१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मझौला भुकम्पमा ठुलो क्षति, विज्ञ भन्छन,पश्चिमी क्षेत्रमा सञ्चित जोखिमको स्तर उदांगियो

गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमको ठूलो मानवीय क्षति पुर्‍याएको छ।

यो समाचार तयार पार्दा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जना गरी १२९ जनाको ज्यान गइसकेको सुरक्षा निकायहरूले पुष्टि गरेका छन् । उद्धार कार्य अझै जारी रहेकाले यो संख्या अझै बढ्नसक्छ । सयौँ व्यक्ति घाइते रहेको आँकडा आइरहेको छ। हजारौं घर भत्किएका छन्।

घरहरू ढलेको हेर्दा स्थिती निकै डरलाग्दो छ। सडकबाटोहरु समेत भासिएका छन्,भुकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने,हाम्रो पालिकामा मात्रै झण्डै एकहजार घर बस्न नमिल्नेगरी भत्किएका छन् । संयोगको कुरा बारेकोट गाउँपालिकामा ज्यानै जानेगरी मानवीय क्षति भने नभएको उनले बताए ।

भूकम्पको असर कर्णाली, लुम्बिनी प्रदेशका लगभग सबै पहाडी जिल्ला र सुदूरपश्चिमको अछामलगायत आसपासका जिल्लामा परेको छ। धक्का भने तीनवटै प्रदेशका सबैजसो जिल्लामा महशुस भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।

यसरी ठूलै मानवीय र भौतिक क्षति हुनेगरी आएको भुकम्पको गति भने जम्मा ६ दशमलब ४ रेक्टर स्केल मापन गरिएको छ । राति ११ः४७ पहिलोपटक उक्त भुकम्प गएको थियो भने त्यसपछि क्रमश १२ः ०८ बजे ४दशमलब ५, १२ः २९ बजे ४दशमलब २ र १२ः ३५ बजे ४दशमलब ३  रेक्टरस्केलको भुकम्प गएको जनाइएको छ । यी धक्कामध्ये मानवीय तथा भौतिक क्षति भने पहिलो धक्काले नै पु¥याएको हो।

भुकम्पविद्हरुका अनुसार यो भुकम्प मझौला खालको मानिन्छ । यसले सामान्यतयाः घर चर्कनेसम्मका क्षति गर्ने तर मानवीय क्षति भने निकै कम मात्रै हुनसक्ने अनुमान गरिन्छ । तर यसपटक भने अनुमान विपरित क्षति देखिएको छ ।

यसले हाम्रा घर तथा संरचनाहरु कति कमजोर छन् भन्ने तथ्य उदांगो पारेको छ, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारी भन्छन्,संरचना नै कमजोर भए । साना भन्दा साना धक्का सहन नसक्ने हुन्छन् । अहिले भएको यहि हो ।यस्ता संरचनाभित्र मध्यरातमा सुतेका बेला भुकम्प आउँदा बढी क्षति भएको उनले बताए ।

भुगर्भविद् इन्द्र लम्सालले सामाजिक तथा आर्थिक स्तर कमजोर हुँदा बनेका कमसल घरको परिणाम अहिलेको क्षति रहेको बताउँछन् ।ती क्षेत्र निकै विपन्न र गरिबीमा रहेका क्षेत्र हुन । त्यहाँ राम्रो र बलियो घर बनाउन समस्या हुन्छ । घर बनाउँदा ओत मात्रै भए पुग्ने घर बनाइन्छ । यसरी बनाइएका घर सानो धक्का सहन नसकेर भत्केका हुन,ु लम्साल भन्छन् ।

गोरखादेखि पश्चिमी क्षेत्रमा लामो समयदेखि आमविनासकारी भुकम्प गएको छैन । बरिष्ठ भुकम्पविद् अधिकारीका अनुसार मुस्ताङ आसपास केन्द्रबिन्दु भएर विस १५०५ मा करिब साढे ८ रेक्टर स्केलको भुकम्प गएको थियो । जुन हिमालय क्षेत्रमा गएको हालसम्मको सबैभन्दा ठुलो भुकम्प मानिन्छ । त्यसयता साढे ५ सय वर्षदेखि पश्चिमी क्षेत्रमा ठुलो भुकम्प गएको छैन । त्यसले सञ्चित गरेको जोखिम यस्ता मझौला भुकम्पमा पनि देखिएको हो,अधिकारीले भने ।

लामो समयसम्म ठूलो भुकम्प नजादा धेरै पुराना संरचना बाँकी रहने र आमबासिन्दामा पनि नयाँ संरचना बनाउँदा सावधानीको साँटो लापरबाही गर्ने प्रबृत्तिले जोखिम बढिरहेको अधिकारी बताउँछन् ।पूर्वी क्षेत्रमा १९९० मा भुकम्प गयो । त्यसले धेरै क्षति पु¥यायो । त्यसपछि नयाँ घर बन्दा केही सावधानी अपनाइयो । २०७२ मा फेरी जाँदा लगभग पुराना घर सकिए, तर पहिलेभन्दा कम क्षति भयो । 

अहिले नयाँ बन्ने घर निकै सावधानीपूर्वक बनाइदैछन् । यसले अब त्यत्तिकै ठुलो भुकम्प आउँदा अझैँ कम क्षति हुन्छ, उनले भने, पश्चिमी क्षेत्रमा त्यो भएन । पुराना घरसंरचना त जोखिम थपिरहेका छन् नै जनताले नि अझै असुरक्षित घर बनाइरहेका छन् । यो लामो समय भुकम्प नजाँदा लापरबाह बनेको प्रमाण हुन । आफूहरु बझाङ जाँदा बिचमा माटोसम्म नराखेर ढुंगामाथि ढुंगामात्रै राखेर बाहिरबाट प्लास्टर गरेर चारपाँच तलासम्मका घर बनाइरहेको देखेको उनी बताउँछन् । यो किन भन्दा सचेतनाको अभाव हो । यसले दिनानुदिन भुकम्प जाँदाको जोखिम बढाइरहेका छन्, उनले भने ।  

प्रकाशित: १८ कार्तिक २०८० ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App