८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जो हिमालबाट फर्केनन्

हिमालसँग जोडिएका कीर्तिमान जति सुन्दर र विश्वव्यापी छन्, सफल आरोहण गरेर सकुशल फर्कनु त्यति नै चुनौतीपूर्ण छ । हिमाल चढेर बनाएका कीर्तिमान तथा आरोहणका सफलतालाई पनि कहिलेकाहीँ हिमालमै बिलाएका आरोहीहरूका घटनाले छायामा पार्ने गरेका छन् । हिमालमा सफलता, उपलब्धि र चर्चा मात्र नभएर जीवनको अन्त्यसमेत हुने गरेको छ । यसैक्रममा गत असोज २० गते विश्व कीर्तिमान कायम गरेका आरोही गाइड तेन्जेन शेर्पा तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा हिम पहिरोमा परे । आजसम्म उनको अवस्था अज्ञात छ ।

विश्वका ८ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका तेन्जेनको खोजीको क्रममा उनको झोला मात्र भेटिएको छ । तेन्जेन आबद्ध सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले हिम पहिरोमा परेर हराइरहेका उनको खोजी र उद्धारको क्रममा झोला मात्र भेटिएको बताएका छन् । तेन्जेनले गत जुलाई २७ मा पाकिस्तानको केटु हिमालको चुचुरोमा पाइला टेकेसँगै नयाँ विश्व कीर्तिमान राखेका थिए । उनले २०२३ को अप्रिलदेखि जुलाई २७ सम्म लगातार विश्वको ८ हजार मिटरमाथिको १४ हिमाल तीन महिना दुई दिन अर्थात् ९२ दिनमा पूरा गरी कीर्तिमान कायम गरेका थिए । विश्व कीर्तिमान कायम गरेको ७२ दिनमै उनी हिम पहिरोमा परी हराइरहेका छन् ।

तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पाइला राखेसँगै हिमाल आरोहणको आकर्षण सुरु भएको थियो । सन् १९५३ मे २९ मा शेर्पा र हिलारीले बिहान ११ः३० मा सगरमाथाको शिखरमा पहिलोपटक पाइला टेकेका थिए । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा १९ आरोहीको मृत्यु भएको छ । कतिका शव भेटिएका छन् भने कतिका हराइरहेका छन् । मृत्यु भएका र हराइरहेका जम्मा १९ आरोहीमध्ये सात जना नेपाली हुन् । मृत्यु भएका सात नेपालीमध्ये दावाछिरी शेर्पा, लाक्पारिता शेर्पा र पेम्बातेन्जी शेर्पा तिनै जना एकै दिन हिम पहिरोमा परी हराएका हुन् ।  

२०२३ मे १ को दिन सगरमाथाको ५ हजार ७ सय मिटर उचाइमा अवस्थित खुम्बु आइसफलमा उनीहरू तीनै जना परेका थिए । सगरमाथा आरोहीको सामान बोकेर गइरहेका उनीहरू हिम पहिरोमा परी बेपत्ता भएका हुन् । घटना भएको थाहा पाएलगत्तै नाम्चे इलाका प्रहरी कार्यालय, उनीहरू आबद्ध इमाजिन नेपाल ट्रेकलगायत अन्य उद्धार समूहले खोजी गरे पनि अझै भेट्न सकिएको छैन ।  

यस्तै फुर्वा शेर्पाको पनि २०२३ मे १ को दिन एल्लो ब्यान्ड भन्ने ठाउँमा मृत्यु भएको थियो । पिक प्रोमासन एजेन्सीबाट गएका शेर्पाको सगरमाथा आरोहणपछि यल्लो ब्यान्ड स्थानमा मृत्यु भएको विभागको तथ्यांकले देखाएको छ । त्यसको ठीक चार दिनपछि आरोही गाइड आङ्कामी शेर्पाको सगरमाथा आरोहणको क्रममा मृत्यु भएको छ । पिक प्रोमासनबाटै गएका आरोही गाइड शेर्पाको ‘क्याम्प टु’मा मृत्यु भएको हो । यस्तै रन्जितकुमार शाह र लाक्पा नुर्बु शेर्पा एकै दिन ‘साउथ समिट’ भन्ने स्थानमा हराएका हुन् । २०२३ मे २५ मा हराएका उनीहरूको स्थिति अज्ञात छ । शाह अन्नपूर्ण ट्रेकबाट र फुर्वा शेर्पा पिक प्रोमासन एजेन्सीबाट आरोही गाइडका रूपमा गएका थिए । साउथ समिटमा हराएका उनीहरूलाई निरन्तर खोजी गर्दा पनि नभेटिएपछि अझैसम्म उनीहरू बेपत्ताको सूचीमा छन् ।  

यस्तै नेपालबाहेक मलेसियाका दुई आरोहीले यस वर्षको स्प्रिङ सिजनमा सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका छन् । विभागको तथ्यांकअनुसार मलेसियाबाहेक अमेरिका, मालडोभा, चीन, भारत, सिंगापुर, अस्ट्रेलिया, आयरल्यान्ड, हंगेरी, क्यानडा र जर्मनीका एक÷एक जनाले सगरमाथामा ज्यान गुमाएका छन् । यस वर्षको स्प्रिङ सिजन (वसन्त ऋतु) मा सगरमाथा चढ्ने क्रममा १९ आरोहीको ज्यान गएको छ । अट सिजन (शरद ऋतु) मा अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको पर्यटन विभागका निर्देशक राकेश गुरूङले बताए । नेपालमा स्प्रिङ र अटम सिजनमा सबैभन्दा धेरै अरोही हिमाल चढ्ने गर्छन् । स्प्रिङमा सगरमाथा र अमादब्लम हिमाल चढ्ने आरोहीहरू धेरै हुन्छन् भने अटममा मनास्लु हिमाल चढ्ने आरोहीहरू बढी हुन्छन् ।

हिमपहिरो विभिन्न कारणले आउन सक्ने जानकारहरू बताउँछन् । भर्खरै परेको हिउँमा रुट निर्माण गर्दा हिम पहिरो आउने सम्भावना बढी हुन्छ भने बनेको बाटो पनि भासिन गई हिम पहिरो जान सक्छ । यस्तै मौसमको फरकपन तथा जलवायु परिवर्तनले पनि हिम पहिरोलगायत दुर्घटना हुने जानकारहरू बताउँछन् । हिमाल आरोहणको क्रममा आरोहीहरू हिम पहिरोमा पर्ने, अक्सिजनको कमी, भौतिक तथा मानसिक रूपमा उत्पन्न अशक्ततालगायत विविध कारणले हिमालमै बिलाउने गरेका छन् ।

प्रकाशित: २६ आश्विन २०८० ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App