१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

होटलका कोठालाई अपराध गर्ने ठाउँ नबनाऔ

पृथ्वी होटल व्यवसायी समिति पोखराको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज राजेन्द्र श्रेष्ठ। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक <div><br></div>

बेलाबेला होटलमा आपराधिक गतिविधि हुने गरेको भन्दै यहाँस्थित बैदाम चौकीका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले होटलका कोठालाई अपराध गर्ने स्थल नबनाउन व्यवसायीलाई आग्रह गरेका छन् ।  

डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधी पनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीलाई आग्रह गरे। ‘होटलका कोठा अपराध गर्ने घटनास्थल नबनुन,’ उनले भने, ‘होटलमा बस्न आउने सबै राम्रा पर्यटक मात्र हुँदैनन्। अपराधको योजना बनाउने, अपराधस्थल बनाउने तथा बाहिर अपराध गरेर लुक्नेस्थलका रुपमा प्रयोग हुनसक्छ। त्यसैले सचेत रहनुहोला।’

डिएसपी श्रेष्ठले होटलमा बस्नेहरुको गतिविधि शंकास्पद लाग्यो भने प्रहरीलाई खबर गर्न आग्रह गरे। तर प्रहरी आयो वा प्रहरी कार्यालयमा बोलायो भन्दैमा डराउने वा ढाँट छल नगर्न पनि उनको आग्रह थियो। ‘प्रहरी आयो भन्दैमा डराउने वा आत्तिनु पर्दैन,’ उनले भने, ‘प्रहरी नागरिककै सुरक्षाका लागि आउने हो।’  

डिएसपी श्रेष्ठले रात्रीकालीन व्यवसाय सुन्दा राम्रो लागे पनि व्यवहारमा कठिन हुने गरेको बताए। रात्रीकालीन व्यवसायकै कारण अहिले पोखराको पर्यटकीय केन्द्र लेकसाईडमा अबाञ्चित गतिविधि भइरहेको भन्ने गुनासो स्थानियबाट आइरहेको उनले जानकारी दिए। ‘लेकसाईडमा अहिले विकृति बढ्यो, अनैतिक क्रियाकलाप बढ्यो। होहल्ला, कोलाहल थपियो भनेर बारम्बार गुनासो आइरहेको छ,’ उनले भने।

डिएसपी श्रेष्ठले होटलमा सिसी क्यामरा राख्न, उज्यालोका लागि लाईटको प्रयोग गर्न, पाहुनाको व्यक्तिगत विवरणसँगै मोवाइल नम्बर राख्न, कम उमेरका भए नराख्न,  पर्यटक आउँदा झोला तान्ने, ठेल्ने जस्ता गतिविधि नगर्न पनि व्यावसायीलाई आग्रह गरे।कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले शान्ति सुरक्षा वहाली गर्नका लागि प्रहरीलाई सहयोग गर्न तयार रहेको बताए। होटलमा अवाञ्छित गतिविधि हुन नदिन आफूहरु सचेत रहेको उनको भनाई थियो।

समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले देशको अर्थतन्त्रले लय छाड्दा व्यावसाय पनि धरासायी हुने क्रममा रहेकाले यसलाई जोगाउन गरिने क्रियाकलापमा प्रहरीको सहयोग रहने विश्वास व्यक्त गरे।समितिका अध्यक्ष अमृत घिमिरले व्यावसायलाई सम्मानित र मर्यादित बनाउन आफूहरु दत्तचित्त भएर लाग्ने बताए। तर शान्ति सुरक्षा कायम गर्न भने प्रहरीले सहयोग गर्नुपर्ने उनको भनाई थियो।  

प्रकाशित: १ कार्तिक २०८० १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App