कुनै बेला दसैं तथा तिहार नजिकिंदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका-७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याईनभ्याई हुन्थ्यो। गाउँमा धेरै पुराना र मौलिक घरहरू हुन्थे।
प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो। पछिल्लो समय त्यो प्रचलन फेरिएको छ। पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ। यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कातिर घरमा हुने खर्च र लगानी बढाएको छ।
“पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो”, चम्पा पुनले भने।
पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ। मौलिक घरहरू पनि बिस्तारै हराउँदै गएका छन्। सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भइरहेका छन्।
गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको संख्या घट्दै जान थालेको छ। मौलिक घरहरूमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरू माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुँदै गएको मुसिकोट-१ का गोविन्द केसीको भनाइ छ।
स्वास्थ्यका हिसाबले ढुङ्गा-माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होडबाजीका कारण पनि गाउँमा सिमेन्ट र विभिन्न रङ्गको प्रयोग बढेको हो।
मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ। हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्त्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने स्थानीय उदय केसी बताउँछन्।
प्रकाशित: २६ आश्विन २०८० ०७:२८ शुक्रबार