४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा मिसावट गरिएको सत्रसय किलो बेसार नष्ट

मिसावट भएको बेसार नष्ट गरिदै। तस्बिर: रोहित राई/नागरिक

कुटानी पिसानी मिलमा मिसावट गरेर पिस्न लागेको र बिक्रीको लागि तयारी अवस्थामा रहेको बेसार नष्ट गरिएको छ।

धरान उपमहानगरपालिकाको अनुगमन टोलीले असोज २ गते धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरेको मिसावटयुक्त कुल १,७४८.५ किलोग्राम बेसार बिहीबार नष्ट गरेको हो। अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालकले जरिवाना बापत २ लाख उपमहानगरपालिकाको राजश्वमा जम्मा गरेपछि बिहीबार बरामद गरिएको मिसावटयुक्त बेसार नष्ट गरिएको हो।

बरामद गरिएको बेसारलाई धरान २० स्थित नमुना टोलमा खाल्डो खनेर अनुगमन टोलीले नष्ट गरेको हो। बेसार नष्ट गर्न मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघासहित अनुगमन टोली पनि उपस्थित रहेको थियो। विशेष सूचनाको आधारमा अनुगमन टोली मिलमा पुग्दा खुदी मिसाएर पिस्न तयार गरिएको १३ बोरा (६२३.५ केजी) बेसार फेला परेको थियो भने बिक्री गर्न तयारी अवस्थामा राखिएको थप ४५ बोरा (११२५ केजी) बेसार बरामद गरेको थियो।

ती मध्ये १३ बोरा बेसारलाई अनुगमन टोलीले बरामद गरेर उपमहानगरपालिकामा लगेको थियो। बाँकी ४५ बोरा बेसार भने मिलमा सिल गरेर छोडेको थियो। बिहीबार ती सबै बेसारलाई मुचुल्का उठाएर नष्ट गरेको हो।

उक्त मिलका सञ्चालक गोर्खामान श्रेष्ठले धरानकै विष्णुपादुका, धनकुटाको आहालेलगायत क्षेत्रका व्यापारीसँग मिलेमतो गरेर बेसारमा खुदी मिसाउने गरेको पाइएको छ। उनीहरुले खुदीसँगै फुड कलर पनि मिसाएर बेसार बिक्री गर्दै आएका थिए।

सञ्चालक श्रेष्ठले भने आफूले मिल मात्र चलाएको र व्यापारीहरुले नै खुदी, फुड कलर ल्याएर पिसाउन भन्ने गरेको बताउने गरेका छन्। अनुगमन समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले मिल सञ्चालक र व्यापारीले बेसारमा खुदी मिसाएर अपराध गरेको र तत्कालको लागि कानुनी प्रावधान अनुसार २ लाख जरिवाना गरिएको बताए।

मिल सञ्चालक र व्यापारीले पुनः यस्तो गैरकानुनी कार्य गरेमा थप कडा कानुनी कारबाही गर्ने र मिल नै सधैंको लागि बन्द पनि गराउन सकिने उनले बताए।

प्रकाशित: ११ आश्विन २०८० ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App