन्। 

उनी भन्छन्, ‘मध्यरातमा भूकम्प गयो। त्यसपछि घाइतेहरू बिहान ६ बजे मात्र अस्पताल पुगेको रेकर्ड छ। त्यो बिचमा उपचार नपाएर वा पुरिएकाहरूको उद्धार नभएर धेरैको मृत्यु भएको हुन सक्छ। यदि त्यो भूकम्प दिउँसो आएको थियो भने मृत्यु हुनेको संख्या कम हुन्थ्यो।’ 

प्राकृतिक विपरीतको समयमा के गर्ने भन्ने कुरा उमेर अनुसारका व्यक्तिहरूका लागि कार्यक्रम नभएको र त्यस्ता खालका कार्यक्रम बनाउनु पर्नेमा भट्टराईको जोड छ। 

‘भूकम्पले यो उमेरको मान्छे भन्ने कुरा छान्दैन तर उमेर अनुसार कस्तो खालका शिक्षा दिनुपर्छ भन्ने कुरा नेपालमा छैन। त्यो खालको तयारी गर्नुपर्दछ। सामान्यतया बालबालिका, महिला र वृद्ध वृद्धामा भूकम्प भन्ने बित्तिकै एक खालको डर हुन्छ। त्यस्ता डरलाई हटाउने खालका शिक्षाहरू हुन आवश्यक छ, उनले भने। 

नेपालमा प्राकृतिक विपत्तिको योजनामा बालबालिकामैत्री, वृद्धवृदामैत्री खालको हुन आवश्यक रहेको उनले बताए। सरकारले अब बालबालिकालाई भूकम्पमैत्री शिक्षा दिनुपर्ने उनले बताए। भूकम्पको बारेमा सैद्धान्तिक शिक्षा सँगसँगै प्रयोगात्मक शिक्षा पनि दिन आवश्यक रहेको उनले बताए। विद्यालयको पाठ्यक्रममा भूकम्पको बारेमा राख्नुको साथै विद्यालयमा यदि भूकम्प आए कसरी बाहिर निस्कने के गर्ने भन्ने बिषयमा प्राक्टिकल नै गर्नुपर्ने उनको बुझाइ छ। 

भट्टराई भन्छन्, ‘जापान देशमा १ देखि ५ वर्षसम्मका बच्चाहरूलाई कसरी टिममा काम गर्ने, कसरी आफूले खाएको भाडाहरु माझने, कसरी आफू बसेको ठाउँ सरसफाइ गर्ने भन्ने कुरा सिकाउँछ। त्यसपछि उनीहरु सामाजिक भएपछि पढाउन थाल्छन्। हाम्रोमा त्यस्तो खालको सिकाई छैन। हाम्रो पाठ्यक्रममा विपद्को बारेमा राखिएकै छैन। भूकम्पको बारेमा लेखिएकै छैन। यस्ता खालको जनचेतना बच्चाहरूलाई दर्नुपर्छ जसले गर्दा उनीहरु घरमा गएर आफ्ना अभिभावकलाई पनि सिकाउँछन्।’ 

भूकम्पबाट सुरक्षित हुन एक मात्र सुरक्षीत घर नै आवश्यक रहेको उनले बताए। सरकारले अब त्यस्ता खालका संरचना बनाउनेमा जोड दर्नुपर्ने उनको भनाइ छ। 

यी हुन् भूकम्पबाट ज्यान गुमाएका ७४ बालबालिका 

जाजरकोटमा ५० जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुने बालबालिकामा ४ वर्षीय प्रबेश वली, ६ वर्षीय बिनायक परियार, ९ वर्षीय तिलक रावल, २ वर्षीय सुदाम रावत, ८ वर्षीय सुजन रावत, ९ वर्षीया अञ्जली विक,४ वर्षीय उज्जल वीक, ११ वर्षीय निरुता विक, ८ वर्षीय विष्णु तिरुवा, १३ वर्षीय शुष्मा कार्की, ६ वर्षीय रोसनी वीक, ४ वर्षीय प्रचण्ड जंग शाह, १४ वर्षीय मिना विष्ट, १० वर्षीय मोहन परियार, ४ वर्षीय किरण बाबु राना, ६ वर्षीय संजिता विक, १२ वर्षीय प्रवल शाही, १७ वषीय एकता खड्का, ३ वर्षीय बिपन विक, ५ वर्षीय विनोद पुन, ३ वर्षीय सम्झना पुन, ४ वर्षीय मनिषा विक, १५ वर्षीय विष्णु परियार, १८ महिने सन्दिप नेपाली, ९ वर्षीय विपना लामा, ९ महिने सोफिया खड्का, ४ महिनाको दिक्षा घर्ती, १४ महिनाको टाईजन रावल रहेका छन्। 

त्यस्तै १५ वर्षीय नविन बुढा, ४ वर्षीय विशाल बिक, ४ वर्षीय सन्दिप बिक, ७ वर्षीय प्रवेश बिक, १४ वर्षीय विमल बिक, १२ वर्षीय सुनील बिक, ४ वर्षीय सुशान्त परियार, ८ वर्षीय विने परियार, १० वर्षीय सपना बिक, १६ वर्षीय अमृता पुन, १४ वर्षीय बिनिता पुन, १२ वर्षीय सौगात शाही, ९ वर्षीय सुजन शाही, ७ वर्षीय सर्जन शाही, २ वर्षीय प्रिङका बाँनिया, १३ वर्षीय रश्मी वली, ६ वर्षीय शिशिर परियार, १ वर्षीय मानसिका पुन, ५ वर्षीय धना सिंह, १० वर्षीय जनक टमटा र ८ वर्षीय धर्मराज टमटा रहेका छन्।

त्यसैगरी रुकुम पश्चिममा २८ जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा १२ वर्षीय मनिषा परियार, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, ४ वर्षीय निर्जल चन्द, १५ वर्षीय सकुन्तला दमाइ, ६ वर्षीय कृष्ण परियार, ४ वर्षीय सरस्वति बिक, १० वर्षीय रेजन वली, १२ वर्षीय रमेश पुन, १३ वर्षीय डिल ब केसी, ३ वर्षीय वासु बुढा, ५ वर्षीय भावना जैसी, १५ महिने दिवस जैसी, १२ वर्षीय सरिता बिक, १३ वर्षीय मदन गौतम, १३ वर्षीय सृजना कामी, ९ वर्षीय रिया कामी, ६ वर्षीय दिया कामी, १३ वर्षीय विराज मल्ल, १३ वर्षीय प्रेमा मल्ल, १० वर्षीय चन्द्रकला मल्ल, ४ वर्षीय लेखनाथ मल्ल, ९ महिनाको आयुष शाही, १४ वर्षीय दिपक शाही, ३ वर्षीय निशा जैशी, ३ वर्षीय सम्झना बिक, १० महिने स्नाहा बिक र १० महिने पृथ्वीनारायाण बिक रहेका छन्।

प्रकाशित: २१ कार्तिक २०८० १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App