४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकारलाई आचारसंहिता लाग्दैन !

हालै समाजिक सञ्जालमा नेपाल रेल्वे विभागका कर्मचारी र एक टेलिभिजन पत्रकारबीच भएको ‘नोकझोक’ भाइरल बनेको छ । कर्मचारीले पत्रकारलाई सोध्ने तरिका ठिक नभएको बताएका छन् । पत्रकारले चाहिँ चौथौ अंग हौं सूचना दिनुपर्यो नि भनेर जिद्दी गरेको सुनिन्छ ।  

हातमा बुम बोकेका पत्रकारले सूचनाको हक अधिकारको कुरा गर्दै कर्मचारीलाई र्याखर्याख्ती पारेपछि त ती कर्मचारी पत्रकारिताप्रति नै निराशा व्यक्त गर्छन् ।  

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’  

टेलिभिजन पत्रकारले रेल्वे कर्मचारीलाई गरेको व्यवहारलाई आम सर्वसाधरणसहित धेरै पत्रकारले पनि रुचाएका छैनन् । पत्रकार भन्दैमा जे पायो त्यही बोल्ने र जहाँ पायो त्यहि सोध्ने प्रवृत्ति ठिक नभएको प्रतिक्रिया दिएका छन् । ‘पत्रकारको पनि त मर्यादा होला नि !,’ सामाजिक सञ्जालमा रूपेश आचार्य लेख्छन्, ‘आक्रमण गरेको पाराले प्रश्न सोध्नु कतिको जायज हुन्छ ?’ पछिल्लोसमय कतिपय पत्रकारले प्रयोग गर्ने गरेको शैली र भाषाले पत्रकारिता क्षेत्र नै विवादित बन्दै गएको छ । रेल्वे विभागका कर्मचारीले पत्रकारको नैतिकता त होला नि भनेर सोधको प्रश्न जस्तै अन्यले पनि उठाएका छन् ।  

पत्रकार आचार संहितामा पत्रकार तथा सञ्चार माध्यमले सूचना वा जानकारीको संकलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्ने उल्लेख छ । त्यस्तै, पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, स्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैली प्रयोग गर्नुपर्ने उल्लेख छ ।  

पछिल्लो समयमा पत्रकारिताको अभ्यासमा शिष्टता हराउँदै गएको धेरैले महसुस गरेका छन् । एकाध व्यक्तिका कारण चौथो अंग नै विवादमा पर्दै आएको देखिन्छ ।  

रेल्वे विभागका कर्मचारीको मात्र हैन, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्ति पनि यति बेला सामाजिक सन्जालमा निकै चर्चामा छ । पत्रकारले आफ्नो परिचयसमेत नदिई अचानक फोनमा प्रश्न सोध्ने गरेकोतर्फ उनले व्यंग्य गरेका छन् । ‘बैठकबाट निस्केर आयो फोन आउँछ । आज बैठकमा के भयो ?, सभापतिले के भन्नुभयो ?, प्रधानमन्त्रीले के भन्नुभयो ?, तपाईले के भन्नु भयो ?,’ उनले पत्रकारको सोध्ने शैलीप्रति व्यंग्य गर्दै भन्छन्, ‘नमस्कार म फलानो बोलेको भन्नुसम्म पनि छैन, कल्चर पनि छैन । सिधै बैठक सकियो भनेको छ । प्रश्न सोधेको छ ।’  

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट ‘इथिक्स’को कुरा गर्दा अरूले भन्दा पत्रकारले बढी पालना गर्नुपर्ने बताउँछन् । तर, पछिल्लोसमय तालिम नपाएका नयाँ अनुहारका कतिपय पत्रकारका कारण समग्र पत्रकारिता नै विवादमा आउन थालेको उनी सुनाउँछन् ।  

‘जुनसुकै बेला, जो कसैलाई पनि प्रश्न सोधेर उत्तर दिन बाध्य पोर्न पत्रकारको विशेष अधिकार हुन्न,’ महासंघका वरिष्ठ उपाध्यक्ष विष्ट भन्छन्, ‘पत्रकारले आफ्नो सीमा र मर्यादाको ख्याल गर्नुपर्छ ।’  

उनको भनाइसँग सहमत छन् प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत । उनी पनि पछिल्लोसमयमा केही मर्यादा उल्लंघनका घटना बढेको जानकारी आएको र त्यसको निराकरणका लागि काउन्सिल लागि परेको बताए । ‘पत्रकार कुनै टापुबाट आएका छुट्टै प्राणी हैन, सामाजिक नियम अन्यले जस्तै पालना गर्नुपर्छ,’ उनले भने, ‘यस्ता नियम उलंघन गर्नेलाई सचेत गराउनेदेखि कारबाही गर्नसमेत काउन्सिल तयार रहेको छ ।’  

विगतका कतिपय घटनामा समेत पत्रकारलाई सचेत गराइसकेको उदाहरण दिँदै उनले पत्रकारका आचारसंहिताबारेमा सचेतनामूलक कार्यक्रमसमेत चलाइएको बताए । ‘विमान र बारको कार्यालयमै पुगेर प्रश्न सोध्ने पत्रकारलाई पनि त्यतिबेला सचेतना कक्षा दिलाइएको थियो,’ उनले भने, ‘आवश्यक परे अरूलाई पनि दिलाउने छांै ।’

प्रकाशित: ३ कार्तिक २०८० ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App