२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यसरी बेचियो ‘धाम’ को जग्गा

जंगलकुटीको जग्गा खरिद बिक्री भई व्यक्तिका नाममा पास भएको लालपुर्जा। तस्बिर: नागरिक

पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिकस्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ। केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका–४ मा रहेको जंगलकुटी बाबाधामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्ति विशेषको हातमा पुगेको छ। यसको खरिद बिक्री जग्गा कारोबारीमार्फत सुरुवात भएको थियो। जंगलकुटी धाम थारू समुदायको पवित्र धार्मिकस्थल हो। अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रूपमा समेत चिनिँदै आएको छ।

यो जग्गा धाममा रहेका पुजारीकै नाममा पास हुँदै आएको थियो। वर्षौंअघि यो धाममा बाघनाथ बाबा भन्ने पुजारी चयन भएका थिए। यी पुजारीकै पहलमा यो धामका लागि भन्दै ७५ बिघा जग्गा जोरजाम भएको थियो।

स्थानीय एक महिलाले मात्रै पवित्र धार्मिकस्थललाई भन्दै २५ बिघा जग्गा दान गरेकी थिइन्। ‘ती हजुरआमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नुभएको थियो,’ एक जानकार भन्छन्, ‘योसहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरी करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो।’

त्यसबेला यो धाम दर्ता थिएन। त्यसैले धामका नाममा दर्ता भएको उक्त जग्गा धामको नाममा दर्ता गर्ने कानुनी बाटो थिएन। अनि उनै पुजारीकै नाममा पास गर्ने स्थानीयबीच सहमति भयो। ‘त्यो बेला मन्दिर दर्ता थिएन, अनि मन्दिरको नाममा जग्गा दर्ता हुन सकेन,’ ती जानकार भन्छन्, ‘मन्दिरको नाममा पछि दर्ता गर्ने सहमति बमोजिम मन्दिरको पुजारी जो छ उसैको नाममा पास गर्ने सहमति भएको थियो।’

बाघनाथ बाबाको नाममा पास हुन सुरु भएको यो जग्गा जो नयाँ पुजारी आउँछ उसकै नाममा पास हुने संस्कार बन्यो।

बाघनाध बाबाको निधन भएपछि त्यहाँ एक महिला पुजारी आइन्। अनि ती महिला पुजारीकै नाममा जग्गा नामसारी भयो। आफ्नो नाममा पास भएको जग्गामाथि ती महिला पुजारीको खराब नजर पर्न थाल्यो। उनले धामका लागि भन्दै जोरजाम भएको जग्गा आफ्ना ज्वाइँको नाममा पास गरिदिइन्। तर गाउँलेहरूले यसको विरोध गरे। पछि अर्का पुजारी मोहनदाश धाम प्रवेश गरे। ती पुजारीको नाममा जग्गा फर्कियो।

ती महिला पुजारीको पनि निधन भएपछि भित्रिएका मोहनदाश नामका अर्का पुजारीको नाममा जग्गा पास भएपछि भने यो जग्गा व्यक्ति विशेषको किनबेचमा पर्‍यो। मोहनदाशले जंगलकुटिका लागि भन्दै जोडिएको जग्गा आफ्ना छोरा देवीसिंहका नाममा पास गरिदिए। अहिलेका यिनै पुजारी देवीसिंहले आफ्ना चार छोराको नाममा जग्गा भागबन्डा गरिदिएर पास गरिदिएपछि उनका छोराहरूले धामका लागि जोरजाम भएको जग्गा बिक्री गर्न सुरु गरे।

 पुजारीले छोराहरूको नाममा जग्गा पास गरिदिँदा स्थानीय अगुवाहरू कसैले पनि यसको विरोध गरेका थिएनन्। ‘पुजारीले आफ्ना छोराहरूका नाममा जग्गा पास गरिदिँदासम्म पनि कोही अगुवाले पनि यो कार्यको विरोध गरेनन्,’ एक स्थानीयले भने, ‘त्यही बेला विरोध गरेको भए जग्गा जोगिन्थ्यो नि !’

यो जग्गा व्यक्तिको नाममा रहेको थाहा पाएपछि सुरुमा यो जग्गामाथि कारोबारीले गिद्धे नजर लगाए। ‘यो जग्गा व्यक्तिको हो, बिक्री गर्न पाइन्छ भनेर केही कारोबारीले खरिदका लागि निकै दौडधुप थाले,’ पूर्ववडाध्यक्ष गुलाम मोहम्म जागा मुसलमानले भने, ‘मैले यसको बिक्री रोक्नका लागि धेरै पहल गरेको थिए।’

तत्कालीन वडाध्यक्ष गुलामलाई जग्गा बिक्रीका लागि वडाको सिफारिस दिन पटकपटक दबाब आयो। ‘तर मैले मानेको थिएँन,’ उनले भने, ‘अन्ततः व्यक्तिको नाममा रहेको जग्गा संविधान र कानुनी रूपमा रोक्न मिल्ने अवस्था रहेन।’

यो जग्गा धामको नाममा नभई पुजारीको नाममा पास भएका कारण व्यक्तिको नाममा भएको जग्गा बिक्री रोक्न कुनै प्रयासले सार्थकता पाउने सम्भावनै थिएन। ‘तै पनि मैले प्रमुख जिल्ला अधिकारीलाई पनि यो जग्गाको बिक्री रोक्नका लागि भनेको थिएँ,’ तत्कालीन वडाध्यक्ष गुलामले भने, ‘तर व्यक्तिको नाममा देखिएको उक्त जग्गा बिक्रीका लागि रोक्ने कानुनी अधिकार हुँदैन भनेर त्यो बेलाका प्रमुख जिल्ला अधिकारीज्यूले भन्नुभएको थियो।’

वडाध्यक्ष गुलाम मालपोत कार्यालयमा पुगेर उक्त जग्गाको प्रकृतिका बारेमा समेत बुझेका थिए।

कागजी प्रमाणमा स्पष्ट रूपमा जग्गा तीन पुस्तादेखि व्यक्तिको नाममा नामसारी हुँदै आएको छ ।’ वडाध्यक्षले जग्गा बिक्रीको पास रोकेको भन्दै गुलामविरुद्ध मुद्दा दर्ताको तयारी समेत थालियो। अनि बिक्री रोक्ने कानुनी आधार पनि नरहेको र मुद्दा मामिलाको झन्झटमा नपर्ने निर्णय लिएर गुलामले जग्गा बिक्रीका लागि पास दिन बाध्य भएको बताए। ‘जग्गा बिक्री रोक्ने कानुनी आधार पनि रहेन,’ उनले भने, ‘ममाथि नै मुद्दा हाल्ने तयारी भयो, अनि मैले जग्गा बिक्रीका लागि पास दिनै कर लाग्यो।’

उनले त्यो बेला १५ कठ्ठा जग्गा बिक्रीका लागि वडाबाट सिफारीस दिएको पनि बताए। ‘तर मैले किसानले भोगचलन गर्दै आएको, मस्जिदले उपभोग गर्दै आएको र विद्यालयले भोगचलन गर्दै आएको जग्गा भने उनिहरूले नै भोगचलन गर्न पाउने गरि सिफारिस दिने सर्त राखेको थिएँ,’ गुलाम भन्छन्, ‘यो बाहेकको झण्डै १५ बिघा जग्गा बिक्रीका लागि मैले सिफारीस दिएको हुँ।’ यो जग्गा सुरुमा जग्गा कारोबरीहरूको हातमा परेको थियो।

जग्गा कारोबारीहरूको नाममा पास भएको यो जग्गा विस्तारै अन्यले समेत खरिद गरेका छन्। ‘सुरुमा यो जग्गा जग्गा खरिदका लागि सुरुमा आँखा लगाएका जग्गा व्यवसायीहरूको नाममा पास भयो,’ गुलाम भन्छन् ‘पछि उनिहरूबाट विस्तारै अरू व्यक्तिले पनि यो जग्गा खरिद गर्न सुरु गरे।’

त्यसो त, माओवादी द्वन्द्वका क्रममा यो जग्गामा गिद्धे नजर लाग्न सुरु भएको थियो। माओवादीले त्यो बेला यो जग्गा किसानलाई ‘गरिखाऊ’ भन्दै बाँडिदिएका थिए। माओवादीको आडमा जग्गा कब्जा गरेका किसानहरूले जग्गाको उब्जनी एकलौटी खाए। तर जग्गाको तिरो भने धामका तर्फबाट पुजारीले तिर्दै आए। ‘माओवादीले किसानलाई जग्गा बाँडिदिए र गरिखाऊ भनिदिए,’ एक स्थानीयले भने, ‘त्यो जग्गाको आम्दानी किसानहरूले एकलौटी खाए तर झण्डै १५ बर्ष सम्म उक्त जग्गाको तिरो भने धामका पुजारीले जेनतेन व्यवस्थान गरेर तिर्दै आए ।’

जानकारहरूले सुरुमा यो धामका लागि जोरजाम भएको जग्गा झण्डै ७५ बिघाको हाराहारीमा रहे पनि पछि कब्जामा पर्दै गएको थियो। यो कब्जा हुँदै गएको धामको जग्गा पछि झण्डै २५ बिघामा झरेको थियो। यो मध्य १५ बिघा जग्गा बिक्री भैसकेको छ भने बाँकी जग्गा पनि धामका पुजारीकै छोराको नाममा छ।

संरक्षण समिति मौन!

जंगलकुटी धामका लागि भन्दै जोरजाम भएको १५ बिघा जग्गा बिक्री हुँदा यसै धामको संरक्षणका लागि बनेको समिति भने मौन रहेको थियो। धाम संरक्षण तथा प्रवद्र्धनका लागि भन्दै २०६७ देखि संरक्षण समिति बनेको छ। तर, धामकै संरक्षणको उद्देश्य बोेकेको यो समिति भने धामकै लागि जोरजाम भएको जग्गा बिक्री हुँदा कुनै ‘एक्सन’ नउत्रिनुले समितिमाथि नै आशंका गर्ने ठाउँ प्रशस्तै देखिएका छन्।

‘यो धामको संरक्षण गर्ने भनेर समिति बनेको छ, तर संरक्षणका लागि बनेको यो समितिले जग्गा बिक्री हुँदासम्म के हेरेर बस्यो?,’ एक स्थानीयले भने, ‘समितिको यो निरिहता वा मौनताले उसकै भूमिका माथि प्रश्न उठ्ने ठूलो ठाउँ दिएको छ।’  

प्रकाशित: १२ कार्तिक २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App