१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जलहरी अनुसन्धान विथोल्न अनेक प्रपञ्च

पशुपतिको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया टुंगोमा पुग्नै लागेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले छानबिनबाट जोगिन विभिन्न प्रयास गरिरहेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी प्रकरणलाई टुंगामो पुर्‍याई मुद्दा दर्ता गर्ने तयारी भइरहेका बेला सम्भावित मुद्दाबाट जोगिन उनीहरूको शक्ति केन्द्रसँग दौडधुप सुरु भएको छ। उनीहरूले राष्ट्रपति कार्यालयदेखि संसद् सचिवालयसम्म गुहारेको पाइएको छ।

छानबिन प्रभावित पार्न विकास कोषका सदस्यसचिव मिलन थापाले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसद् सचिवालयलाई चिठी लेखी आफू निर्दोष भएको दाबी गरेका छन्। यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न उनले माग गरेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा पशुपतिको गर्भगृहमा जलहरी राखिएको भन्दै उनले चिठीमार्फत भनेका छन्, ‘सुनको जलहरी एक सय आठ केजीको राख्ने योजना अनुसार नेपाल राष्ट्र बैकबाट सुन खरिद गरिएको थियो। जसमा सुन खरिद गर्ने प्रक्रियादेखि जलहरी राख्ने कार्य पुरा नहुन्जेल नेपाल सरकारका सम्पूर्ण सुरक्षा निकायको सहभागिता रहेको थियो। जलहरी बनाउँदै जाँदा ९६ केजी आठ सय २२ ग्रामको जलहरी निर्माण भयो भने बाँकी सुन जलहरीमाथि सुनको पेटी बनाएर राखिएको थियो।’

नेपाली सेनाको रोहवर र निगरानीमा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको प्रत्यक्ष सुरक्षा, सिसी क्यामेराको निगरानीमा र पशुपतिनाथका भण्डारीहरू, मुलभट्ट लगायतका अन्य पशुपतिका भट्टहरू, तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाल, पर्यटन सचिव यादव कोइराला, तत्कालीन कोषका सदस्यसचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा, परिषद् सदस्य भगवतीनी देवलगायत सबै परिषद्का सबै सदस्यले जलहरी राख्ने कार्य सम्पन्न गरेको चिठीमा उल्लेख छ।

आधा केजी सुन पुगेन

अख्तियार स्रोतका अनुसार छानबिनको क्रममा पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा आधा केजीभन्दा बढी सुन पुगेको छैन। तर, आयोगका पदाधिकारीहरू यसबारेमा आधिकारिक रूपमा केही बोल्न चाहँदैनन्। विकास कोषका पदाधिकारीले भने एक सय ८८ ग्राम मात्र सुन नपुगेको दाबी गरेका छन्।

विकास कोषका एक कर्मचारीले दाबी गरे, ‘गर्भगृहमा राखिएको जलहरी, रिङ र पेटीसमेत  जोड्दा एक सय सात केजी आठ सय सात ग्राम सुनको परिमाण भेटिएको छ। जम्मा एक सय ८८ ग्राम सुन मात्र पुगेको छैन। नपुगेको यो परिमाणको सुन जर्ति जोड्दा पनि निस्कन्छ। ती कर्मचारीका दाबी छ, ‘जर्ति र धुलो जोड्यौं भने एक सय ८८ ग्राम हुन्छ। गर्भगृहमा जलहरी राखेको डेढ वर्ष पूरा भएको छ। दिनदिनै पुजा भइरहेको छ। यसमा एक सय ८८ ग्राम जर्ति निस्कनु स्वभाविक हो।’

जलहरीमा चाँदी, तामा र जिंक मिसाइएको छ। चाँदी र जिंक सिमाइएकाले जलहरीमा प्रयोग गरेको सुन २२ क्यारेट भएको दाबी गरिएको छ। कोषका पदाधिकारीहरूले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा एक सय आठ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग गरी बाँकी गायब बनाएको आरोप कोषका पदाधिकारीमाथि लागेको छ। सुनको जलहरीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपतिमै गएर नापजाँच गरिसकेको छ।

आयोगले गत असारमा पशुपति क्षेत्र खाली गराइ जलहरी निकालेको थियो। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा जलहरीमा अनियमितता भएको उल्लेख छ। यो विषय अख्तियारमा पुगेपछि उसले छानबिन थालेको हो।

‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट एक सय तीन किलो सात सय ७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरिएको छ। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा दुई किलो आठ सय ९० ग्राम, चाँदी एक किलो दुई सय ४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी एक सय सात किलो नौ सय २४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो आठ सय २२ ग्राम रहेको र बाँकी सुन १० किलो नौ सय ७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ। 

प्रकाशित: ८ आश्विन २०८० ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App