१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्डसँगै ‘राडार गन’

गाईघाट बसपार्कमा सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्ष र मदन लोकमार्गमा राडार गनले गति परीक्षण गर्दै ट्राफिक।

पछिल्लो समय अचाक्ली सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अनेक उपाय अपनाउन थालेको छ। 

जनधनको क्षति रोक्न ट्राफिकसम्बन्धी जनचेतना, चेकजाँचमा कडाई, ठाउँ ठाउँमा रिफ्रेस सेन्टर, बजार क्षेत्रमा नो पार्किङ, र टाइम कार्ड लागू गर्नेदेखि पछिल्लो पटक ‘राडार गन’ को प्रयोगसम्म सुरु भएको छ।

दसैँ, तिहार, छठ, नेपाल संवत्, साकेला उँधौली र ल्होसार महत्त्वपूर्ण चाडपर्वहरु नजिकिएसँगै सवारी आवागमन १० गुणा बढ्ने कुरालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले यी उपाय अपनाउन थालेको हो। सकेसम्म दुर्घटना हुनै नदिन र नसके न्यूनीकरण गर्न यी उपायहरु अवलम्बन गर्न थालेको जिल्ला ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए।

उनका अनुसार नजिकिएको चाडबाडलाई लक्षित गरी केही समययता व्यस्ततम सडकमा टाइम कार्ड लागू गरिएको छ। हाललाई यो नियम मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा मात्र लागू गरिएको उनले बताए। जस अनुसार सुनसरीको सीमा चौतारा पुलदेखि रामपुर, बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुली सीमासम्म टाइम कार्ड लागू गरिएको दियालीले बताए।

तर, टाइम कार्डले मात्र पनि दुर्घटनामा कमी नआउने देखिएपछि राडार गनको प्रयोग गर्न थालेको उनले बताए। अब सडक दुर्घटना न्यूनीकरण गर्न ठाउँ ठाउँमा चेकजाँच, टाइम कार्ड र राडार गनको प्रयोग गर्नुका साथै बजार क्षेत्रमा नो पार्किङ अभियानलाई तीव्र पारिएको छ।

आन्तरिकसँगै प्रदेश राजधानी विराटनगर हुँदै झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी जिल्ला भएर भारतको सिक्किम र दार्जिलिङसम्मका यात्रु मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड भएर संघीय राजधानी काठमाडौँ आउजाउ गर्ने गरेका छन्।

केही दिन अघिसम्म ३/४ सयको संख्यामा सवारीहरु आउजाउ गर्ने लोकमार्गमा तीन दिनयता हजार बढी ओहोरदोहोर गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ। यो लोकमार्गमा लामो तथा छोटो दुवै दूरीका सवारी साधनको मात्रा ह्वात्तै बढेको छ। सवारी चापको यो मात्रा दसैँ, तिहार र छठपछि मात्र कम हुँदै जाने अनुमान गरिएको छ। त्यसैले यो बीचको समय दुर्घटनाको अत्यन्त बढी जोखिमपूर्ण समय भएकाले ट्राफिक नियमलाई कडाईका साथ लागू गर्ने योजना बनाइएको जिल्ला ट्राफिकले जनाएको छ।

ट्राफिकले राडार गनको प्रयोगमार्फत सवारी साधनको गति नाप्ने गर्दछ। टाइम कार्ड अनुसार निश्चित दूरी पार गर्न निश्चित समय तोकिएको हुने तर, चेकजाँच पोष्टमा पुग्ने बेला सुस्त गतिमा गुडाए पनि प्रहरी नजर छलिनेबित्तिै द्रुतगतिमा गाडी दौडाउने चालकहरुको बदमासीलाई नियन्त्रण गर्न राडार गनले सहयोग गर्ने ट्राफिक प्रहरी सहायक निरीक्षक महेश थापाले बताए। 

उनका अनुसार सवारी साधनको गतिको मात्रा राडार गनको माध्यमबाट टाढैबाट मापन गर्न सकिने भएकाले चालकले ढाँट्न छल्न पाउने कुरै हुँदैन। हाललाई गाईघाट, कटारी र बेल्टारमा राडार गनको प्रयोग गरिँदै छ।

राडार गन र टाइम कार्डबाहेक अन्य चेकजाँच भने जिल्लाका सबै रुटका सडकहरुमा गर्न थालिएको छ। जस अनुसार सदरमुकाम गाईघाटबाट साउने–फोक्सिन्टार–दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग तथा ओखलढुंगा जोड्ने मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गमा चेकजाँचलाई नियमित र कडाई गरिएको छ।

त्यसैगरी पहाडी बजारहरु जोड्ने आन्तरिक सडक रुटहरु साउने, रौता, फोक्सिन्टार, रसुवा, मुर्कुची, माझखर्क, सिद्धिपुर, रिस्कु, उदयपुर गढी, ताप्ली, बाराहा आदि विभिन्न ठाउँमा पनि ट्राफिक र प्रहरीको सहयोगमा चेकजाँच कार्य नियमित गर्न थालिएको छ।

सवारी दुर्घटना कम गर्न मात्र नभएर तोकिएको भन्दा बढी भाडा लिने गरेको पाइएकाले त्यस्तो अवैधानिक कार्य नियन्त्रण गर्न पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको हो।

साथै अवैध सामान निकासी, पैठारी, यात्रुहरुमाथि हुने चोरी, चकारी र गठीजस्ता अवैध कार्य हुन नदिन पनि चेकजाँचले महत्त्वपूर्ण सहयोग पुग्ने प्रहरीको ठहर छ। जिल्ला सुरक्षा संयन्त्रले चाडबाडका बेला हुने असामाजिक र अमानवीय गतिविधि नियन्त्रण गर्न जनतालाई सचेत गराउँदै शान्ति सुरक्षातर्फ विशेष ध्यान दिएर अघि बढेको जनाएको छ।

चाडपर्वका बेला कुनै पनि आपराधिक गतिविधि हुन नपाओस् भन्ने उद्देश्यले प्रहरी प्रशासन चनाखो भएर लागी परेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।

चाडपर्वका बेला विभिन्न पेशा व्यवसाय र जागिरको सिलसिलामा जिल्लाबाहिर बसोबास गर्नेहरु भित्रिने र मान्छेको आउजाउ बढ्ने भएकाले आपराधिक गतिविधि हुने तीव्र संभावना रहेको भन्दै सतर्क रहन प्रहरीलाई सबैतिर परिचालन गरिएको एसपी थापाले बताए। प्रहरीले चाडबाडमा घर आउने तथा बाहिरिनेहरुलाई सहज बनाउन गाईघाटलगायत विभिन्न बसपार्कमा यात्रु सहायता कक्षसमेत निर्माण भएर सञ्चालनमा ल्याइएको जनाएको छ।

प्रकाशित: २६ आश्विन २०८० १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App