८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ।  

पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने योजना अघि बढाइएको हो। नमूना विद्यालय बनाउनका लागि पाँचवटै विद्यालयले पञ्चवर्षीय प्रस्ताव उपमहानगरमा पेस गरेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

प्रस्ताव आएका सामुदायिक विद्यालयको उपमहानगरले अनुगमन गरिसकेको जनाइएको छ। पहिलो चरणमा धनगढी उपमहानगरपालिका–९ स्थित भवानी मावि, वडा नं.११ स्थित ठेकराज मावि, वडा नं.१२ स्थित सिद्धनाथ मावि, वडा नं. १६ स्थित बेहडाबाबा मावि र वडा नं. १८ को चन्द्रोदय माविलाई नमूना विद्यालयका रुपमा अघि बढाइने उनले जानकारी दिए।

नमूना विद्यालय विकासको प्रस्ताव उपमहानगरमा पेस भएकाले ती अध्ययन भइरहेको छ। विद्यालयले पेस गरेको प्रस्तावमा आवश्यक सुधार गरेर अगाडि बढ्ने योजना रहेको जनाइएको छ। धनगढी उपमहानगरपालिकाले नमूना विद्यालयले पठनपाठनको भाषा अङ्ग्रेजी बनाउने, शैक्षिक गुणस्तर कायमका लागि निःशुल्क शिक्षा शिक्षकहरूको क्षमता विकास गर्न शिक्षक तालिमको व्यवस्था गर्ने र अपुग शिक्षक उपमहानगरले नै भर्ना गर्ने योजना रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।  

पठनपाठन गुणस्तरीय बनाउने जिम्मा मात्रै विद्यालय र शिक्षकले लिनुपर्नेछ भने प्रविधिक तथा आर्थिक सहयोग उपमहानगरपालिकाले ब्यहोर्नेछ। नमूना विद्यालयका लागि छनौटमा परेका विद्यालयमा शैक्षिकसत्र २०८१ देखि नमूना विद्यालय कार्यक्रम लागु हुनेछ। गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय सुधारको योजना ग्रामीण क्षेत्रबाट सुरु गरिएको उपमहानगरले जनाएको छ। रासस

प्रकाशित: २ आश्विन २०८० ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App