३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हुलाक पार्सलमा अमेरिकी गाँजा

आकाश मार्गबाट नेपाल भित्रिन्छ, स्थल मार्ग हुँदै भारत पुग्छ

गाँजासहित पक्राउ गरिएको भारतीय ट्रक। तस्बिर: नागरिक

गाँजाको उत्पादन एवं प्रयोग नेपाल, भारतलगायतका दक्षिण एसियाली देशमा प्रतिबन्धित छ। प्रतिबन्धित भए पनि विश्व लागुऔषध बजारको ठुलो हिस्सा यही क्षेत्रमा उत्पादन भएको गाँजा र त्यसबाट बन्ने चरेसले लिएको जानकार बताउँछन्। यस्तो तथ्य हुँदाहुँदै पनि सबैलाई चकित पार्नेगरी अहिले अमेरिका, क्यानडा तथा युरोपेली देश (पश्चिमा देश) मा उत्पादित गाँजा दक्षिण एसियाली मुलुकमा भित्रिन थालेको छ। २०७६ सालयता ‘पार्सल’ का नाममा आकाश मार्ग हुँदै नेपाल भित्रिएको गाँजा स्थल मार्ग भएर भारत पुगेको प्रमाण फेला परेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार २०७६ कात्तिक  ४ गते पहिलोपटक क्यानडाबाट आएको  गाँजा नेपालमा बरामद भएको थियो। त्यसयता अमेरिका, बेलायत र नेदरल्यान्डबाट गरी १४ पटक नेपाल भित्रिएको गाँजा–चरेस बरामद भएको छ।

खेलौना र चकलेट भन्दै ‘पार्सल’ यही भदौ १९ गते अमेरिकाबाट गोस्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल (बक्स) भित्र गाँजा रहेको सूचना प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पायो। उक्त पार्सल गोस्वारा हुलाक हुँदै जिल्ला हुलाक कार्यालय पर्सा गयो। प्रहरी पछ्याउँदै वीरगन्ज पुग्यो। पार्सल लिन भदौ २४ गते वीरगन्ज–१६ का डल्लुराम र हबिब मियाँ जिल्ला हुलाक कार्यालय पुगे।

त्यसैबेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उक्त पार्सलमा ९०० ग्राम गाँजा भेटिएको ब्युरोले जनाएको छ।

यस्तै भदौ २४ गते अमेरिकाबाट गोस्वारा हुलाक कार्यालय डिल्लीबजारमा एउटा पार्सल आयो। जिल्ला हुलाक कार्यालय कास्कीका लागि आएको उक्त पार्सल जाँच गर्दा एक किलो ४०० ग्राम गाँजा फेला पर्‍यो। ब्युरोको टोलीले उक्त पार्सल गन्तव्य (पोखरा) तर्फ पठाउन लगायो। भदौ २५ गते उक्त पार्सल लिन कास्की हुलाकमा भारतीय नागरिक २४ वर्षीय अजिन भर्गस पुगे। त्यसैबेला ब्युरोको टोलीले भर्गसलाई पक्राउ गर्‍यो। त्यसपछि ब्युरोको टोलीले भर्गसको डेरामा समेत छापा मार्दा थप ७२० ग्राम गाँजा बरामद भएको जनाएको छ।

भदौ २४ गते नै अमेरिकाबाट गोस्वारा हुलाक कार्यालय डिल्लीबजारमा ९३९ ग्राम गाँजा रहेको अर्को पार्सल पनि आयो। उक्त पार्सल बुझ्न गोस्वारा हुलाक कार्यालय पुगेकी गन्यापधुरा–१ डडेलधुराकी ३९ वर्षीया रेनुका तामाङ पक्राउ परेको ब्युरोले जनाएको छ। तामाङसँगको बयानका आधारमा थप दुई भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अरूण कुमार र मोहमद नइम छन्।

अमेरिकासहित पश्चिमा देशबाट विभिन्न व्यक्तिका नाममा हुलाकमार्फत गाँजा पठाइएको हो। विदेशबाट हवाईजहाजमार्फत पार्सल आउँछन्।

गत फागुन २० गते पनि अमेरिकाको क्यालिफोर्नियाबाट बालबालिकाका खेलौना र चकलेट भनी पठाइएका फरक–फरक दुई पार्सलमा करिब ७ किलो गाँजा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शंका लागेर ती पार्सल खोलेर हेर्दा पहिलोमा साढे चार किलो र दोस्रोमा साढे दुई किलोजति गाँजा भेटिएको थियो। तर प्रहरीले पार्सललाई गोस्वारा हुलाक कार्यालय डिल्लीबजार पुग्न दियो। जहाँ पहिलो पार्सल लिन भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलम पुगे।

 दयानी उक्त पार्सल बुझ्न भारतबाट आएर ठमेलको होटलमा बसेका थिए। दोस्रो पार्सल बुझ्न गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल पुगे। उनीहरू तीनैजनालाई ब्युरोको टोलीले गोस्वारा हुलाकबाटै पक्राउ गर्‍यो।

गाँजाको गन्तब्य भारत

पश्चिमा देशबाट आकाश मार्ग हुँदै नेपाल आउने गाँजा यहाँबाट सडक मार्ग हुँदै भारत जाने गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी बताउँछन्। ‘अमेरिकी गाँजा प्रयोग गर्ने नेपाली रहेको विषयमा अहिलेसम्म कुनै पनि प्रमाण फेला परेको छैन,’ उनले भने, ‘यो हवाई रुट हुँदै हुलाकमा आउँछ। त्यहाँबाट सम्बन्धित पक्षले बुझेर सडक मार्ग हुँदै भारत पठाउँछन्। अहिलेसम्मको ट्रेन्ड यही हो।’

सडक मार्गमा स–साना पार्सलको कमै मात्र जाँच हुने भएकाले सहजै सीमापार हुने गरेको एसपी जोशी बताउँछन्।

सोझा व्यक्तिका नाममा पार्सल

हालसम्म पक्राउ परेका व्यक्ति स्वयं गाँजा प्रयोगकर्ता र कारोबारी नदेखिएको एसपी जोशी बताउँछन्। उनका अनुसार उनीहरूलाई कारोबारीले मित्रताको बहानामा गाँजा बुझ्न प्रयोग गरेको पाइएको छ। ‘भारतमा रहेका वा नेपालभित्रै रहेका कारोबारीले पहिले सोझासिधा व्यक्तिसँग दोस्ती गर्छन्,’ एसपी जोशी भन्छन्, ‘त्यसपछि त्यही मित्रताको आडमा उनीहरूको नाममा पार्सलबाट गाँजा मगाउने गरेको देखिन्छ।’

मित्रताका नाममा कारोबारी उनीहरूको परिचय खुल्ने कागजात फुत्काउँछन्। त्यही कागजातको आधारमा अमेरिकालगायतका मुलुकबाट गाँजासमेत राखेर पार्सल मगाइन्छ, आउँछ। ‘कारोबारीले मेरो पार्सल आउँदैछ। म बाहिर छु हुलाकमा गएर रिसिभ गरिदनु न भनेर साथीलाई आग्रह गर्छन,’ एसपी जोशीले भने।

किन भित्रिन्छ पश्चिमा गाँजा?

ब्युरोले किन पश्चिमा गाँजा भित्रिरहेको छ भन्ने कुरा प्रस्ट रूपमा पत्ता लगाउन सकेको छैन। यस्तै मुख्य कारोबारी र प्रयोगकर्ता भारतीय भएकाले कस्ता व्यक्तिले प्रयोग गर्छन् भन्ने पनि पत्ता लगाउन सकेको छैन। अमेरिकासहित पश्चिमा मुलुकबाट आउने गाँजाको मूल्य प्रतिकिलो ४० देखि ५० लाख भारतीय रूपैयाँसम्म हुनेगरेको खुलेको एसपी जोशी बताउँछन्।

‘अमेरिकी गाँजाको बास्ना यहाँको गाँजाभन्दा निकै कडा छ। सायद उनीहरूको उत्पादन र प्रशोधन प्रविधि निकै स्तरीय भएर स्वादमा पनि फरक होला,’ जोशीले भने, ‘त्यही भएर दुव्र्यसनीले अमेरिकी गाँजा प्रयोग गर्न थालेको हुन सक्छ।’

ब्युरोले यसबारे भारतीय प्रहरीलाई पनि जानकारी गराउँदै आएको छ। गाँजा कारोबार र ओसारपसार आरोपमा नेपालभित्र पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही गरिन्छ।

नौ क्विन्टल गाँजासहित भारतीय पक्राउ

  -गणेशदर्पण अधिकारी

चितवनबाट लोड गरी ल्याइएको नौ क्विन्टल १९ किलो अवैध लागुऔषध गाँजा सशस्त्र प्रहरी गणले नियन्त्रणमा लिएको छ। विभिन्न प्रहरी चौकी र पोस्ट कटाएर ल्याइएको गाँजालाई १४ नम्बर सशस्त्र प्रहरी गण हेटौंडाले नियन्त्रणमा लिएको हो। मकवानपुरमा बरामद भएको यो सबैभन्दा ठुलो परिमाणको गाँजा भएको बताइएको छ।

एनएल ०१ एसी २१४४ नम्बरको भारतीय ट्रकमा लुकाएर ल्याएको अवस्थाको ए ग्रेटको ४७ र बी ग्रेडको १३ पोका गरी ६० पोका गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए। बरामद भएको गाँजाको मूल्य एक करोड बढी रहेको बताइएको छ।

 ‘चितवनबाट ठुलो परिमाणको गाँजा लोड भएको छ भन्ने सूचना ४८ घन्टाअगाडि नै आएको थियो। हाम्रा तीनवटा टोलीले उक्त गाडीको निगरानी गरिरहेका थिए। प्रहरी निरीक्षकको टोली पनि रातभर खटिएको थियो’, उपरीक्षक कार्कीले भने, ‘गाडी नियन्त्रणमा लिएर पनि कहाँ लुकाएको छ भन्ने पत्ता लगाउनै चार/पाँच घण्टा लाग्यो। हामीले गाडीका विभिन्न भाग फुटाएर जाँच गर्‍यौं। रिपेयर गरेर छाड्दिने निष्कर्षमा पुगिसकेका थियौं। लम्बाइ नाप्ने क्रममा एकपट्टीको भन्दा अर्कोपट्टिको भाग दुई फिट छोटो देखेपछि फुटाएर हेर्दा गाँजा भेटिएको हो।’

ट्रकको भित्री भागमा फाँजा राखेर पुनः वेल्डिङ गरी ल्याएको अवस्थामा गाँजा फेला पारिएको उनले बताए। सशस्त्रले गाडी चालक भारतको बलरामपुर बिर्तापुरका ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूले एउटा नेपाली नाम र नम्बर दिएकाले उनीहरूका विषयमा पनि आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिइएको छ। 

प्रकाशित: १ आश्विन २०८० ००:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App