३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुन तस्करीको अनुसन्धान माओवादी नेता र कार्यकर्ताको वरपर घुम्यो मात्र

राजश्व अनुसन्धान विभागले बरामद गरेर सुरु गरेको सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मेवारी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) दियो। यसको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तीव्र विरोध जनायो र करिब १ महिना बढी संसद् पनि अवरुद्ध गर्‍यो।

तर सरकार आफ्नो निर्णयमा टसमस भएन। अनुसन्धानको जिम्मेवारी सिआइबीलाई नै दिएर छाड्यो। यसबिचमा सिआइबीले बढे तामझामका साथ अनुसन्धान गरिरह्र्यो। आफ्ना केही अनुसन्धान अधिकृतलाई भारत पठायो त केहीलाई चीन पनि पठायो। तर कतैबाट पनि अपेक्षाकृत सहयोग पाएन। सहयोग नपाएको अनौपचारिक जानकारी भने दिइरह्यो।

सुन तस्करीमा तस्करहरूले प्रयोग गरेका संवादका माध्यम वि च्याट र ह्वाटस्एप जस्ता सामाजिक सञ्जालका सञ्चालकहरूले सूचना प्रवाहमा सहयोग नगरेको गुनासो पनि सिआइबीले गरिरह्यो।

अनुसन्धानका क्रममा सिआइबीले सुन तस्करीको घटना माओवादीका केही नेता र कार्यकर्ता वरपर घुमिरहेको सङ्केत देखा परेको तर पुष्टि गर्न नसकेको बताउँदै आएको थियो। सिआइबी स्रोतले यसअघि माओवादी नेता र कार्यकर्ता गरी ६० जना यस प्रकरणमा जोडिएको पाइएको जानकारी दिएको थियो।

यसैबिच सिआइबीले आफ्नो अनुसन्धान सकेर बुधवार सरकारी वकिलको कार्यालयमा आफ्नो प्रतिवेदन पनि बुझायो। सिआइबीका अघिल्ला अनुसन्धान र बिचबिचमा आएका सूचनाले यस पटक भने सुन तस्करीका ठुला नाइके नै पक्राउ पर्छन् की भन्ने आम नागरिकमा आशा पलाएको थियो।

तर जब प्रतिवेदन तयार गरियो त्यसमा सुरुमा भनिए जस्तो कुनै ठुलो तस्करको नाम आएन। माओवादीका नेता र कार्यकर्ताको नाम पनि कतै देखिएन। तस्करीको प्रमुख भूमिकामा बेल्जियन नागरिक छिरिङ र चिनियाँ नागरिकहरूलाई प्रस्तुत गरियो। स–सानो भूमिकामा नेपाली नागरिक संलग्न भएको तथ्य खोजेर प्रतिवादीहरू तयार गरियो।

तर सिआइबीले आफ्नो प्रतिवेदनमा एउटा ठुलो सङ्केत दिएको छ। काठमाडौँ ठमेलको होटेल भियनाका सञ्चालक दावा छिरिङ जो आफू बेल्जियन नागरिक हुन। प्रतिवेदनमा यिनलाई नै सुन तस्करीको मूल बिचौलिया बनाइएको छ। तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि खुलाइएको छैन।

तीनै बेल्जियन नागरिक दावा छिरिङसँग बिहे गरेकी माओवादी केन्द्रनिकट अमल रोकालाई भने प्रतिवादी बनाइएको छ। उनी फरार छिन्।  ‘यो अनुसन्धान निरन्तर जारी रहने भएकाले निकट दिनमा राजनीतिक व्यक्तिहरूको संलग्नता देखिए अवश्य पनि छानबिन हुनेछ,’ सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्।

उनका अनुसार सिआइबीले पाएको म्यान्डेटका आधारमा मात्रै अनुसन्धान भएको हो। ‘हामीलाई जे म्यान्डेट थियो, त्यसमा पुरापुर अनुसन्धान भएको छ। यसका कनेक्सनहरू खुलाउने र सुन तस्करीको जालो पहिल्याउने काम भएको छ। मुद्दा अदालतमा टेकाउनुपर्ने बाध्यताका कारण अहिलेलाई प्रतिवेदन बुझाइएको हो तर सङ्गठित र अन्तर्देशीय अपराधको अनुसन्धान जारी रहेकाले पछि पनि तथ्य खुल्न सक्ने धेरै बाटा र प्रमाण जुटेका छन्,’ उनले भनिन्।

अनुसन्धानका क्रममा दुवै घटनामा कतै न कतैबाट माओवादीका नेता र कार्यकर्ता जोडिएको पाइएको स्रोतहरूले यसअघिदेखि नै बताउँदै आएका थिए।

सिआइबीले सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। छिरिङले रोल्पाका माओवादी नेताको सहयोगमा काम गरेको समाचार पनि आएका थिए। उनको माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क भए÷नभएको विषयमा पनि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

सिआइबीले छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि देखिएको पाएको थियो। उनीहरूसँग किन छिरिङले सम्पर्क गरे भन्नेबारे केही खुलेको थिएन र प्रतिवेदन बुझाउने बेलासम्म पनि यस कार्यमा सिआइबी असफल भएको देखिन्छ। यस्तै ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका दाओजिन वाङको सम्पर्क पनि माओवादीका केही नेतासँग देखिएको बताइएको थियो।  

छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटेल भियनामा माओवादीका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिससमेत साझेदार रहेको तथ्य बाहिर ल्याइएको थियो। होटेलमा छिरिङ, अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिस पुन साझेदार छन्। प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, राहुल महरा, दिपेश पुन, प्रनिस पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएर केहीसँग बयान पनि लियो। यीमध्ये अमला रोका अहिले पनि फरार छिन्।

‘माओवादीका धेरै नेतासँग सोधपुछ गर्नुपर्ने देखिएको छ। पक्राउ परेका चिनियाँ नागरिकले उनीहरूको नाम लिइरहेका छन्। तर यसरी नाम लिएकामध्ये कतिलाई सोधपुछ गर्न सकिने हो, कतिलाई गर्नु नपर्ने हो अनुसन्धानकै क्रममा छ,’ सिआइबी स्रोतले अनुसन्धानका क्रममा भनेको थियो।

सिआइबीले तस्करीका दुई वटा घटनाको सँगसँगै अनुसन्धान गरेको थियो। तीमध्ये पछिल्लो ६० किलो र अर्को ९ किलो सुन तस्करीको घटना। यी दुवै घटनाका प्रकृति मिल्दाजुल्दा थिए। त्यही भएर सिआइबीले एकै पटक अनुसन्धान गरेको हो।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादीका केही नेता–कार्यकर्तासँग सम्पर्क रहेको स्रोतको दाबी छ। चिनियाँ तस्करहरूले पछिल्लो पटक माओवादीका नेता–कार्यकर्तासँग ह्वाट्स एपमार्फत कुराकानी गरेको पाइएको छ।

सुन तस्करी प्रकरणमा सिआइबीले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव झलकमान अधिकारीसहित प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिसँग पनि सोधपुछ गरेको छ। अधिकारीमाथि पानी तान्ने पम्पमा समेत सुन तस्करी गर्न सहयोग गरेको आरोप छ। दावा छिरिङको सम्पर्क अधिकारीसँग पनि देखिएकाले सिआइबीले उनीसँग सोधपुछ गरेको हो।

सुन तस्करीमा चिनियाँ नागरिक ली हानसोङ, दाओजिन वाङलगायत मुछिएका छन्। नौ किलो र ६० किलो सुन तस्करीमा एउटै समूह रहेको पाइएको स्रोतको दाबी छ।

६० किलो सुन तस्करीमा रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याक पुचोङ, ली वेन सुङ, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन्।

प्रकाशित: २८ भाद्र २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App