मुगु– मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।
‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ । रुघाखोकीले गाउँ निकै प्रभावित बनेको छ,’ छायानाथ रारा नगरपालिका १ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिए ।
एक हप्तायता गाउँमा निमोनियाँ र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए ।
यसै साता छायानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र एक जना ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्ता यता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धिरेन्द्र भामले बताए ।
यता खत्याड गाउँपालिकाका सबै गाउँमा ज्वरोको प्रकोप फैलिएको छ । सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएको स्थानीय वीर्खबहादुर थापाले जानकारी दिए ।
शुक्रबारसम्म ६ जनाको मृत्यु भएको उनले जानकारी दिए । यो साताभित्र रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय बिष्णु जैसी र ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको हो ।
कात्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाडा गाउँका ५९ वर्षीय सिहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीय मागी रोकाया, पैखु गाउँका ५६ वर्षीय धनसिंह थापा र सोही गाउँका ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ ।
कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ ।
प्रकाशित: १६ मंसिर २०७४ १०:४९ शनिबार