२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

निकुञ्जका बाघ बस्ती पस्न थाले, राख्न न ‘खोर’ न ‘आहार’

बस्तीमा बाघ निस्कएको खबर चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा बाक्लै आउँछ। अधिकांशले बाघलाई नियन्त्रण गर्न समेत दबाब दिने गर्दछन्। यता निकुञ्ज प्रशासनलाई भने बाघ नियन्त्रण गरेर कहाँ राख्ने भन्ने चिन्ताले नै सताइरहन्छ।

‘निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ। उनीहरु मानव बस्ती पसिरहेका हुन्छन्। बाहिर आउँदा बितिकै समातेर राखिदिनुपर्‍यो भन्नुहुन्छ,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, ‘हामीले ल्याएर राख्ने ठाउँ नै छैन।’ खोर नहुँदा नियन्त्रणमा राख्नुपर्ने बाघलाई समातेर पुनः जंगलमा छाड्नुपर्ने बाध्यता रहेको तिवारीले तिवारीले सुनाए।  

‘बस्तीमा पसेर पशुचौपाय तथा मानिसलाई आक्रमण गर्ने बाघलाई समेत समातेर जंगलमै छाड्नुपर्ने अवस्था छ,’ तिवारीले भने, ‘ती बाघहरु पुनः बस्तीमा छिरेर दुख्ख दिइरहेका हुन्छन्।’

चितवनमा छ वटा खोर छन्। यी सबै भरिएका छन्। यहाँ राख्ने ठाउँ नभएर निकुञ्जले पर्सा, बर्दिया र बाँके पठाएको छ। नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई एक महिना अघि बर्दिया पठाइएको थियो। अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो।

एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको थियो। यस्तै अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ। कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त नभएको तिवारीले बताए। पाँच महिना अघि कुमरोज क्षेत्रबाट नियन्त्रणमा लिएर पर्सा पठाइएको थियो।

हाल कसरामा सानोसहित चार बाघ छन्। तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो। सो भाले बाघ अन्दाजी १० वर्षको छ। गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ। अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ।

सौराहामा खोरमा दुई बाघ रहेका छन्। तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ। सो भाले बाघ अन्दाजी चार वर्षको हो। अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ।

दुई बर्षको बिचमा खोरमा राखेका तीन वटा बाघ मरेका छन्। ‘एउटा सौराहामा खोरमा नै म¥यो, उनले भने ‘एउटा खोरबाट छाडेको केही दिनमा नै जंगलमा म¥यो।’

निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको निकुञ्ज प्रशासनले जनाएको छ। यसलाई मध्यनजर गर्दै देवनगरमा खुला खोर निर्माण गर्न लागिएको छ। त्यहाँ दुई वटा बाघ राख्ने मिल्ने गरी खोर बनाउन लागिएको हो।

चितवन राष्ट्रिय निकुञ्ज भित्रका खोरमा बाघ थपिँदा आहारा पु¥याउन कठिन भएको माझि पदमा कार्यरत आइतराम बोटेले बताए।

‘एउटा बाघले एक पटकमा ३२ केजिसम्म खान्छ भन्ने छ,’ बोटेले भने ‘हामीले एक दिनको फरकमा २० केजि मासु चार वटालाई पु¥याएर दिन्छौँ।’ उनीहरुलाई बजारबाट पाडाको मासु ल्याएर दिने गरिन्छ। कहिले काही चिकित्सकको सिफारिसमा जंगलमा मरेका चित्तल, हरिणलाई समेत ल्याएर खुवाउने गरिएको उनले बताए। ‘चार वटा भएपछि बाघलाई खुवाउन कठिन छ। हामीले जंगलमा जुधेर मेरका जनावर समेत ल्याएर खुवाउनुपरेको छ,’ उनले भने, ‘एउटा बाघ हुँदा पनि उही थपिँदा पनि त्यती नै आहारा दिनुपरेको छ।’

बाघको आहारा व्यवस्थापनमा १४ लाख रुपैयाँ खर्च हुने गरेको तिवारीले बताए। बाघले सरदरमा एक हप्तामा एउटा सिकार गर्ने गरेको उनले बताए। ‘बाघलाई हामीले दिएभन्दा बढी दिएपनि खान्छ,’ उनले भने ‘हामीसंग बजेट नहुँदा कम दिने गरेका छौँ।’ बाघलाई खुवाउनको लागि बजेट नभएको उनले बताए। ‘अहिले विभिन्न संघसंस्थाको सहयोगमा मासु किनेर खुवाएका छौँ,’ उनले भने ‘बाघलाई मासु खुवाउनका लागि सरकारले नियमित शिर्षकमै बजेट राख्नुपर्छ।’  

चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ। सन् २०२२को गणना अनुसार यहाँ एक सय २८ वटा बाघ छन्। यो संख्या नेपालकै सबैभन्दा बढी हो। नेपालभर तीन सय ५५ वटा बाघ छन्। चितवन पछि बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा बाघ रहेको तथ्यांक छ। 

प्रकाशित: १५ आश्विन २०८० ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App