२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीनवटै सुरक्षा निकायका प्रमुख विदेशमा

सुरक्षा संवेदनशीलताप्रति बेवास्ता

सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर संयुक्त राष्ट्रसंघीय सुरक्षा र न्याय सुदृढीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार बेलायत गएका हुन् । सोमबारदेखि शुक्रबारसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन आइजिपी कुँवर चार सदस्यीय टोलीसहित बेलायत गएको प्रहरी मुख्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम–दोस्रो चरण’ नेपालमा पनि चलिरहेको छ । यो कार्यक्रमको उद्देश्य विश्वमा शान्ति सुरक्षा, मानवता र विकासका चुनौती समाधानमा सहयोग पुर्याउनु रहेको छ ।  

आइजिपी कुँवरको भ्रमणटोलीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय दानबहादुर कार्की र शेखर खनाल छन् । कार्यक्रममा विकसित अपराधका चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवं लैंगिक हिंसाका साथै बालबालिकाविरूद्ध हुने अपराधलाई सम्बोधन गर्ने विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइजिपी कँुवरले बेलायतमा रहँदा त्यहाँको प्रहरी, प्रहरी एकाइको अवलोकन गर्ने कार्यक्रम छ ।

आइजिपी कुँवर निस्किएको दोस्रो दिन आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि बेलायतकै भ्रमणमा निस्किएका छन् । बेलायती समकक्षी जनरल सन्डर्सको निमन्त्रणामा प्रधानसेनापति शर्मा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालसहित त्यसतर्फ गएका हुन् । उनले बेलायती समकक्षी सन्डर्ससहितका अधिकारीसँग भेटवार्तासँगै वेल्स, ब्रेकनस्थित सेन्नीब्रिज तालिम शिविरको भ्रमण गर्नेछन् । त्यस्तै उनले ‘क्याम्ब्रियन पेट्रोल’मा सहभागी नेपाली सेनाको टोली भेट गरी गोरखा बटालियनको समेत भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।  

नेपाली सेनाको जंगी अड्डाले जनाएअनुसार प्रधानसेनापति शर्मा पूर्ववर्ती प्रधानसेनापतिको अनुसरण गर्दै बेलायत गएका हुन् । उनको टोली असोज २७ गते स्वदेश फर्कने बताइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको मंगलबार अमेरिका प्रस्थान गरेका छन् । यही असोज २७ देखि ३० गतेसम्म असान डिएगो क्यालिफोर्नियामा हुने ‘प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघ सम्मेलन’ मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) शम्भु सुवेदी पनि गएका छन् ।  

त्यस्तै नेपाल प्रहरीका एआइजी टेकप्रसाद राई, डिआइजी दुर्गा सिंह र केदार ढकाल पनि सोही कार्यक्रममा भाग लिन अमेरिका गएका छन् । राईलाई आइजिपी कुँवरको अनुपस्थितिमा कामकाजको जिम्मा दिइएको थियो । उनले यो जिम्मा अर्का एआइजिपी दीपक थापालाई दिएका छन् ।

यसरी एकैसाथ तीनवटै सुरक्षा निकायका प्रमुख विदेश गएपछि आलोचना भइरहेको छ । देशमा कर्मचारीलगायतले सडकमा प्रदर्शन गरिरहेका छन् । इजरायल समस्याले पनि मुलुकमा तनावको स्थिति सिर्जना हुन सक्ने बेलामा सुरक्षा निकायका प्रमुखहरू विभिन्न कार्यक्रमका नाममा विदेश भ्रमणमा निस्किनु अस्वाभाविक रहेको टिप्पणी हुन थालेको छ ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एकैसाथ तीनवटै सुरक्षा निकायका प्रमुखलाई विदेश भ्रमणमा पठाउनु सरकारको गैरजिम्मेवार भएको बताउँछन् । ‘सरकार कतिसम्म गैरजिम्मेवार छ भन्ने यो एक उदाहरण मात्रै हो । यहाँ सामाजिक सद्भाव खलबल पारिएको छ, सुरक्षा संयन्त्र हरबखत उच्च सतर्कतामा बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो बेलामा एकैसाथ सुरक्षा निकायका प्रमुखलाई विदेश पठाउने कुरा सोच्न पनि नसकिने विषय हो । मुलुकमा कुनै गम्भीर घटना भए के हुन्छ ?’  

मुलुकको अर्थतन्त्र कमजोर भएका बेला सुरक्षा निकायका प्रमुख मात्र नभई प्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूले पनि गैरजिम्मेवार ढंगबाट विदेश भ्रमण गरिरहेको पूर्वमन्त्री ज्ञवाली बताउँछन् ।  

पूर्वगृहसचिव गोविन्द कुसुम भने अहिलेको स्थिति जटिल अवस्थामा नरहेको टिप्पणी गर्छन् । असहज स्थितिमा भने यसरी एकैसाथ सबै सुरक्षा निकायका प्रमुख विदेश जाँदा समस्या हुने उनको भनाइ छ । ‘अहिलेको अवस्था असहज नै हो–होइन, विश्लेषण गर्ने आ–आफ्नै तरिका होला । मलाईचाहिँ अहिले नै गाह्रो अवस्था भएको लाग्दैन,’ उनले भने ।

प्रकाशित: २५ आश्विन २०८० ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App