३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दसैं-तिहारअगावै कर्णालीमा सहुलियत चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेतस्थित गोदाममा मौज्दात चामल।

दसैं–तिहार लगायत ठूला चाडपर्वमा यस वर्ष कर्णालीको मुगुस्थित तिन्जे वितरण केन्द्रबाहेकका ठाउँमा सहुलियतको चामल अभाव नहुने देखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयका अनुसार उत्तरी डोल्पाका डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाबाहेक अन्य ठाउँमा सहुलियतको चामल अभाव हुने छैन।

‘खाद्यान्न ढुवानीको ठेक्का प्रक्रियामै छ। हामीले कर्णालीमा खाद्यान्न पठाइरहेका छौं’, प्रादेशिक कार्यालय प्रमुख मानव मिश्रले भने, ‘यो वर्ष तिन्जे वितरण केन्द्रबाहेकका ठाउँमा खाद्यान्न अभाव हुँदैन।’ तिन्जे वितरण केन्द्रमा चालु आर्थिक वर्षका लागि चार हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयले काठमाडौंबाटै चीनको बाटो भएर तिन्जे पुर्‍याउनुपर्ने छ। चीनले हुम्लाको हिल्सा नाका खुला गरे पनि डोल्पा नाका अहिलेसम्म खुला भएको छैन।

कार्यालयका अनुसार तीन वर्षपछि काठमाडौं हुँदै चीनको बाटो भएर हिल्सा नाकाबाट हुम्लामा चार हजार क्विन्टल खाद्यान्न पुगेको छ। अघिल्लो आर्थिक वर्षका लागि निर्धारण गरिएको खाद्यान्न अघिल्लो साता हुम्ला पुगेको हो। यो वर्षको दसैं–तिहारमा हुम्लाका उत्तरी क्षेत्रका नागरिकले चामल अभाव झेल्नुपर्ने छैन।

हुम्लामा हाल २३०० क्विन्टल खाद्यान्न मौज्दात छ। पाँच सय क्विन्टल खाद्यान्न चीनबाट हिल्सा नाका भित्रिएको छ भने सुर्खेतबाट लगिएको ५० क्विन्टल खाद्यान्न कर्णाली करिडोरको बाटो भएर सल्लीसल्ला पुगेको छ।

मुगु सदरमुकामको खाद्य डिपोमा दसैं–तिहारका लागि दुई हजार ७० क्विन्टल खाद्यान्न मौज्दात छ। मुगुकै सोरु डिपोमा एक सय क्विन्टल खाद्यान्न मौज्दात छ। मौज्दातमध्ये एक हजार चार सय ७० क्विन्टल खाद्यान्न चालु आवको कोटा हो। यो खाद्यान्न सुर्खेत डिपोले मुगु पुर्‍याएको हो।

यस्तै जुम्लामा दसैं–तिहारका लागि दुई हजार ८० क्विन्टल खाद्यान्न मौज्दात छ। केही दिनमै एक हजार दुई सय ५० क्विन्टल खाद्यान्न स्थलमार्गबाट जुम्ला पुग्दै छ। कालिकोटमा पाँच सय तनि क्विन्टल अघिल्लै आवको खाद्यान्न मौज्दात रहेको छ। पाँच सय १० क्विन्टल खाद्यान्न सुर्खेत कार्यालयबाट जाँदै छ।

कार्यालयका अनुसार रुकुम पश्चिममा चार सय १२, डोल्पामा दुई हजार २८, सुर्खेतमा सात हजार, दैलेखमा चार सय ३९ र जाजरकोटमा ६ सय ५० क्विन्टल खाद्यान्न मौज्दात छ।

‘दसैं–तिहारलगायत ठूला चाडपर्वमा खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाएका छौं’, मिश्रले भने, ‘यो वर्ष डोल्पाको उत्तरी क्षेत्रबाहेक सबै जिल्लामा खाद्यान्न समस्या हुने छैन।’

उनले जिल्ला सदरमुकामको डिपोमा स्टक रहेको खाद्यान्नलाई स्थानीय डिपोहरूमा पठाउने काम भइरहेको बताए। ‘स्थानीय तहसँग समन्वय गरेर जिल्ला सदरमुकामका डिपोबाट सहायक डिपोहरूमा खाद्यान्न पुर्‍याउने काममा हामी लागेका छौं’, उनले भने, ‘१० दिनभित्रमा सबै डिपोहरूमा खाद्यान्न पुगिसक्छ।’

उनले दसैं–तिहारका लागि कति खाद्यान्न आवश्यक पर्छ भनेर सम्बन्धित जिल्लाबाट आएको अनुमानित सूचीका आधारमा पछि भुक्तानी दिने गरेर खाद्यान्न ढुवानी भइरहेको बताए। ‘ठेक्का स्वीकृत भएर खाद्यान्न ढुवानी गर्दा दसैंमा हामीले डिपोहरूमा खाद्यान्न पुर्‍याउन सक्ने अवस्था रहँदैन’, उनले भने, ‘त्यसैले ढुवानीकर्तालाई ठेक्का स्वीकृत हुँदाको दररेटका आधारमा रकम भुक्तानी गर्ने गरेर अहिल्यै खाद्यान्न पठाइरहेका छौं।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आवका लागि विभिन्न जिल्लाको खाद्यान्नको कोटा निर्धारण गरेको छ। मुगुका लागि ३३ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ। मुगुमा सुर्खेत र नेपालगञ्जबाट खाद्यान्न ढुवानी हुन्छ।

यस्तै जुम्लाका लागि १० हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ। जुम्लामा नेपालगञ्ज, राजापुर (बर्दिया) र सुर्खेतबाट खाद्यान्न पुर्‍याइन्छ।

हुम्लाका लागि चालु आवका लागि १५ हजार दुई सय ५० क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ। चीनसँग सीमा जोडिएका हुम्लाका उत्तरी नाकाका लागि काठमाडौं–केरुङ हुँदै चीनको बाटो भएर खाद्यको चामल आइपुग्छ। अन्य ठाउँका लागि सुर्खेतसहित कैलालीको धनगढी र टीकापुर, बर्दियाको राजापुर र मुगु सदरमुकामबाट खाद्यान्न पुर्‍याउने गरिएको छ।

डोल्पाका लागि यो वर्ष १७ हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ। चीनसँग सीमा जोडिएका क्षेत्रका लागि काठमाडौं–केरुङ हुँदै खाद्यान्न पुर्‍याउने गरिएको छ। यद्यपि चीन सरकारले डोल्पासँग सीमा जोडिएका नाका खुला नगर्दा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ। बाँकी स्थानका लागि दाङको तुलसीपुर, सुर्खेत, नेपालगञ्ज र जुम्ला सदरमुकामबाट खाद्यान्न पुर्‍याउने गरिएको छ।

चालु आवका लागि कालिकोटमा १२ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ। यहाँ नेपालगञ्ज, राजापुर र सुर्खेतबाट खाद्यान्न ढुवानी हुन्छ। रुकुम पश्चिमका लागि तीन हजार क्विन्टल खाद्यान्न कोटा छुट्ट्याइएको छ।

यहाँ दाङको तुलसीपुर र नेपालगञ्जबाट खाद्यान्न ढुवानी गरिन्छ। जाजरकोटका लागि १० हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ। यहाँ सुर्खेतसहित नेपालगञ्ज र राजापुरबाट खाद्यान्न ढुवानी हुन्छ। दैलेखका लागि ६ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ।

सुर्खेतका लागि यो वर्ष ३५ हजार क्विन्टल खाद्यान्न कोटा छुट्ट्याइएको छ। सुर्खेतमा झापाको बिर्तामोड, मोरङको विराटनगर, जनकपुर, नेपालगञ्ज, राजापुर, धनगढी, टीकापुर, वीरगञ्ज, लहान र भैरहवाबाट खाद्यान्न ढुवानी हुन्छ।

प्रकाशित: ७ आश्विन २०८० ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App