१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झाडी फाँडी सामूहिक सुन्तला खेती

म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँ खेती गर्ने बारी थियो।

विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो। पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो।

बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजा लगायतले २०७८ सालमा कल्लेरी पाखालाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए। बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पयो।

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले ५० हजारदेखि एक लाख रुपैयाँ सङ्कलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन्, झाडी फाँडेर सुन्तलाको हराभरा बगैंचा बनाएका छन्।

“पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रुपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौं”, बादुकका बासिन्दा समेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भने, “सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाँडेर सुन्तला बगैंचा बनाउन सफल भएका छौं।”

एक सय ३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन्। सुन्तलासँगै चार सय बोट एभोकाडो लगाएकामा पहिरोले क्षति गरेर अहिले एक सय बोट मात्र छन्। पहिरोले तीन सय बोट एभोकाडोमा क्षति गरेको छ। सुन्तला बगैंचाभित्र तोरी खेती र मौरीपालन गरेका छन्।

“पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौं”, स्थानीय बेगबहादुर पुर्जाले भने, “झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौं। अहिलेसम्म सोचेभन्दा राम्रो भएको छ।”

उनका अनुसार ५५ जनाले एकएक लाख र पाँच जनाले पचासपचास हजार रुपैयाँ सेयर लगानी गरेका छन्। फार्म स्थापना गर्न हालसम्म झन्डै ४० लाख खर्च भएको छ। फार्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरूको भनाइ छ। जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन्।

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि जर्सी जातका तीन गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एकजनाको तलब व्यवस्थापन गरिएको छ।

सेयर लगानी गरेकाहरूबाट सुन्तलाले उत्पादन नदिंदासम्म वार्षिक दुई हजार पाँच सय रुपैयाँका दरले नगद अथवा पाँच दिन बराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन्। बगैंचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट सङ्कलन गरेको रकम परिचालन गरिएको छ। २० लाख रुपैयाँको कोषबाट अर्का एक जना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामूहिक सुन्तला खेतीलाई सहयोग गरेको छ। कल्लेरीमा सिंचाइ योजना निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

“बादुकको सामूहिक सुन्तला खेती म्याग्दी जिल्लामै नमूना देखिएको छ”, उनले भने, “बाँझिएको जमिन सदुपयोग गरी रोजगारी सिर्जना र गाउँलाई समृद्ध बनाउन बादुकवासीको अभियान अन्यका लागि पनि अनुकरणीय छ।”

प्रकाशित: १२ कार्तिक २०८० ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App