१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बझाङमा भूकम्प जाने क्रम अझै रोकिएन, चार रेक्टर स्केलमाथिका ११ परकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलवार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो। खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलवारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ परकम्प गइसकेको जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

यसैगरी गयराति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो।

केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन्। ‘विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ’, उनले भने।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो। उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने चेतावनी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे। रासस

प्रकाशित: १७ आश्विन २०८० ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App