शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरा र सिसि टिभीको निगरानीमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको छ।
विजयादशमीको नवरात्रीको पहिलो र सप्तमीका दिन नै कृष्णनगरमा दुर्गाभगवतीको मुर्ति प्रर्दशनका लागि निकालिएको थियो। २ वटा अत्याधुनिक सिसि टिभि, ५ वटा क्यामेरा र ६ सयभन्दा बढी सुरक्षाकर्मीको घेराकाबीच मुर्ति बिर्सजन गरिएको हो।
कृष्णनगर बजार क्षेत्रमा यसवर्ष दुई दर्जन मुर्ति निकालिएको थियो। मुर्ति बिसर्जनका क्रममा ठूलो सङ्ख्यामा स्थानीयबासी नाचगानसहति सहभागी भएका थिए।
निकालिएको मुर्तिलाई गाडीमा राखेर लगिएको थियो। मुर्तिलाई कृष्णनगर बजारको परिक्रमा समेत गराइएको थियो। कृष्णनगर क्षेत्रको २८ वटा मुर्ति मङ्गलवार बिसर्जन गरिएको हो। कृष्णनगरमा मुर्ति बिसर्जनका क्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएको हुँदा यसवर्ष त्यसो हुन नदिनका लागि विशेष सतर्कता अपनाइएको प्रहरीले बताएको छ।
सम्भावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्रदेखि मुर्ति सेलाउने स्थान कृष्णनगर नगरपालिका वडा नम्बर १ बढया पोखरीसम्मम ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
मङ्लवार बिहानै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीसहितको टोली समेत कृष्णगनर पुगेको थियो।
प्रकाशित: ८ कार्तिक २०८० ०७:१३ बुधबार