७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डग्जिम अर्थात् कुकुर र स्यालको ‘क्रस ब्रिडिङ’

यस्ताे पनि !

स्याल, फ्याउरो, ब्वाँसो, कुकुरहरूको पुर्खाहरू एउटै मानिन्छ। तिनीहरू समयक्रमसँगै एकअर्कासँग छुट्टिदै गएको पशुविज्ञहरू बताउँछन्। यिनको ‘क्रस ब्रिडिङ’ भएका कारण ती जनावरहरू एकअर्काबाट भिन्न हुँदै गएको विश्वास विज्ञहरूको छ। तर के अहिलेको आधुनिक जमानामा कुकुर र स्यालबाट छाउरा छाउरी जन्माउन सम्भव छ ? प्रयोगशालामा यो सम्भव पनि होला तर जंगलमा प्राकृतिक रूपमा नै तिनको जन्मने सम्भावना कति हुन्छ ? यतिबेला ब्राजिलका वैज्ञानिकहरू यही गुत्थी सुल्झाउन लागिपरेका छन्।

सन् २०२१ मा ब्राजिलको जंगली क्षेत्रमा एउटा कारले कुकुरजस्तो जनावरलाई घाइते बनायो। त्यसपछि कारधनीले कुकुरलाई हतारहतार पशु अस्पताल पुर्याए।  

यो जनावर हेर्दा कुकुरजस्तो तर यसअघि कहिल्यै नदेखिएको प्रजाति फेला पारेपछि चिकित्सामा सहभागी डाक्टरहरूले चासो दिन थाले। वास्तवमा यसको आकृति कुकुरजस्तो भए पनि व्यवहार भने स्यालजस्तो देखिएपछि डाक्टरहरू चकित भए। पछि यस जनावरबारे चासो बढ्दै जाँदा अध्ययनमा अन्य वैज्ञानिकहरू पनि जोडिन थाले।

वैज्ञानिकहरूको पछिल्लो जाँचअनुसार यो कुकुरजस्तो देखिने प्रजातिलाई कुनै स्यालले जन्माएको हुनुपर्ने विश्वास गरिएको छ। यो जनावरमा कुकुर र स्याल दुवैको जिन फेला परेको छ। तर जुन कुकुरको जिन फेला परेको छ, उक्त घरेलु कुकुरको प्रजाति के थियो भन्नेबारे वैज्ञानिकहरूमा अझै अन्योल छ। कुनै स्याल र कुकुरले जन्माएको प्राणी आधुनिक इतिहासमा यो पहिलो उदाहरण भएको वैज्ञानिकहरूको विश्वास छ।

वैज्ञानिकहरूले यसको नाउँ ‘डग्जिम’ राखेका छन्। डग्जिमलाई हेर्नेबित्तिकै कुकुर र स्याल दुवैको झल्को आउँछ। यसले कुकुरले खाने घरेलु खान्की नखाने बरु जिउँदा मुसा पाए स्वाद मान्ने गरेको वैज्ञानिकहरू बताउँछन्। मान्छे देख्दा शुरुमा अधैर्य हुने तर समयक्रममा न्यानो मान्ने गरेकोसमेत वैज्ञानिकहरूले पाएका छन्। जंगली जनावरमा पाइने आक्रामकता पनि यो जनावरमा नदेखिएको उनीहरूको भनाइ छ ।  

कुकुरमा ७८ क्रोमोजम पाइन्छन्। त्यस्तै स्यालहरूमा ७४ क्रोमोजम पाइन्छन्। यसमा भने ७६ क्रोमोजम देखिएको छ। यस हिसाबले कुकुर र स्यालले बच्चा जन्माए भने भने ७६ वटा क्रोमोजम हुने वैज्ञानिकहरूको दाबी छ। यसको डिएनए जाँच गरी हेर्दा डग्जिमको शरीरमा स्याल र कुकुरको मिश्रित पाइएको एनिमल जर्नलमा प्रकाशित छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ भाद्र २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App