२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु

कसले कसरी प्राप्त गर्न सक्छ ?

सरकारले गैरआवासीय नेपाली नागरिकलाई आजदेखि नागरिकता वितरण सुरु गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री दाहालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुवात गरेका हुन्।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो।

कसले कसरी प्राप्त गर्न सक्छ गैरआवासीय नेपाली नागरिकता?  

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन्।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्नुपर्ने नागरिक न्युजलाई बताए।

उनका अनुसार नेपाली नागरिकता लिएको सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ।  

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने उनको भनाइ छ।  

प्रकाशित: ३० आश्विन २०८० ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App