६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इजरायल आक्रमणको मारमा नेपाली विद्यार्थी

नेपालका लागि इजरायलका राजदूत खनान गोदरले त्यहाँ भएको आतंकवादी हमलामा नेपाली पनि परेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थीसमेत आतंकवादी हमलाको चपेटामा परेका छन् ।  

‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको सेडोट सहरमा गराएको विस्फोट र आक्रमणमा त्यहाँ रहेका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका विद्यार्थी पनि परेका हुन् ।

लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका ४९ जना विद्यार्थीलाई त्यहाँको सेडोट नेगेभ कलेजले विभिन्न ६ वटा कृषि फार्ममा काममा लगाएको थियो । उनीहरूमध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत रहेका बेला हमासको आक्रमणमा परेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १७ जना कार्यरत ‘एलोमिन कृषि फार्म’मा हमासले रकेट प्रहार गरेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान अध्ययन संस्थानका पूर्वडिन डा. लालप्रसाद अमगाईंले जानकारी दिए । उनकै पहलमा विद्यार्थी इजरायल गएका थिए ।  

अमगाईंले घटनापछि आफू विक्षिप्त जस्तै बनेको बताए । ‘न भोक छ, न निद्रा छ । यस्तो अवस्थाको कल्पनासमेत गरेको थिइनँ,’ उनले भने, ‘भगवान्लाई पुकार्नुबाहेक अरू विकल्प नै रहेन ।’

आक्रमणमा परेका विद्यार्थीहरूमध्ये तीनजनाको उपचार भैरहेको छ । घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, दाङका प्रवीण डाँगी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल छन् । उनीहरूको उपचार भइरहेको छ । सोही ठाउँमा कार्यरत टीकापुरका वीरेन्द्र चौधरी कुनैकुनै बेला सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने गरेको कृषि विज्ञान संस्थान ‘स्कुल अफ एग्रिकल्चर’ का प्रमुख सुशील न्यौपानेले जानकारी दिए । उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिएका छन् । न्यौपानेले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए । 

सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएका उनीरूले बंकर नभएका कारण आफूहरू असुरक्षित रहेको बताएको जानकारी न्यौपानेले दिए । सम्पर्कमा आएका विद्यार्थीमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिंह भण्डारी, डडेल्धुराका लोकेन्द्र विष्ट, कैलालीका रोहित नायक, रौतहटका निरन्जनकुमार कुशवाह, कैलालीका अरविन्दकुमार चौधरी र बाँकेका उपेन्द्र जिसी छन् । न्यौपानेका अनुसार उनीहरूले बंकर नभएका कारण आफूहरू असुरक्षित रहेको बताएको न्यौपानेले जानकारी दिए ।

कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम ‘सेमेष्टर’का ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ र २७ गते ३५ जना १० महिनाका लागि इजरायल गएका थिए, जसमा १० जना छात्रा छन् । सहमतिमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका विद्यार्थी सातामा १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा उल्लेख छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संस्थानले यो कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो ।

प्रकाशित: २२ आश्विन २०८० ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App