८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जयेन्दु बाल सुधार गृह घटना :सुधार गृहमै लागु औषध कारोबार

जयेन्दु बाल सुधार गृहमा भएको तनावग्रस्त परिस्थितिलाई नियन्त्रण गर्दै प्रहरी । तस्विरः गणेश/नागरिक

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।झडप हुनुको प्रमुख कारण, गाँजा र लागुऔषध थियो।

बाल सुधार गृहमा गाँजा र लागुऔषध सेवन बढ्दै गएपछि यहाँ दुई समूहबिच बेलाबेला झडप हुँदै आएको छ।बुधवार राति ९ बजेतिर पनि गाँजा, लागुऔषध खाने समूह र अर्को समूहबिच झडप भएको प्रहरीले जनाएको छ।उक्त झडपमा रुपन्देहीका १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको छ।

पछिल्लो समय बाल सुधार गृहमा गाँजा, लागु औषधसमेत सेवन बढ्दै गएको जयेन्त बाल सुधार गृहकी प्रमुख विमला काउचा मगरले जनाइन्।‘सुधार गृहमा रहेकाले पहिला पहिला गाँजा मात्रै खाँदै आएका थिए,’ उनले भने, ‘अहिले त लागुऔषध पनि सेवन गर्दै आएका छन्।’ ‘पर्खाल बाहिरबाट उनीहरूका सम्पर्कमा रहेका व्यक्तिले भित्र पु¥याइदिन्छन्,’ उनले भन्छिन्, ‘प्रहरीले रोक्न खोज्दा प्रहरीलाई नै घेराबन्दी गर्छ ।’

लागुऔषध सेवनकर्ताले बाल सुधार गृहको वातावरण नै खलबल्याइ दिएको उनको भनाइ छ ।

सुरक्षाकर्मीको निगरानी कम हुँदा पनि बाल गृहमा लागुऔषध प्रयोग भएको बाल सुधार गृहमा भएकाका आफन्तहरुले बताएका छन्।बिहीबार झडपपछि आफ्ना छोरा भेट्न आएका तीर्थराज तिमिल्सिनाले भने, ‘झगडाको प्रमुख कारण नै लागुऔषध हो।’बाल सुधार गृहमा लागुऔषध कसरी ओसारपसार हुन्छ यस विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ। ‘बालबालिका सुधार होलान् भनेर बाल सुधार गृहमा पठाइन्छ,’ उनले भने, ‘उल्टै लागुऔषध सेवन गरेर थप आपराधिक क्रियाकलाप गर्लान भनेर यहाँ (बाल सुधार गृहमा) पठाइँदैन।’ यस्तो अवस्थाले बालबालिका उल्टै कुलतमा फस्ने गरेको उनले जनाए।

बाल सुधार गृह प्रशासन र प्रहरीको लापरबाहीका कारण बाल सुधार गृहमा भएकाले लागुऔषध प्रयोग बढ्दै गएको नवीन बुढाथोकीले जनाए।‘बाल सुधार गृहमा प्रहरी प्रशासनको निगरानी हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि कसरी भित्रै लागुऔषध प्रयोग बढ्छ।’ उनले प्रहरीको मिलेमतोमा लागुऔषध प्रयोग बढेको आरोप लगाए।बाल सुधार गृहमा रहेकाहरूले लागुऔषध सेवन गरेर भाँडभैलो गरेको कुरा प्रहरीले पनि स्वीकार गरेको छ।

बुधवार साँझदेखि तनाव सिर्जना भएको थियो।बिहीबार करिब ३ बजेतिर स्थिति नियन्त्रणमा आएको थियो । बाल सुधार गृहमा भएकाहरूले झ्याल, ढोकालगायतका संरचनामा तोडफोड गरेका छन्। झ्यालमा फुटेका सिसाहरूले प्रहरी माथि समेत उनीहरुले आक्रमणको प्रयास गरेका थिए।एक अर्को पक्षले आफूहरूलाई आक्रमण गरेपछि जाइलागेको दुवै पक्षले दाबी गरेका छन्।

यस विषयमा प्रहरीले थप अनुसन्धानसमेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाए । बाल सुधार गृहमा १८ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरू हुँदा पनि स्थिति थप तनाव ग्रस्त भएको उनको भनाइ छ।बाल सुधार गृहकी प्रमुख काउचा मगरका फरार रहेका २५ जना नियन्त्रणमा आएका छन् भने करिब नौ जना फरार रहेको उनको भनाइ छ। 

प्रकाशित: ५ आश्विन २०८० ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App