२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

जिल्ला अदालतका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

बनेपा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलमा कार्यरत नायव सुब्बा राजेन्द्र खत्रीलाई एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सोमबार अपराह्न नियन्त्रणमा लिएको छ ।
    जिल्ला अदालतमा दायर सवारी अंगभंग मुद्दाका अभियुक्तलाई बढी कैद सजायको त्रास देखाउँदै परिवारसँग घुस लिएर बा५७प ६९०८ को स्कूटरको डिक्कीमा राख्दै गर्दा रकमसहित खत्रीलाई धुलिखेल बसपार्कबाट टोलीले नियन्त्रणमा लिएको हो ।
सवारी अंगभंगमा मुद्दा खेपिरहेका छोरा सुदीप दुलाललाई बढी कैद सजाय हुने त्रासले सिन्धुपाल्चोक, साँगाचोकका डोलप्रसादले सो रकम खत्रीलाई घुस दिएका थिए ।    
भदौ १६ गते भुम्लु गाँउपालिकामा बा३ख ८६०४ नम्बरको मिनी ट्रिपर र बा१५च ३५६८ नम्बरको जिप एक आपसमा ठक्कर खाँदा जिपमा सवार चालक पूर्णबहादुर पाण्डे र प्रदीप शिवाकोटी घाइते भएका थिए । घटनामा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी अंगभंमा मुद्दा दायर गरेको थियो ।
दुलाल परिवारकै उपचार खर्चमा घाइते दुवै डिस्चार्ज भएका थिए । दुवैले जिल्ला प्रहरी कार्यालयमा ‘पीडकबाट उपचार पायौं,’ भनेर ठाडो कागज गरिदिएका थिए । तर, नासु खत्रीले चालक सुदीपलाई ८ वर्ष जेल पठाउने कि एक लाख २५ हजार दिएर छुटाउने भन्दै पटक–पटक फोन गरेर पैसा मागेपछि दुलाल परिवार अख्तियार गुहार्न पुगेका थिए ।
अख्तियारलाई घटनाबारे सबै जानकारी गराएपछि सुदीपका बाबु डोलप्रसाद रकम लिएर खत्रीलाई दिन भनि धुलिखेल आएका थिए । रकम लिएर स्कूटरको डिक्कीमा राख्दै गर्दा अख्तियार टोलीले खत्रीलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनी केही परसम्म भागेका थिए । पछि, टोली र प्रहरीले घेरा हालेर खत्रीलाई नियन्त्रणमा लिएको हो ।
‘मैले पनि मेरो कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको भन्ने समाचारमा सुनेको हुँ । तर, घटना अदालत परिसरमा भएको होइन, बाहिरै भएको रहेछ,’ स्रेस्तेदार कृष्ण अधिकारीले भने ।
उता, न्यायाधीश श्यामसुन्दर अधिकारीको आदेशबाट सोमबार नै पाँच हजार रुपैयाँ धरौटीमा सुदीप रिहा भएका छन् ।    

 

प्रकाशित: २४ आश्विन २०७४ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App