३ असार २०८१ सोमबार
image/svg+xml
समाज

को हुन् इजरायल आक्रमणका कमान्डर दैफ ?

इजरायलले गत साता हमासले गरेको आक्रमणलाई अमेरिकामा सन् २००१ मा अलकायदाले गरेको आक्रमणसरह ठानेको छ । आक्रमणका ‘मास्टर माइन्ड’ मानिएका प्यालेस्टिनी लडाकु कमान्डर मोहम्मद दैफले यो कारबाहीलाई ‘अल अक्स्वा फ्लोड’ नाम दिएका छन् । जेरुसेलमको ‘अल अक्स्वा’ मस्जिदमा गरिएको इजरायली आक्रमणको बदला लिने हिसाबले यो कारबाहीलाई ‘अल अक्स्वा फ्लोड’ नाम दिइएको हो ।  

हमासले गाजापट्टीबाट इजरायलमा आक्रमण गरिरहँदा दैफले रेकर्ड गरिएको टेपमार्फत यो कारबाहीबारे जानकारी दिएका थिए । सन् २०२१ मा इस्लामहरूको तेस्रो पवित्र मस्जिदमा इजरायलले गरेको आक्रमणले अरब र इस्लाम समुदाय आक्रोशित बनेको थियो । त्यसको बदला लिन दैफले गरेको योजनाबद्ध आक्रमणमा १२ सय इजरायलीको मृत्यु र २७ सय घाइते भएको हमास निकट स्रोतले बताएको छ ।  

‘इजरायलले रमादानका बेला अल अक्स्वा मस्जिदमा प्रार्थना गर्न गएका सर्वसाधारणमाथि आक्रमण गरेको, वृद्धवृद्धा र युवालाई घिसारेर मस्जिदबाट बाहिर निकालेको दृश्यका आधारमा यो पछिल्लो आक्रमणको तयारी भएको हो,’ गाजासँग निकट एक स्रोतले भन्यो ।  

सन् २०२१ को आक्रमणअघि इजरायली प्रहरीले ‘ओल्ड सिटी गेट’को पर्खालमा ठूलो अवरोध (बैरियर) खडा गरेको थियो । सुरक्षा व्यवस्थाका लागि बनाइएको उक्त अवरोधले पवित्र महिनामा दर्शन गर्न जानेलाई बन्देज लगाएको आरोप प्यालेस्टिनी पक्षको थियो । सो पवित्र स्थल नजिकै बसोबास गरिरहेको प्यालेस्टिनीहरूलाई घरबाट निकाल्न सकिने त्रासले तनाव झन् बढेको थियो । मस्जिद परिसरमा गरिएको त्यो आक्रमणपछि इजरायल र हमासबीच ११ दिनसम्म लडाइँ भएको थियो ।  

त्यसको दुई वर्षपछि गत शनिबार इजरायलको प्रतिरक्षा शक्तिलाई निस्तेज पार्दै हमासले आक्रमण गरेको हो । सन् १९७३ यताको अरब– इजरायल द्वन्द्वमा यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ । यो आक्रमणपछि इजरायलले हमासविरुद्ध युद्ध घोषणा गरेको छ । उसले गाजामा आकाशबाट प्रत्याक्रमण गरेको छ । प्रत्याक्रमणबाट अहिलेसम्म एक हजार ५५ जनाको ज्यान गएको छ भने पाँच हजारजना घाइते भएका छन् ।

हमासले शनिबार संगीत महोत्सव भइरहेका बेला गरेको आक्रमणमा किबुज समुदायका सहभागी हताहत भए, कैयौं अपहरणमा परे । आक्रमणपछि हमास लडाकुले सडकमा परेड गरेका थिए । यसक्रममा गाजाबाट इजरायल छिरेका एक हजार प्यालेस्टिनी लडाकुलाई मारेको दाबी इजरायलको छ ।

इजरायलले सात पटक हत्या गर्ने असफल प्रयास गरेका दैफ विरलै बोल्छन् र सार्वजनिक रूपमा देखिँदैनन् । हमास टिभीमा उनले शनिबार बोल्ने भनेपछि प्लालेस्टिनीहरूले केही महŒवपूर्ण घोषणा हुने अनुमान गरेका थिए । ‘अल अक्स्वा र हामीभित्र रहेको क्रोधका कारण आज देश उम्लिएको छ । हाम्रा मुजाहिद्दिन योद्धाहरूले यी अपराधीहरूलाई आफ्नो दिन सकिएको महसुस गराउने छन्,’ रेकर्ड गरिएको वक्तव्यमा दैफले भनेका थिए ।  

अहिलेसम्म दैफका तीनवटा तस्बिर मात्र सार्वजनिक भएका छन् । तीमध्ये एउटा २० वर्ष हुँदाको र अर्काे मास्क लगाएको हो । अडियो टेप प्रसारण भैरहँदा देखाइएको उनको छाया तेस्रो तस्बिर हो । उनी कहाँ बस्छन् भन्ने कसैलाई थाहा छैन । सम्भवतः गाजाको कुनै सुरुङमा उनी बस्छन् भन्ने अड्कल छ । इजरायलका एक सैनिक अधिकारीका अनुसार शनिबारको आक्रमणको नेतृत्व दैफले गरेका थिए । प्यालेस्टिनी स्रोतका अनुसार इजरायली हवाई आक्रमणका कारण गाजामा नष्ट भएको एक घर दैफका पिताको हो । त्यही आक्रमणमा उनका भाइ र परिवारका अन्य दुई सदस्य मारिएका छन् ।  

दुई दिमाग, एक माष्टरमाइन्ड

हमास निकट स्रोतका अनुसार यो आक्रमणको तयारी हमासको अल क्यासम ब्रिगेडको नेतृत्व गरिरहेका दैफ र हमास नेता येया सिनवरले संयुक्तरूपमा गरेका हुन् । तर यसको कल्पनाकार को थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । ‘यो आक्रमणमा दुई दिमाग र एक मास्टर माइन्ड थिए,’ हमास निकट स्रोतले भन्यो । स्रोतले यो आक्रमणबारे थोरै मात्र हमास नेतालाई जानकारी रहेको बतायो ।

आक्रमणका विषय यतिधेरै गोप्य राखिएको थियो कि इजरायलको प्रमुख शत्रु मानिएको इरानलाई समेत समग्र जानकारी थिएन । मंगलबार इरानका नेता आयोतोल्ला अली खमेनीले यो आक्रमणमा इरान संलग्न नरहेको बताएका छन् । वाशिङ्टनले समेत यो आक्रमणमा इरानको प्रत्यक्ष हात नरहेको बताएको छ ।

इरानको सहयोगी हमासले पछिल्ला दिनमा गाजाको आर्थिक विकासमा आफू केन्द्रित रहेको र द्वन्द्वका लागि खास इच्छुक नरहेको भ्रम सिर्जना गरेको थियो । यही आधारमा इजरायलले यस्तो आक्रमण होला भन्ने ठानेको थिएन । एकातिर गाजाका कामदारलाई इजरायलले आर्थिक सहुलियत दिएको थियो भने अर्काेतिर लडाकु भित्रभित्रै प्रशिक्षित भैरहेको हमास निकट स्रोत बताउँछ । ‘हामीले यसका लागि दुई वर्षको तयारी गरेका थियौं,’ हमासका बाह्य सम्बन्ध प्रमुख अलि बराकाले भनेका छन् ।  

अडियो रेकर्डमा शान्त भाषामा दैफले हमासले बारम्बार इजरायललाई प्यालेस्टिनीविरुद्ध अपराध नगर्न, बन्दी रिहा गर्न र प्यालेस्टाइनको जमिन अतिक्रमण नगर्न भनेको बताएका छन् । ‘हरेक दिन पश्चिमी किनाराका हाम्रा गाउँ र सहरमा आक्रमण भएको छ । मानिसलाई बेघरबार बनाइएको छ र अपराधीहरूले गाजामा लगातार आतंक मच्याइरहेका छन्,’ दैफले भनेका छन् ।  

सन् १९६५ मा खान युनिस शरणार्थी शिविरमा जन्मिएका दैफ १९८७ देखि सुरु भएको प्यालेस्टिनी विद्रोह (इन्टिफादा) मा सहभागी छन् । १९८८ को हमास चार्टरमा इजरायललाई नष्ट गर्नुपर्ने उल्लेख छ । हमासलाई इजरायल, अमेरिका, युरोपेली संघ, क्यानडा, इजिप्ट र जापानले आतंकारी घोषणा गरेका छन् । हमासका नेताले १९६७ मा इजरायलले कब्जा गरेको प्यालेस्टिनी भूभाग फिर्ता गरे दीर्घकालीन युद्धविराम गर्ने प्रस्ताव राखे पनि त्यसलाई इजरायलले ‘चालबाजी’ भन्दै आएको छ ।  

दैफलाई इजरायलले १९८९ मा पक्राउ गरी १६ महिनासम्म हिरासतमा लिएको हमास निकट स्रोत बताउँछ । दैफले गाजा विश्वविद्यालयबाट विज्ञानमा उच्च शिक्षा हासिल गरेका छन् । उनले विश्वविद्यालयमा रहँदा मनोरन्जन समितिको नेतृत्व गरेका थिए । हमाससँग आबद्धतासँगै उनले सुरुङ निर्माण तथा बम बनाउने विज्ञता हासिल गरे ।  

उनी इजरायलको ‘मोस्ट वान्टेड’ सूचीमा सबैभन्दा अगाडि छन् । आत्मघाती बमले दर्जनौं इजरायलीको हत्या गर्ने योजनामा उनी जिम्मेवार रहेको आरोप छ ।  

दैफका लागि छायामा रहनु जीवन र मरणको विषय बनेको छ । हमास स्रोतका अनुसार इजरायलले गरेको हत्या प्रयासमा उनले एक आँखा गुमाएका छन् । त्यसक्रममा उनको एउटा खुट्टामा गम्भीर चोट पनि लागेको छ ।  

सन् २०१४ मा इजरायलले गरेको हवाई आक्रमणमा उनकी पत्नी, सात महिनाका छोरा र तीन वर्षकी छोरीको मृत्यु भएको थियो । हमास लडाकु दस्तालाई नेतृत्व गरेका दैफले प्यालेस्टाइनमा लोक नायकको हैसियत बनाएका छन् । भिडियोमा उनले मास्क लगाएका हुन्छन् अथवा उनको छाया मात्र देखाइन्छ । उनी स्मार्ट फोनलगायतका अत्याधुनिक डिजिटल प्रविधि प्रयोग गर्दैनन् । ‘उनी मायावी छन्, छाया पुरुष हुन्,’ हमास स्रोतले भन्यो ।

रोयटर्स

प्रकाशित: २६ आश्विन २०८० ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App