१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाँके राष्ट्रिय निकुञ्जको १५ किमी क्षेत्रमा टाईमकार्ड लागु

बाँके राष्ट्रिय निकुञ्जको खैरीपोष्टदेखी ओभरीसम्म सुरु गरिएको टाईम कार्ड। तस्बिर: नागरिक

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गरिएको छ। निकुञ्ज प्रशासनले सोमबारबाट पुर्वपश्चिम राजमार्गको खैरीपोष्ट(जिरो)देखी ओभरीसम्म टाईमकार्ड लागु गरेको हो।

अत्यधिक रुपले दुर्घटना बढ्न थालेपछि निकुञ्जले पहिलो चरणमा १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गरेको बाँके राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत अर्जुन भुसालले जानकारी दिए।

उनका अनुसार राजमार्गमा गुड्ने सवारी साधनले १५ किलोमिटर दुरीलाई २३ देखी २८ मिनेटभित्रमा पार गर्नुपर्नेछ। ‘जंगल क्षेत्र पर्ने र सिधा बाटो भएकाले सवारी साधनहरु तीव्र गतिमा गुड्छन्, जसले गर्दा दुर्घटना धेरै बढेका छन्,’ भुसालले नागरिकसँग भने ‘बढ्दो दुर्घटनालाई न्युनिकरण गर्नकै लागि हामीले टाईमकार्ड लागु गरेका हौं।’

निकुञ्ज कार्यालयका अनुसार पाँच वर्षभरी बाँकेमा २ सय ३० वटा सडक दुर्घटना भएका छन्। त्यसमध्ये १ सय ६ वटा दुर्घटना खेरीदेखी ओभरीसम्मको खण्डमा मात्रै भएका छन्। गतवर्ष बाँकेमा भएका ६६ वटा दुर्घटना मध्ये बढी दुर्घटना उक्त क्षेत्रमै भएको तथ्यांकमा उल्लेख छ। विगतमा निकुञ्जले दाङको सिमाना शिवखोलादेखी प्रगतिनगरसम्म टाईम कार्ड लगाउने प्रयास गरेपनि बीचमै रोकिएको थियो।

ठाउँ ठाउँमा भएका मानव बस्ती र होटलका कारण टाईमकार्ड प्रभावकारी नभएको सूचना अधिकारी समेत रहेका भुसालले सुनाए। ‘यसपटक चरणमा १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गरेपनि यसको नतिजा अनुसार क्रमशः अन्यत्र पनि लगाउन सकिन्छ र यसको प्रभाव अन्यत्र पनि पर्छ,’ उनले भने ‘टाईमकार्ड लगाउँदा केही खर्च बढ्छ, कर्मचारीको संख्या बढाउनुपर्छ, राज्यलाई आर्थिक भार चाही पर्छ।’

बाँके राष्ट्रिय निकुञ्जको नियमावली अनुसार नै टाईमकार्ड लागु गरिएको भुसालले बताए। नियमावलीको नियम १७ को (ङ)मा प्रतिघण्टा ४० किलोमिटर सवारी साधन चलाउनुपर्ने ब्यवस्था छ। राजमार्गको निकुञ्ज क्षेत्रमा दुर्घटना अत्यधिक रुपले बढ्न थालेपछि नागरिक अगुवा, ट्राफिक प्रहरी लगायतले टाईमकार्ड लागु गर्न सुझाव दिएका थिए।  

यस्तै जिल्ला स्तरिय ‘वन्यजन्तु अपराध नियन्त्रण एकाई’ बाँकेले पनि असोज १५ गतेबाट १५ किलोमिटर क्षेत्रमा टाईमकार्ड लागु गर्ने निर्णय गरेको थियो। ‘टाईमकार्ड लागु भएपछि एकातिर सडक दुर्घटना नियन्त्रणमा आउने र अर्कोतिर बीच बाटोमा गाडी रोकेर जथाभावी फोहोर फ्याँक्ने गतिविधि नियन्त्रणमा आउने निकुञ्ज कार्यालयको विश्वास छ। २०६७ साल असार २८ गते स्थापना भएको निकुञ्जको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ। यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रको क्षेत्रफल भने ३ सय ४३ वर्ग किमी रहेको छ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यानलाई क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ।

प्रकाशित: १५ आश्विन २०८० १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App