वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।
गोरखाका ३० वर्षीय एक पुरुषका अनुसार उनी साथीमार्फत बियर कम्पनीमा मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रलोभनमा परी एक वर्षअघि लाओस पुगेका थिए । उनलाई ६० हजार रूपैयाँ लागतमा लाओस पुर्याइने भनिएको थियो । ‘६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए । चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै लाओस लैजाने विश्वास दिलाएका थिए । लाओस पुगेपछि मात्र थाहा भयो, हामी त चक्नाचुर भएका रहेछौं भन्ने कुरा,’ उनले भने ।
‘लाओस जान काठमाडौंमा मागअनुसार पैसा र राहदानी एजेन्टको हातमा बुझाएका थियौं,’ उनले भने, ‘पैसा र राहदानी बुझाएको केही दिनमा नै हामी पाँचैजनालाई अंग्रेजी भाषामा पालैपालो चिनियाँ एक नागरिकले ठमेलमा अन्तर्वार्ता लिए । एजेन्टले सामाजिक सञ्जालमार्फत हामीहरू पास भएको खबर दिएपछि धेरै खुसी भयौं । तर त्यो खुसी धेरै दिनलाई रहेनछ ।’ उनका अनुसार एजेन्टले लाओस पु¥याउन प्रतिव्यक्ति ६० हजार रूपैयाँ लिएका थिए र बाटो खर्च छुट्टै बोक्न भनेका थिए । नेपाली एजेन्ट र चिनियाँ गिरोहले दिएको निर्देशन उद्धृत गर्दै उनले भने, ‘नेपालबाट श्रम स्वीकृति नहुने भयो, त्यसका लागि भारतको कोलकाता गई सबै प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि सहजै विदेश गएर पैसा कमाउन सकिन्छ । आत्तिनु पर्दैन ।’ सोही अनुसार उनीलगायत पाँचजना कोलकाता हुँदै लाओस पुगेका थिए । ‘भारतमा रहेको अर्को एजेन्टले रातको समयमा कोलकाताबाट थाइल्यान्डको बैंकक हुँदै हामीलाई लाओस पठायो,’ उनले भने ।
उनले भने ‘लाओसको बोकेको प्रान्त पुगेपछि त्यहाँको कम्पनीमा काम लगाउने भनी नाम थाहा नभएको करिब ५० वर्षको एक चिनियाँ पुरुष हामीलाई लिन आयो । उसैले हामीलाई एक होटलमा पु¥यायो । भोलिपल्ट काममा लागाउने कुरा पनि भएको थियो ।’ उनले थपे, ‘फेरि हामी पाँचैजनालाई अर्को चिनियाँले गाडीमा हालेर एक कम्पनीमा लिएर गयो । त्यहाँ हामी प्रत्येकलाई दुई÷दुईवटा आई फोन, एक/एक वटा डेक्सटप कम्युटर दिई ती डिभाइसमा फेसबुक आइडी, ह्वाट्स एप आइडी, इन्स्टाग्राम, टेलिग्राम आदि एप्स डाउनलोड गर्न र फेक आइडी बनाउन लगाइ अपरिचित पुरुष र महिलालाई साथी बनाउन लगाइयो ।’
पाँचैजनालाई विभिन्न मानिसलाई साथी बनाएर ७ दिनभित्र बिट क्वाइन, क्रिप्टो करेन्सीमा पैसा लगानी गर्न फकाउन विभिन्न प्रलोभन दिन भनिएको थियो । ‘त्यसका लागि हामीलाई उनीहरूले तालिम दिन्थे,’ लाओस पुर्याइएका गोरखाका अर्का पीडितले भने । यसरी धेरै अमेरिकी नागरिकलाई ठग्न सफल भएको म्यासेज चिनियाँ गिरोहका सदस्यले देखाउने गरेको पीडितहरूको अनुभव छ । अनलाइन ठगी धन्दामा संलग्न चिनियाँले दिएको स्क्रिप्ट रट्नुपर्ने उनीहरूको नियति थियो । गिरोहका सदस्यले एक अमेरिकी वा युरोपेली नागरिकलाई अनलाइनबाट फसाएर एक लाख डलर ल्याउन सके कमिसनका रूपमा १५ हजार डलर दिने भनेका थिए । ‘हामीलाई नेपालबाट ल्याउँदा बियर र घोडाको दाना बनाउने कम्पनीमा काम लगाउने भनिएको थियो । तर यहाँ आएपछि थाहा भयो त्यो सबै झुट रहेछ । हामीले फेक आइडी बनाएर अमेरिकी तथा युरोपेली देशका मानिसबाट लाखौं लाख डलर कमाउनुपर्ने रहेछ । त्यो पैसा गिरोहका सदस्यले लिने रहेछन्,’ ती पीडितले भने ।
लाओस पुर्याइएर अनलाइन ठगीमा लगाइएका प्रति उनीहरू असन्तुष्ट थिए । सजिलै स्वदेश फर्कन पनि सहज थिएन । ठमेलमा अन्तर्वार्ता लिएका चिनियाँ नागरिकले लाओस पुगेर अनलाइन सेल्स मार्केटिङको काम गर्नुपर्ने बताएको तर त्यहाँ पुर्याएपछि गैरकानुनी रूपमा स्क्यामर (फेक एकाउन्ट बनाएर फेक लिंक पठाइ पैसा ठगी गर्ने) काममा लगाइएको नुवाकोटका अर्का पीडितले बताए । ‘हामीले नेपालमा भनेअनुसारको काम देऊ, ठगीको यस्तो काम गर्दैनौंभन्दा करिब ४ लाख रूपैयाँ तिरेपछि मात्र नेपाल फर्किन पाइने भनेर धम्की दिइन्थ्यो’, उनले भने, ‘जसोजसो भन्छन् उसै गर्नुप¥यो । उनीहरूले भनेबमोजिको काम नगरे सजाय पाइन्थ्यो ।’ पीडितहरूका अनुसार अनलाई ठगी धन्दा चलाउँदै आएका चिनियाँ गिरोहका सदस्यले ठूलो क्षेत्रफल भएको शिविरभित्र राखेर नेपालीलगायतलाई अवैध काममा लगाउने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका युवा कम्बोडिया, म्यानमार, थाइल्याण्ड, भियतनाम जस्ता देश पुगेका छन् । घरको आर्थिक भार थाम्न गोरखाका एक युवक कामका लागि कम्बोडिया पुगेका थिए । त्यहाँ अनलाइनबाट ठगीको काम गर्न नसकेपछि जसोतसो घर फर्किएका उनी अहिले न्यायका लागि हात फैलाइरहेका छन् । च्यातिएको सर्ट लगाएर न्यायको माग्न मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका ती युवकले आफ्नी छोरीले विदेश नजान भनेको कुरा नमान्दा दुःख पाएको बताए । उनले छोरीले भनेको कुरा सम्झिँदै भने, ‘नराम्रो हुँदैछ भन्ने संकेत पहिले पाइन्छ भन्थे, हो रहेछ । विदेश जान घरबाट निस्कँदै गर्दा छोरीले नजान भनेकी थिइन् । त्यो भगवानको बोली रहेछ । त्यो बोलीलाई पहिचान नगर्दा धेरै दुःख पाइयो ।’
कम्बोडिया पुगेपछि उनीलगायतलाई कम्तीमा एक वर्षसम्म जसरी पनि काम गर्नैपर्ने सम्झौतामा हस्ताक्षर गराइएको थियो । काम नगरे पैसा बुझाउनु पथ्र्यो । अनलाइन ठगी गिरोहका सदस्यले बन्धक जस्तै बनाएर अवैध काममा लगाउने र भनेजति पैसा पनि नदिएर शोषण गरेको उनले बताए । ‘गिरोहका सदस्यले नेपाली युवालाई केटीको नाममा फेक आइडी बनाएर अमेरिकी र युरोपेली नागरिकसँग च्याट गर्न लगाउने र क्रिप्टो करेन्सीमा पैसा हाल्न लगाउन भन्थे । कसैले भिडियो च्याटमा कुरा गर्न चाहेमा देखाउन युवती पनि राखिएका हुन्थे,’ अका एक पीडितले भने ।
चिनियाँ गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा लगी शिविरमा राखेर अनलाइन स्क्यामिङ लगाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘ती देशमा लगेर अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार ठगी गर्न नसके शारीरिक र मानसिक यातना दिइन्छ,’ उनले भने, ‘स्वदेश फर्कन खोज्दा पनि चिनियाँले लाखौं रूपैयाँ माग्ने गरेका छन् ।’
जसोतसो स्वदेश फर्किएका युवा न्यायका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुग्छन् । उनीहरूको बयानका आधारमा ब्युरोले एक चिनियाँसहित तीनजनालाई पक्राउ गरेको एसएसपी श्रेष्ठले बताए । ‘अहिले अनलाइन स्क्यामिङको समस्या भयावह छ । नेपालीलाई विभिन्न मुलुकमा पु¥याएर अनलाइन स्क्यामिङमा लगाउने गरेको उजुरी परेका छन् । एसएसपी श्रेष्ठले बताए, ‘अनलाइन ठगी धन्दा चलाउने चिनियाँ गिरोहले यसमा गरिब देशका युवालाई प्रयोग गर्दै आएको छ ।’ ब्युरोमा हालसम्म ‘अनलाइन स्क्यामिङ’ सम्बन्धी सातवटा उजुरी परेका छन् ।
‘यसरी पुगेँ कम्बोडिया’
गत वर्ष साउनमा म्यानमार हुँदै कम्बोडिया पुगेको हुँ । त्यहाँ कम्प्युटर टाइपसम्बन्धी काम गर्ने भनिएको थियो । कामसँगै तलब राम्रो छ, कम्पनीभित्र आनन्दले कम्प्युटर चलाउने मात्र हो, अंग्रेजी भाषाको ज्ञान केही मात्र भए पुग्छ भनिएको थियो । एजेन्टले भनेअनुसार कम्बोडियाले नेपालीलाई ‘अन अराइभल भिसा’ सहजै नदिने भएकाले केही दिन दुबईमा राखेर त्यहाँबाट कम्बोडिया पुर्याउने हो । कम्बोडिया पुगियो तर कसरी थाहा छैन । सबै सपना झैं लाग्छ । म्यानमारको राजधानीबाट करिब ११ घन्टा गाडी चढेर मायानादी भन्ने ठाउँमा पुग्यौैं । त्यहाँ गठी धन्दामा संलग्न चिनियाँ गिरोहको छुट्टै सहरजस्तो रहेछ । ठूलो हाताभित्र रहेको घरमा राखेर काममा लगाइयो । उनीहरूले के–के बोल्ने भनेर स्क्रिप्ट तयार पारेका हुन्छन् । त्यो स्क्रिप्ट कन्ठ पार्नुपथ्र्याे ।
एक दुई महिना खान बस्न राम्रै थियो । काम गरेबापत पैसा पनि दिएका थिए । हामीले अमेरिकी नागरिकसँग पैसा ठग्न सके कमिसन पनि पाउँथ्यौँ । तर चिनियाँ गिरोहले भनेको समयभित्र पैसा ठग्न नसके विभिन्न सजाय भोग्नु पथ्र्यो । उनीहरूले यातना दिन्थे । नेपाल फर्काइदेऊ भन्दा पैसा माग्थे । करेन्टसमेत लगाए । सरकारले उद्धार गर्छ कि भनेर केही महिना यातना सहेरै बस्यौं । तर त्यहाँ बस्न नसक्ने भएपछि आफ्नै खर्चमा स्वदेश फर्किन बाध्य भयौं । सरकारबाट उद्धार नभएपछि चिनियाँ गिरोहलाई बुझाउन र स्वदेश फर्कनसमेत गरी करिब १५ लाख रूपैयाँ खर्च भयो । भिसा अवधि पनि सकिएको थियो । अध्यागमनलाई पनि जरिवाना तिर्नुप¥यो । छोरीले नजानु बाबा भन्दाभन्दै विदेश गइयो । धेरै यातना भोगियो ।
(गोरखाका एक युवकसँगको गरिएको कुराकानी)
प्रकाशित: १७ कार्तिक २०८० ००:५९ शुक्रबार