७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर अान्दोलन असर : बाजुराका बेखर्ची सबल दमाई छट्पटिँदै

भरतपुर क्यान्सर अस्पतालको अब्जरभेसन बार्डमा बिरामी छोरासँगै बाजुराका सबल दमाइ। तस्विरः रमेश

चितवन—सबल दमाई बाजुराको जगन्नाथ, हुनी घर भएका ४० वर्षीय विपन्न व्यक्ति हुन्। उनी पाँच दिनयता चितवनको भरतपुर क्यान्सर अस्पताल हातामा यता उता ओहर दोहर गर्दै दिन बिताएका हुन् । साढे तीन वर्षको छोरा नोकेन्द्रलाई क्यान्सर भएको छ । उपचारका लागि जुन दिन अस्पताल छिरे त्यही दिनदेखि चिकित्सकले बिरामी हेर्न बन्द गरे । सरकार विरुद्ध चिकित्सकले गरेको आन्दोलनले उनलाई पिडामाथि पिडा थप्यो ।

‘डाक्टरहरुले हरिताल (हड्ताल) गरेका रहेछन् । छोरो भित्र बिछ्यौनामा लडेको लड्यै छ । कुन दिन हेर्ने हुन्, केही थाहा भएन’ सबलले भने । बाजुराको विकट गाउँबाट आएका उनीसँग खल्तीमा भएको थोरै पैसा सकिँदै छ । उनको नाजुक अवस्था देखेर अस्पतालकै केहीले सर सहयोग पनि गर्न थालि सके । तर छोराको उपचार सुरु नहुँदा उनी निकै छटपटिएका छन् ।

‘अब म अहिले यत्तिकै दशैं मान्न घर गए भने फेरि आउन समस्या छ । आउला नआउला थाहा छैन । त्यसैले कुरेरै उपचार गराउँ भनेर बस्न खोजेको छु’ उनले भने ।

‘बाजुराबाट नेपालगञ्ज ल्याए । त्यहाँबाट काठमाडौं लगे । काठमाडौंमा पहिले कान्ति वाल अस्पताल र त्यसपछि बीरमा लगे । बीरमा टाउँकोमा ट्युमर पलाएको छ क्यान्सर भएको छ भन्यो । बीर अस्पतालमै अप्रेशन (शल्यक्रिया) भयो । त्यसपछि यहाँ आएको हो’ सबवलले भने । रेडियोथेरापी दिन वीर अस्पतालले उनलाई भरतपुर क्यान्सर अस्पताल पठाएको हो । 

अहिले उनको छोरा अस्पतालको अब्जरभेसन बार्डमा छन् । सिकिस्त भएको बिरामीलाई केही समयका लागि मात्रै सो बार्डमा राख्ने हो । ‘तर डाक्टरलाई देखाउनै पाइएन । बाहिर होटलमा लगेर राखौं खर्च छैन । टिो बाहिर जाउ नभनेका हैनन् तर म पाँच दिनदेखि यही छु’ सवलले भने । छोराको टाउको चिरेर सिलाएको डोब अझै प्रष्ट देखिन्छ । छोराले टाउको राम्रोसँग उठाउन सक्दैनन् । त्यसैले सुति रहने छोरा कुर्दै बसेका छन् उनी।

‘नेपालगञ्जका दुई र काठमाडौंका दुई अस्पतालमा उपचार गर्दा मेरो डेढ लाख रुपैयाँ खर्च भयो। अहिले त गोजीमा खाना खाने पैसासमेत सकिन लाग्यो । तर छोराले डाक्टर देख्नै पाएन’ सबलले भने । आफ्नो साथमा पैसा नभएको गुनासो गरेपछि अस्पतालका नर्सहरुले उठाएर १५ सय रुपैयाँ दिएको उनले बताए । मागेरै खाना खानु पर्ने अवस्थामा छोरोको उपचार सुरु नहुँदा उनी निकै दुखित छन्।

‘डाक्टरले मेरो बिरामी छोरालाई कहिले हेर्ने हुन् ? हेरेपछि दुबाई (औषधि) पानीले ठिक हुने हो वा होइन । दुबाई किन्न पनि पैसा नै लाग्ने होला । के कति लाग्ने हो’ सबलले पिडा पोखे । दशैंको दिन नजिकै आउँदा उनी घरदेखि पर बिरामी छोरोसँग छन् । घरको सम्झना आउँदा मन पोल्छ, आडमा रहेको छोरो हेर्दा पिडा हुन्छ र उपचार सुरु नभएका कारण रुनै मन लाउँछ भन्छन उनी।

घर जान नेपालगञ्जबाट जहाज चढे १० हजार रुपैयाँ खर्च हुन्छ भन्छन् । खर्च जोगाउन जहाज नचढेर बसमा गए दुई दिन हिँड्नु पर्छ भन्छन् । ‘अब म अहिले यत्तिकै दशैं मान्न घर गए भने फेरि आउन समस्या छ । आउला नआउला थाहा छैन । त्यसैले कुरेरै उपचार गराउँ भनेर बस्न खोजेको छु’ उनले भने ।

सामान्य खेती किसानी गरेर गुजारा गरेका सबलले दशैंको बेलामा कपडा सिलाउने काम पनि पाउँथे। तर छोरा बिरामी भएपछि उनी पाँच महिनादेखि घर छाडेर नेपालगञ्ज र काठमाडौंमा हिँड्नु प¥यो । ‘अब त घरमा तेल भुटुन किन्ने पैसा पनि छैन होला। त्यसैले मागेरै भए पनि छोराको उपचार गर्छु भनेर बस्या छु । हेरौं उपचार गराएर ठिक भएको छोरो घर लान्छु कि लाश लान्छु’ सबलले आँशु झार्दै भने। 

 

प्रकाशित: १० आश्विन २०७४ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App