२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषध कारोबारी समात्न गोलीको सहारा

नेपाल प्रहरीले गोलीको सहारामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार काठमाडौंको गोठाटारबाट लागुऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । करिमले भाग्न गोली चलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि ‘फायरिङ’ गर्नुपरेको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारी गोठाटारमा रहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली दिउँसो त्यहाँ पुगेको थियो । अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो । 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार करिमको दायाँ तिघ्रामा गोली लागेको छ । प्रहरीले करिमसँगै रहेका झापाका हर्क लिम्बुलाई पनि नियन्त्रणमा लिएको छ । लिम्बु पनि लागुऔषध कारोबारी रहेको एसपी रेग्मीले बताए । उनीहरूबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, दुईसय ग्राम खैरो हेरोइन र लागुऔषध जोख्ने तराजु बरामद भएको उनले बताए ।

प्रहरीले लागुऔषध कारोबारी समात्न गोली चलाएको यो पहिलो पटक भने होइन । यसअघि पनि प्रहरीलाई लागुऔषध कारोबारी समात्न पटक–पटक गोलीको सहारा लिनुपरेको थियो । पेसेवर कारोबारीको आक्रमणबाट जोगिन प्रहरीलाई गोली चलाउनुपरेको छ । यसवर्ष राजधानीबाट लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको यो दोस्रोपटक हो । 

यसअघि जेठ २८ गते लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा लागुऔषध कारोबारी समूह रहेको सूचना पाएपछि प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोली त्यहाँ पुगेको थियो । त्यहाँ रहेका भारतीय नागरिक विकास भगतले आक्रमण प्रयास गरेपछि प्रहरी उनीमाथि गोली चलाउन बाध्य भएको थियो ।  

राजधानीबाहिर पनि लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले पटक–पटक गोली चलाउनु परेको छ । २०७७ सालमा रुकुम पश्चिम, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा प्रहरीले गोलीको सहरामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो । महोत्तरी र कञ्चनपुरमा त प्रहरीको गोलीबाट लागुऔषध कारोबारीको मृत्युसमेत भएको छ । 

२०७७ फागुन २० गते नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहा नजिक भारतीय लागुऔषध कारोबारीको समूह र प्रहरीबीच भिडन्त भएको थियो । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो । अर्का एकजना घाइते भएका थिए । त्यो समूहबाट प्रहरीले लागुऔषधसहित नक्कली नोट बनाउने कागजातसमेत बरामद गरेको थियो ।  

प्रहरी र लागुऔषध कारोबारीबीच २०७७ जेठ १२ गते महोत्तरीमा झडप भएको थियो । प्रहरीको गोलीबाट लागुऔषध कारोबारी १६ वर्षीय राजन यादवको मृत्यु भएको थियो । घटनामा चारजना प्रहरी पनि घाइते भएका थिए । प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । २०७६ सालमा मकवानपुर, पोखरालगायतका ठाउँमा पनि प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

लागुऔषध कारोबारीविरुद्धको कारबाही जटिल र संवेदनशील हुने भएकाले धेरैजसो घटनामा गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनसक्ने प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशी बताउँछन् । ‘यो निकै संवेदनशील र जोखिमपूर्ण कारबाही हुन्छ । पक्राउ परेपछि लामो समय जेल बस्नुपर्ने र ठुलै घाटा लाग्ने भएकाले कारोबारी आक्रामक रूपमा प्रस्तुत हुन्छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रण ऐनअनुसार कारोबारी पुष्ठि भएकमा १५ देखि २५ वर्ष जेल बस्नुपर्छ । लागुऔषधको मूल्य पनि धेरै पर्ने भएकाले पक्राउ पर्दा कारोबारीले ठुलो क्षति भोग्नुपर्छ । यसकारण पनि उनीहरू प्रहरीमाथि आक्रमण गर्न तम्सिन्छन् ।’ यस्तो अवस्थामा प्रहरीलाई आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्था सिर्जना हुने एसपी जोशीले बताए ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्लले लागुऔषध कारोबार विशेष प्रकारको अपराध भएकाले कारोबारी पनि खतरनाक हुने भएकाले प्रहरीललाई गोली चलाउनुपर्ने अवस्था आउने बताउँछन् । ‘यसमा राज्यले नै विशेष ऐन बनाएको छ । 

चोरी, डकैतीजस्ता कसुरमा जस्तो यसमा सामान्य सजाय हुँदैन । एकपटक पक्राउ परेपछि त जीवन नै जेलमा बित्न सक्छ,’ मल्लले भने, ‘यस्तो बुझेका अपराधीहरू आफू जोगिन जुनसुकै हदसम्म पनि उत्रिन सक्छन् । प्रहरीको ज्यान लिनसम्म पछि नपर्न सक्छन् ।’  

लागुऔषध कारोबार संगठित रूपमा हुने अपराध भएकाले यसका ठुला कारोबारीले अवैध हातहतियार राख्ने गरेको उनी बताउँछन् । कतिपय अवस्थामा लागुऔषध कारोबारीले प्रहरीबाटै हतियार लुटेर लगेको उदाहरण पनि उनले सुनाए ।

प्रकाशित: १६ कार्तिक २०८० ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App