१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारी सरुवामा मनपरीतन्त्र

बिनामापदण्ड र बिनाकार्यविधि विभिन्न मन्त्रालयले आफूमातहतका कर्मचारीहरूको धमाधम सरुवा गर्न थालेका छन् । यसबाट कर्मचारी वृत्तमा असन्तुष्टि पैदा भएको छ । तर केही कर्मचारी भने खुसी भएका छन् । अहिले सरुवाको मौसम हो । सामान्यतया साउनमा एक मन्त्रालयबाट अर्को मन्त्रालय, भदौमा मन्त्रालयभित्रै एक विभागबाट अर्को विभाग, एक कार्यालयबाट अर्को कार्यालय र असोजमा विभागभित्रै एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने परम्परा छ ।

अहिले सबैजसो मन्त्रालयले कर्मचारी सरुवा गरिरहेका छन् । तर सरुवामा नियम, कानुन, परम्परा र कार्यविधि भने लागु गरिएको छैन । मन्त्री, सचिव तथा माथिल्लो तहका कर्मचारीहरूसँग निकट मानिएका कर्मचारीहरूलाई आकर्षक मानिएका कार्यालयमा पठाउने र पहुँच नभएका कर्मचारीलाई आकर्षक नदेखिएका कार्यालय तथा दुर्गम हिमाली तथा पहाडी जिल्लामा पठाउने गरिएको छ । यसबाट काम गर्ने तथा क्षमता भएका कर्मचारीहरू निरुत्साहित हुने गरेका छन् । कर्मचारी सरुवामा आर्थिक चलखेलसमेत हुने गरेको आरोप लाग्ने गरेको छ ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोेदीका पालामा कर्मचारी सरुवामा हुने अनियमितता रोक्न चक्रीय प्रणाली लागु गर्ने घोषणा गरेका थिए । साथै दुर्गमका कर्मचारी सुगममा ल्याउने र सुगमका कर्मचारी दुर्गममा अनिवार्य रूपमा पठाउने घोषणा गरेका थिए । त्यतिबेलै उनी मन्त्रीबाट बिदा भए । त्यसपछि उनको यो निर्णय अलपत्र परेको छ । यसैगरी मोदीले स्थानीय तहमा निमित्त निमिट्यान्न पार्ने प्रयाससमेत गरेका थिए । उनको पालामा धेरै हदसम्म निमित्तको घटिसकेका थिए । मोदी हटेपछि स्थानीय तहमा निमित्त थपिने क्रम फेरि बढेको छ ।

कर्मचारी सरुवामा चक्रीय प्रणाली लागु गर्ने घोषणा अधिकांश मन्त्रीहरूले गर्ने गर्छन् तर त्यस्तो प्रणाली कहिले लागु भएको पाइन्न । मन्त्रीबाट बिदा हुने बेला आफूनिकट कर्मचारीलाई आकर्षक कार्यालयमा सरुवा गर्नु परम्पराजस्तै बनेको छ । संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने, ‘मन्त्री र मन्त्रीका सचिवालयमा बस्नेहरूका लागि कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने माध्यम बनेको हुन्छ । त्यसैले सरुवामा चक्रीय प्रणाली लागु गर्ने घोषणा गर्छन् तर कहिले कार्यान्वयन गर्दैनन् ।’

केही दिनयता गृह, अर्थ, संघीय मामिला, भौतिक पूर्वाधार सहरी विकासलगायत मन्त्रालयले धमाधम कर्मचारीहरूको सरुवा गरेका छन् । भर्खरै मात्र अर्थ मन्त्रालयले ५५ जना उपसचिवसरहका कर अधिकृतको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय, ठुला करदाता कार्यालय, साना करदाता कार्यालयका कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयले ७० जना सुई (सुपरिटेन्डेन्ट इन्जिनियर), सिडिई (सिनियएर डिभिजन इन्जिनियर), डिई (डिभिजन इन्जिनियर) को सरुवा गरेको छ । जसमध्ये उपमहानिर्देशकसहित नौजना सुईको सरुवा गरिएको छ । यसैगरी सहरी विकास मन्त्रालयले गत शुक्रबार मात्र सात जना इन्जिनियरको सरुवा सहरी विकास तथा भवन निर्माण विभाग मातहतका विभिन्न आयोजनामा गरेको छ ।

प्रकाशित: ३१ भाद्र २०८० ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App