६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

८१ वर्षमा नागरिकता पाउँदा........

८१ वर्षको उमेरका काजीमानलाई नागरिकता दिँदै प्रजिअ सुनिता नेपाल। तस्बिर: अनिल भण्डारी

मुग्लानबाट बर्षौपछि आफ्नै जन्मथलो नेपाल फर्किएका एक बृद्धले ८१ वर्षको उमेर नागरिकता लिएका छन्।झन्डै ६४ वर्षअघि गाउँ छाडेर रोजगारीको खोजीमा मुग्लान गएका ८१ वर्षीय काजीमान थिङले बिहीबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ८१ वर्षको उमेरमा नागरिकता लिएका हुन्। 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको हातबाट नागरिकता पाएपछि उनले मुस्कुराउँदै नेपाली नागरिक भएकोमा गर्व लागेको बताए। नागरिकता लिए खुसी छु, उनले भने, लामो समय बाहिर बसेर आएको थिए अब नागरिकता सँगै बृद्धभत्ता पनि पाउने रहेछु, निकै खुसी लागेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उपलब्ध गराएको नागरिकता अनुसार तत्कालीन सित्तलपार्टी गाविस वडा नम्बर ६ हालको सुनकोसी गाउँपालिका ६ नम्बर वडा स्थायी ठेगाना भएका काजीमानको १९९९ साल चैत २९ गते जन्म मिति रहेको छ।

नागरिकता बनाउन र बर्षौपछि गाउँ फर्किएका काजीमानलाई आफन्त भेटाउन जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले सहयोग गरेकी थिइन्। काजीमानलाई वंशजकै आधारमा नागरिकता दिइएको प्रजिअ नेपालको भनाई छ। वडा कार्यालयको सिफारिस सहित आवश्यक कागजात अनुसार नागरिकता दिएका छौ, प्रजिअ नेपालले भनिन्। सिन्धुलीको सुनकोसी गाउँपालिका ६ गहुँ खर्क घर बताउने काजीमान १४ वर्षको उमेरमा घरमा बुबाले भैँसी बेचेर राखेको पाँच सय रुपैया झिकेर सिन्धुलीबाट हिँडेरै धनुषा पुगेका थिए त्यहाँबाट गाडीमा यात्रा गरि विराटनगर पुगेर केही वर्ष आफन्तकोमा बसेको उनी सुनाउँछन्।

केही वर्षको विराटनगर बसाई पछि भुटानमा रोजगारी गरि बसेको र पछि भारतको पश्चिम बङ्गाल लगाएका ठाँउमा काम गरेर समय बितेको बताउँछन्। यताबाट जाँदा पाँच सय रुपैया लिएर गएको थिए तर बर्षौपछि फर्किदा समेत रित्तो हात फर्किए उनले भने लाउ लाउ र खाउ खाउ भन्ने उमेर उत्तिकै बित्यो। जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन कुरेर बसेका काजीमानले परदेशको कथा सुनाउँदै भने भुटानको फुन्चोलिग भन्ने स्थानमा दैनिक दुई सय पचास रुपैयाँमा कारखानामा काम गरेको हुँ। पछि त्यो काम छाडेर भारतको पश्चिम बङ्गालको काल्चिनीमा पुगेर खेतीपातीको काम गर्ने गरेर बसे त्यहाँ विवाह पनि गरे तर छोराछोरी भएनन्।

विवाह गरेको १२ बर्षजति पछि श्रीमतीको मृत्यु भयो मलाई पनि रोगले च्याप्यो अनि छिमेकीको सहयोगमा नेपाल आए। बिर्तामोड आएका काजीमानलाई प्रहरीको सहयोगमा इटहरीको माया घरले आफन्तसम्म ल्याएको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन्। 

हाल उनी सौतेनी आमा पट्टिको बैनीको घरमा बस्दै आएका छन्। उनलाई नागरिकता बनाउन जिल्ला प्रशासनसम्म उनकै बहिनी चन्द्रमायाले ल्याएकी थिइन्। प्रजिअ नेपालले नागरिकता दिएसँगै चन्द्रमाया पनि खुसी भएकी छन्। ढिलै भए पनि दाइ नेपालको नागरिक भएको भन्दै खुसी व्यक्त गरिन्। जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख कार्कीले आफ्नै रोहबरमा आवश्यक कागजात जुटाई नागरिकता दिलाउन सहयोग गरेको बताइन्। नागरिकता पाएपछि वृद्ध भत्ता आउँछ, उनले भनिन् काजीमानको बहिनीलाई पनि काजीमानको पालनपोषण र औषधि उपचारमा सहज हुन्छ। 

प्रकाशित: ३० भाद्र २०८० १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App