९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लोपोन्मुख अधिया नाच संरक्षणमा स्थानीय

अधिया नाचमा रम्दै दुर्छिम बोतोचुङ चुमाखुका स्थानीय । तस्बिर : दमन राई

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोतोचुङ (चुमाखु) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका स्थानीय लोपोन्मुख साँस्कृतिक अधिया लगायतका नाच संरक्षणमा जुटेका छन् । बाजेपुर्खाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेको अधिया, ख्याली, छोकडा गीत र नाच संरक्षणका लागि स्थानीय जुटेका हुन् । परापूर्व कालदेखि गाउँमा भित्रिएको कला संरक्षण गर्नका लागि प्रचार–प्रसार एबं दृश्य कैद गर्दै युवा पुस्ताप्रति मोह जगाउन अभियान चलाउन सुरु गरिएको अभियान्ता भरणसेर राईले बताए । विशेषगरी हरेक तिहारमा लक्ष्मीपुजा गरेपछि दशमीका दिनसम्म गाइने र नाचिने अधिया पछिल्लो समय औपचारिकतामा मात्र सिमित हुन थालेपछि संरक्षणमा चासो देखाउन थालिएको हो । दशक अघिसम्म हरेक घरमा डुलेर देउसी र भैलीसँगै गाइने र नाचिने अधिया युवा पुस्ताको बेवास्ताका कारण हाल एक घरमा मात्र नाच्ने गरिएको स्थानीय बताउँछन्। 

गाउँमा अधिया, ख्याली र छोकडा भित्रिएको मितिका विषयमा स्थनीय जानकार छैनन्। उद्यपी, आफ्नो बाजेपुर्खाले अन्यत्रबाट सिकेर यसलाई गाउँमा भित्र्याएकोमा उनीहरू एक मत छन्। नाचकाक्रममा अधिकांश समय अधियलाई दिइन्छ । ख्याली र छोकडालाई भने अधियाको बीच–बीचमा विश्रामकारुपमा प्रस्तुत गर्ने गरिएको स्थानीय युवा संघर्ष किरातीले बताए । अधियामा गाउँका बालबालिकादेखि वृद्धवृद्धा रम्ने गरेका छन् । आपसमा भाईचारा वृद्धि गर्न र साँस्कृतिक एकताका लागि अधियाको महत्वपूर्ण योगदान रहेको किराती बताउँछन्। अधिया, ख्याली र छोकडामा कतिपय शव्द तराईका थारु समुदायका पनि मिसिएको पाइएको छ । मल्लकालिन इतिहास बोकेको अधिया लोपोन्मुख बनेकाले संरक्षणका लागि चासो जगाउन आवश्यक देखिएको दुर्छिमका स्थानीय शिक्षक डिकसेर राईले बताए । ‘विभिन्न समुदायबाट हामीले अभिया, ख्याली र छोकडाको सिको गरेको ठहर्छ,’ शिक्षक राईले भने, ‘अधिया एकैजनाले गाउन, बजाउन र नाच्न मिल्ने किसिमको नाच हो।’ 

तिहारका बेलामा आँगनमा आफन्तसँग भेला भएर मादल बजाउँदै अधिया गीत गाउँदै नाचेर रमाईलो गर्ने प्रचलन छ। सुरुमा दुई जना मारुनी राखेर पूजाआजा गरेर विधिवतरुपमा सरस्वती जगाए पछि अधिया सुरु गरिन्छ । धुप बालेर सरस्वती, देवीदेवता, सिद्धसिकारी, खोलानाला लगायतको नाममा जय–जयकार गरिन्छ । र, गीत गाउन जान्ने बुढापाकाको समूहले ठाडो श्लोक गाउँछन् । त्यसपछि मात्र गाउन र नाच्न थालिने अधियालाई करिब आधा–आधा घण्टामा विश्राम गर्दै निरन्तरता दिने गरिन्छ । एउटा घरमा दुई घण्टा लाग्ने अभियालाई गाउँभरी गाइसकेपछि अन्तमा सुरु गरेकै घरमा आएर पुजापाठ गर्दै समापन गर्ने प्रचलन रहेको अधिया गीत गाउन सक्ने बोटोचुङका वृद्ध छत्रसेर राईले बताए । ‘छोराबुहारी, बाबुआमा, छोरी ज्वाँई सबैले गाउन र नाच्न पाउने भएकाले यसलाई अधिया भनिएको हो,’ स्थानीय वृद्धा विष्णुमायाँ राईले भनिन्, ‘यो संस्कारलाई छाडी सकेका थियौँ, पुनः यसमा चासो जाग्दा खुसी लागेको छ । संस्कार मान्नेले गरे जान पर्दैन भन्ने उखान नै छ।’ 

अधिया नाच्ने परम्परा र विधि ठाउँ अनुसार फरक देखिन्छ । हलेसीको कात्तिकेमा भने अधिया गाएपछि गाउँबाट टाढा गएर भालेको बलि दिएर फर्किएपछि मात्र अधिया समापन गर्ने प्रचलन छ । बली दिन गाउँबाट टाढा जानेक्रममा महिलालाई भने जान निषेध छ। 

 

प्रकाशित: २९ आश्विन २०७४ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App