५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

इन्द्रजात्राको व्यावहारिक ज्ञान सिक्दै विद्यार्थी

काठमाडौं महानगरको बौद्ध महाङ्कालस्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार रमाइलो वातावरण थियो। विद्यार्थी, शिक्षक र अभिभावक नेवारी परम्परागत पहिरनमा सजिएर इन्द्रजात्रा मनाउने तयारीमा जुटेका थिए। शिक्षक र विद्यालयका कर्मचारी लाखे र पुलुकेसी नाचगान गरेर विद्यालयको वातावरण रमणीय बनाइरहेका थिए।

नेवारी समुदायमा मनाइने सबैभन्दा ठूलो इन्द्रजात्रा हो। विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राई जात्रा व्यवस्थापनमा जुटेकी थिइन्। उनलाई विद्यालयका शिक्षक, कर्मचारीले साथ दिइरहेका थिए। प्रधानाध्यापक राईका अनुसार विद्यालयमा इन्द्रजात्रा मनाउनुको मुख्य उद्देश्य बालबालिकालाई नेवारी कला, संस्कृति, कर्म र जात्रा तथा संस्कारबारे व्यावहारिक ज्ञान दिनु रहेको छ।

शिक्षक सचिन शाक्यले जात्रा अवलोकन गर्न कुमारीलाई ल्याएर कुर्सीमा बसाए। उनी थिइन् सात वर्षीया एलिसिवा परियार। उनी सोही विद्यालयमा कक्षा १ मा पढ्छिन्। विद्यालयले शुक्रबार विद्यार्थी, अभिभावक र शिक्षकबीच इन्द्रजात्रा मनायो। यस अवसरमा एलिसिवालाई कुमारी बनाइएको थियो। चिटिक्क परेको अनुहार, निर्भीक हाउभाउ र सरल चरित्र भएकी उनी ठ्याक्कै कुमारीसँग मिल्ने खालकी थिइन्। कुमारीकै भेषमा सजिएकी एलिसिवालाई शिक्षक, विद्यार्थी र उपस्थित सबै श्रद्धाका साथ पूजा गरिरहेका थिए भने कोही फोटो खिच्न खिचाउन र सेल्फी खिच्न लालायित थिए।

कक्षा ६ का अनुप भण्डारी र कक्षा ८ का विद्यार्थी पुलुकेसी बनेर मनोरञ्जन प्रदान गर्नुका साथै जात्राको शोभा बढाइरहेका थिए। विद्यालयको वातावरण हेर्दा लाग्छ, वसन्तपुरमा मनाइँदै आएको इन्द्रजात्रा जनकल्याण माविमा भइरहेको छ। त्यहाँमाथि उपमेयर सुनिता डंगोलको उपस्थितिले जात्रालाई रोमाञ्चक बनाउन सहयोग पु¥याएको थियो।

कक्षा १० की छात्रा करुणा विश्वकर्मा भन्छिन्, ‘मैले बसन्तपुर गएर हेर्न नसकेको इन्द्रजात्रा विद्यालयमै प्रत्यक्ष बुझ्न पाएँ।’ इन्त्रजात्राका क्रममा लाखे, पुलुकेसी, बाजा, नाचगान, समयबजीका बारेमा बुझ्न निकै सहज भएको कक्षा ६ की छात्रा कृष्टिना न्यौपानेले सुनाइन्। उनले भनिन्, ‘किताबमा पढ्दै आएको इन्द्रजात्राको पाठ प्रत्यक्ष देखेर प्रस्ट बुझें।’

बालबालिका सूचनाका बलिया आधार हुन्। यस्ता कार्यत्रमले बालबालिकालाई आफ्नो धर्म, संस्कृति, रीतिरिवाज, खानपिन तथा रहनसहनका बारेमा बुझ्न र यसको संरक्षणमा लाग्न रचनात्मक भूमिका खेल्ने प्रअ राईको बुझाइ छ। प्रअ राई थप्छिन्, ‘विद्यालयका शिक्षक, कर्मचारी र अभिभावकको बलियो सक्रियताले विद्यालय उत्कृष्टमा पर्न सफल भएको छ, यो सकारात्मक पक्ष हो।’

साहित्य, कला, संगीत, संस्कृति, चाडपर्व बालबालिकाका लागि सिर्जना शक्ति हो। यसर्थ पनि विद्यालयले ल्होसार, माघी, साकेला आदि सांस्कृतिक कार्यक्रम पनि गर्दै आएकाले विद्यार्थी, शिक्षक र अभिभावकमा आफ्नो भाषा, संस्कार र संस्कृतिप्रति प्रेम बढेको प्रअ राईले अनुभव सुनाइन्।

प्रकाशित: १५ आश्विन २०८० ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App