१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

पितृको स्मृतिमा मन्दिरमा संरचना निर्माण

गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको सम्झनामा लाखौं रकम बराबरको भौतिक संरचना निर्माणमा लगाएका छन्।

मुसिकोट नगरपालिका-८ अन्तर्गत वामी मैदानमा रहेको खड्क निशान देवीको मन्दिर (वामी कोत) मा स्थानीय दाताबाट निःशुल्क रूपमा प्रवेशद्वार निर्माणका साथै मन्दिरमा घण्टी र खुँडा उपलब्ध गराएका हुन्।

रोजगारीको सिलसिलामा विदेश गई हाल जापानमा व्यवसाय गर्दै आएका मुसिकोट नगरपालिका-८ निवासी कृष्ण सापकोटा र सुदीप सापकोटाले आफ्ना स्व. बुबा हरिलाल सापकोटा र आमा बुद्धिकला सापकोटाको स्मृितमा प्रदान गरिएको २२ लाख रुपैयाँबाट कोतमा जाने मन्दिरको प्रवेशद्वार निर्माण गरिएको थियो। सापकोटाले धर्म र संस्कृतिको सम्वर्द्धन र जगेर्नाका लागि पनि केही गर्नुपर्छ भनेर पितृको सम्झनामा उक्त प्रवेशद्वार निर्माण गरेको बताए।

त्यसैगरी हाल जापानमै होटल व्यवसाय सञ्चालन गर्दै आएका वडा नं. ८  दाल्का निवासी कृष्णप्रसाद सापकोटा, घनश्याम सापकोटा, गोपालप्रसाद सापकोटा, भीमलाल सापकोटा र राम सापकोटाले झन्डै चार लाख रुपैयाँ बराबरको लागतमा खुँडा निर्माण गरे। उनीहरूले आफ्ना स्व. बुबा मोतिलाल सापकोटा र स्व. आमा तनकला सापकोटाको स्मृतिमा परिवारका तर्फबाट संयुक्त रूपमा मन्दिर परिसरमा  खुँडा स्थापना गरिदिएका हुन्।

उनीहरूको सहयोगमा निर्माण गरिएको खुँडा मन्दिर परिसरमा राखिएको छ। उक्त खुँडा हेर्न दसैंको अवसरमा श्रद्धालुको निकै घुइँचो लागेको छ।

उक्त खुँडाको तौल एक क्विन्टलभन्दा बढी रहेको सहयोगदाता घनश्याम सापकोटाले बताए। यसैगरी स्व. मणिरत्न घिमिरेको स्मृतिमा उनकी धर्मपत्नी डिलादेवी घिमिरेको परिवारले एक सय तीन किलो बराबरको घण्टी उपलब्ध गराएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमसेन केसीले आगामी दिनमा यस्तै मनकारी दाताको सहयोगमा कोतलाई प्रतिष्ठानकै रूपमा अगाडि बढाइने बताए।

प्रकाशित: ७ कार्तिक २०८० ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App