१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

विपी राजमार्गमा सवारी चालकको आँखा तथा प्रेसरको चेकजाँच

विपी राजमार्गमा सवारी चलाउने चालकलाई आँखा तथा प्रेशरको चेकजाँच गराउदै प्रहरी सहितको टोली। तस्बिर: अनिल भण्डारी/नागरिक

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गमा सवारी चलाउने चालकको आँखा तथा प्रेसर चेकजाँच गर्न थालेको छ।

कमलामाई नगरपालिका स्वास्थ्य कार्यालय र रेडक्रसको समन्वयमा प्रहरीले विपी राजमार्गमा सवारी चलाउने चालकको आँखा जाँच गरेको प्रहरीले जनाएको छ।

चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा सवारीको चाप बढ्ने र चालकलाई पनि काम धेरै हुने भएकाले दुर्घटना न्यूनीकरण गर्न चालकको आँखा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। उनका अनुसार विपी राजमार्गको सिन्धुलीमाढीस्थित ट्राफिक चेक पोस्टमा आँखा जाँच गर्ने व्यवस्था मिलाई चेकजाँच गरिएको छ।

यस्तै इलाका प्रहरी कार्यालय खुर्कोटले पनि गोलञ्जोर गाउँपालिकाको खुर्कोटमा चेकजाँच गर्ने व्यवस्था मिलाएको हो। काठमाडाैंबाट पूर्वी तराई तथा पहाडी जिल्लामा जाने सवारीलाई खुर्कोटमा र पूर्वी तराईबाट काठमाडौँ जाने सवारीलाई सिन्धुलीमाढीमा आँखा तथा प्रेसर चेकजाँच गरिएको प्रहरीले जनाएको छ। 

‘सवारी चालकलाई आँखा चेकजाँच गरी कमजोर आँखा रहेको पाइएमा चस्मा लगाउन सुझाएका हौ’, प्रहरी प्रमुख सिलवालले भने, ‘तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गर्ने तथा राजमार्गमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही हुने जनचेतना समेत दिएका छौं।’

जिल्ला प्रहरी कार्यालयले हप्तामा दुई दिन आँखा चेकजाँच गर्ने जनाएको छ। दसैँ नजिकिँदै गर्दा विपी राजमार्गमा सवारीको चाप थपिँदै गएपछि दुर्घटनालाई न्यूनीकरण गर्न यस्तो कार्य गर्न लागिएको प्रहरीले जनाएको छ।

‘राजमार्गमा चेकजाँच समेत कडाई गर्न थालिएको छ ’, प्रहरी प्रमुख एसपी सिलवालले नागरिकसँग भने, ‘चाडपर्वमा सवारी चाप हुन्छ राजमार्ग निकै घुमाउरो र साँघुरो छ त्यसैले चालकहरुलाई सचेत गराएका हौं।’

प्रकाशित: २३ आश्विन २०८० १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App