२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेलकामा पनि चार्जिङ स्टेसन

तीन वर्षअघि निर्माण भए पनि सञ्चालनमा नआएको उदयपुरको बेलका नगरपालिकामा निर्मित विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालन हुन थालेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

बेलका ९ स्थित नगरपालिका केन्द्र रामपुर बजारस्थित बेलका बसपार्कमा निर्मित चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युतीय गाडी (इभी) हरू चलाउन सहज भएको छ।पछिल्लो तीन वर्ष यता धरान–चतारा गाइघाट–कटारी भिमान हुँदै मदन भण्डारी लोकमार्ग भएर राजधानी काठमाडौं आउजाउ गर्न इभीहरूलाई यो स्टेसनले सहज बनाएको छ।

यसअघि इटहरी र सिन्धुलीमा मात्र चार्जिङ स्टेसन रहेकाले इभी गाडी लिएर लामो दूरीमा यात्रा गर्न गाह्रो थियो।गाईघाटका इभी चालक रमेश कार्कीले स्थानीय गाडीहरूका लागि गहिरूनमा सानो क्षमताको स्टेशन स्थापना गरिएको बताए।निजी लगानीमा स्थापना गरिएको स्टेसनबाट दुःखले काम चलाउ चार्ज गरिँदै आएकोमा बेलकामा दुई वटा स्टेसन सञ्चालनमा आएपछि उदयपुरे गाडीहरूलाई धेरै सहज भएको कार्कीले बताए।

यसअघि स्टेसन नहुँदा गाईघाटबाट पश्चिमतर्फ हिँडेका इभी गाडी सिन्धुलीमा चार्ज गर्ने र पूर्वतर्फ जाँदा इटहरी नै पुग्नुपर्ने बाध्यता थियो।बेलकामा सञ्चालन भएपछि पूर्वतर्पm जाने इभी गाडीलाई धेरै सहुलियत भएको चालकहरू बताउँछन्।पहिले कोभिड कहर र दुई वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकासिएसँगै नेपाली यातायात बजारमा इभीको संख्या ह्वात्तै बढेको छ।

गाईघाटमा पनि गएको ६ महिनामा इभीको संख्या १९ वटा पुगेको गाईघाट संयुक्त बुकिङ काउन्टरका अध्यक्ष लक्ष्यजङ्ग ठकुरीले बताए।विद्युत्बाट चल्ने भएकाले इभीमा यात्रा गर्दा डिजेल र पेट्रोलको गन्ध नआउनुका साथै इन्जिनको आवाजसमेत नआउने भएकाले आरामदायी मात्र नभएर सस्तो पनि पर्छ।

बेलकामा विद्युत् प्राधिकरणले डेढ करोड हाराहारी लागतमा स्टेसन निर्माण गरेको नगरप्रमुख अशोक कार्कीले बताए।उनका अनुसार ११ हजार किलो भोल्टेज क्षमताको ट्रान्समिटर जडित स्टेसनमा २ वटा गाडी एकैचोटी चार्ज गर्न मिल्ने व्यवस्था छ।स्टेशन भएकाले मदन भण्डारी लोकमार्ग रुटमा चल्ने इभीहरूलाई सहज भएको छ।यता गाडी व्यवसायीहरूले २१ लाख खर्चेर निर्माण गरेको ४८ भोल्टेज क्षमताको स्टेसनमा भने एउटा मात्र गाडी चार्ज गर्न मिल्छ।

प्रकाशित: २६ भाद्र २०८० ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App