८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

खेर जाने केराका थम्बाबाट हस्तकलाका सामग्री बनाउँदै घैलाघारीका महिला

भरतपुर महानगरपालिका–२३ स्थित घैलाघारीका महिलाहरू खेर जाने केराका थम्बाबाट हस्तकलाका सामग्री बनाउन व्यस्त छन्। घैलाघारीकी पुजा महत्तोको घर चितवन राष्ट्रिय निकुञ्ज नजिकै छ। विगतमा उनको दैनिकी निकुञ्जमा गएर न्यूरो टिप्नेदेखि घाँस काट्ने नै हुन्थ्यो। तर, हिजोआज भने उनको दैनिकी फेरिएको छ। खेर जाने केराको थम्बाट हस्तकलाका विभिन्न सामग्री बनाउनमा उनी  व्यस्त हुन्छिन्।  

‘घरमा बाख्रा छन्। अरु केही छैन। दिउँसो फुर्सदको समयमा केराको सुप्लाबाट हस्तकलाका सामग्री बनाउन थालेकी छु,’ टोपी बुनिरहेकी महत्तोले भनिन्, ‘अहिलेसम्म सय वटाको हाराहारीमा हस्तकलाका सामग्री बनाएर बेचिसके।’ उनले केराको सुप्लाबाट हस्तकलाका सामग्री बनाउन थालेको ६ महिना भयो। आम्दानी पनि राम्रै गरिरहेकी छिन्।  

केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्बिन, पानको पात, टि म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामग्रीहरू बनाउने गरेको उनी बताउँछिन्।

‘पहिलेजस्तो मेला पात जान पर्दैन। यसबाट उपचार गर्न पनि सहज भएको छ। दशैँ खर्चपनि यो बेचर गर्ने योजना छ,’ खुशी हुँदै उनले भनिन्, ‘कहिलेकाहीँ दिनमै तीन हजार पाँच सय जति आम्दानी हुन्छ ।’ उनलाई घरमा सासुआमाले पनि डोरी बाँट्न सहयोग गर्छिन्। बिना लगानी आम्दानी गर्दै आएकी महत्तो यो पेशालाई निरन्तरता दिने योजनामा छिन्।  

भरतपुर–२३ घैलाघारीकै सरिता थापा मगर पनि केराको सुप्लाबाट हस्तकलाका सामग्री बनाउँछिन्। विगतमा न्यूरो बेचेर जिविका चलाउँदै आएकी सरिता पनि हिजोआज केराका थम्बासँग रमाउन थालेकी छिन्। ‘जंगलमा न्यूरो टिप्न जाँदा गैँडा बाघको डर, उत्ता निकुञ्ज प्रशासनको त्रास,’ आफूले बुनेका हस्तकलाका सामग्री देखाउँदै उनले भनिन्, ‘हिजोआज जंगल जान परेको छैन।’

महत्तो र थापा मात्र होइन्, भरतपुर–२३ स्थित घैलाघारीका अधिकांश महिलाहरूको जीविकोपार्जनको माध्यम नै केराको सुप्लाबाट बनाइने हस्तकलाका विभिन्न सामग्री बनेको छ। फुर्सदको समयलाई सदुपयोग गर्दै समुह नै बनाएर उनीहरूले विभिन्न सामाग्री बनाउन लागेका हुन्। ६ महिनाअघि २० जनाले हातेमालो लघु उद्यमी महिला समुह बनाएर काम थालेका थिए। आफूले उत्पादन गरेका सामग्रीहरू उनीहरूले समुहबाट बिक्री वितरण गर्छन्।  

बजारको लागि समस्या नभएको हातेमालो लघु उद्यमी महिला समुहकी अध्यक्ष अप्सरा तामाङले बताईन्। ‘हामीले नेचर गाइडसँग सम्पर्क गरेका छौँ। निकुञ्ज घुम्न आउने विदेशी पर्यटकले सामान खरिद गरिदिनुहुन्छ,’ उनले भनिन् ‘महिलालाई उर्जा थपिदिएको छ।’ मङ्गलवारदेखि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी खुलेको छ। अब व्यापार बढी हुनेमा उनी ढुक्क छिन्। उनीहरूले बनाएका हस्तकलाका सामग्री सय रुपैयाँदेखि हजार रुपैयाँसम्मका छन्।  

समुहमा २० देखि ४० वर्ष उमेर समुहका महिलाहरू छन्। केराको थम्बा पाउन उनीहरूलाई कठिन छैन। जगतपुर केरा खेती प्रसस्त भएको क्षेत्र हो। उनीहरूले निःशुल्क रुपमा नै थम्बा ल्याउने गर्छिन्। शून्य लगानीमा हातेमालो लघु उद्यमी महिला समूहले राम्रो आम्दानी गर्दै आएका छन्।  

केराको थम्बालाई मसिनो बनाएर रेसा बनाउने, त्यसलाई सुकाउने, अनि मसिनो बनाएर बाटेर धागो बनाउने गरिन्छ। त्यसपछि आवश्यक सामग्री बनाउन सकिने संस्थाकी उपाध्यक्ष मिनाकुमारी मगरले बताइन्। थम्बाबाट रेसा निकालेपछि सुकाउन एकदेखि तीन दिनसम्म लाग्छ। तर, गर्मीको सिजनमा एकैदिनमा सुक्ने उनले बताइन्। अहिले कतै खेर गएको केराको बोट देख्दा अमुल्य चिज फाले जस्तो हुने उनले सुनाइन्।

डोरी तयार भएपछि सामग्री बनाउन थेरै समय लाग्दैन। डिनर म्याट बनाउन आधा घण्टा, टिपी बनाउन एक घण्टा, साइडब्याग, फुलदानी एकै दिनमा बुनेर सकिन्छ।  

हस्ताकला सामाग्री बनाउन कसरी लागे? 

सुकुम्वासी बस्तीमा बस्दै आएका महिला दिदीबहिनीलाई केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामाग्री बन्छ भन्ने पत्तै थिएन । भरतपुर महानगरपालिकाले केराको थम्बासुप्लाबाट विभिन्न सामाग्री बनाउन सकिन्छ भनेपछि उनीहरू हस्तकलाको सामाग्री बनाउन अग्रसर भएका हुन् । ‘महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ब्युटी पालर, सिलाई कटाइ, केराको सुप्लाबाट हस्तकलाका सामाग्री बनाउने तालिम दिएको थियो, अन्य तालिमभन्दा नयाँ लागेर हामीले केराको सुप्लाबाट हस्तकलाका सामाग्री बनाउने तालिम रोज्यौँ,’ अध्यक्ष लामाले भनिन् । 

महानगरपालिकाले १० दिनको तालिम दिएको थियो । सो तालिममा घैलाघारीबाट ३० जना दिदीबहिनी सहभागी भएका थिए । अहिले भने २० जना हस्तकलाको सामाग्री बनाउन व्यस्त छन् । महानगरपालिकाले उनीहरूलाई रेसा बनाउनका लागि मेसिन समेत दिएको छ । तर, मेसिन राख्ने भवन र बिजुली नहुँदा समस्या भएको छ । यसका लागि भरतपुर–२३ सहयोग गर्न तयार रहेको वडाध्यक्ष दीपक दवाडी बताउँछन् ।

प्रकाशित: १७ आश्विन २०८० ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App