१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानाध्यापक हत्या प्रकरणः पूर्व प्रेम सम्बन्ध कारण हुन सक्ने अनुमान, ६ जना पक्राउ

बाराको कलैया–६ स्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजना महिलासहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सर्राफको हत्यामा विवाहोत्तर प्रेम सम्बन्ध कारक रहेको खुल्न आएको छ। यद्यपि प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अझै जारी राखेको मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) जनक भट्टराईले जानकारी दिए।

सरार्फ हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय र नेपाली गरी ६ जनालाई नियन्त्रणमा लिएको हो।  

नियन्त्रणमा लिएकामध्ये एकजना महिला सोही स्कुलका पूर्व कर्मचारी हुन्। नियन्त्रणमा रहेकाहरुसँग वयान लिने तथा अनुसन्धानका अन्य तथ्य केलाउने काम भैरहेकोले हत्याको कारण ठ्याक्कै यही हो अहिले नै भन्न नसकिने डिआइजी भट्टराईले नागरिकन्यूजसँग बताए। उनले भने, ‘हत्यामा पारिका मान्छे पनि प्रयोग भएका हुन कि भन्ने पक्ष केलाउँदै छौं। हरेक कोणबाट अनुसन्धान जारी छ छिट्टै तथ्यसहित घटना विवरण सार्वजनिक गर्छौं।’

प्रहरीका अनुसन्धानको क्रममा सर्राफमाथि साउन १३ र भदौ २८ गते पनि हत्याको प्रयास भएको खुलेको छ। घटना संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ५ जना पुरुष र एक महिलाको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन्। घटनाको कारण यकिन भैसकेपछि आरोपितसहित विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका पेस्तोलधारी समूहले सर्राफमाथि गोली प्रहार गरेर भागेका थिए। छाती र पाखुरामा गोली लागेर गम्भीर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८० ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App