१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

धमिलो पानी पिउन बाध्य छन् भैँसेटारवासी

तमोर नदीमा धमिलो पानी भर्दै छिम्सवा महिला । तस्बिरः सिद्धराज राई

धनकुटा – तमोर नदीको किनारमा रहेको बस्तीमा बसोबास गर्ने बासिन्दाहरू यतिबेला धमिलो पानी पिउन बाध्य छन् । वर्षात लागेपछि नदीको पानी धमिलो हुन्छ । पानीको विकल्प नभएपछि घिन मान्दै पिउनु परेको उनीहरुको भनाई रहेको छ । 

वर्षातमा तमोर नदीको पानी पिउन योग्य छैन । वर्खामा धमिलो पानी आउँछ । हिउँदमा नदीको पानी सङ्लो भएपनि मसिनो ढुङ्गाका कणहरु देखिन्छ । विकल्प नहुँदा पुस्तौदेखि तमोर नदीको पानी पिउन बाध्य रहेको कुरुलेतुनुपा भैसेटारकी  इन्दिरा माझीले बताइन । 

भैसेटारमा ३२ घरपरिवारको माझी बस्ती छन् । उनीहरूले पुस्तौदेखिको धमिलो पानी पिउँदै आएका छन् । नजिकै खोला र कुवा पानी छैन । त्यसैले नदीको धमिलो पानीको भर पर्नुको विकल्प नभएको माझीले बताए । 

तीन वर्ष अघिसम्म नजिकै रहेको गंगटे खोलामा रहेको कुवामा तुर्के पानी झथ्र्याे । सानो पानी आउने भएकाले कतिपय स्थानीयले त्यहीबाट पानी ल्याइ उपभोग गर्थे । तर अहिले त्यो मुहानको पानी सुकिसकेको छ । हिजोआज सबैको लागि खानेपानीको मुहान तमोर नदी नै रहेको छ ।

भौगोलित विकटताको कारण कुरुलेतेनुपा जिल्लाकै पिछडिएको क्षेत्र हो । कुरुलेतेनुपा भित्र झन् पिछडिएको छ, भैसेटार । यहाँ अल्पसङ्ख्यक माझी समुदाय र केही तामाङ जातीको मात्र बसोबास छ । यहाँका स्थानीय पुख्यौली पेशा तमोर नदीमा माछा मारेर जीविकोपार्जन गर्छन् । अहिले गाउँका धेरै युवाहरू वैदेशिक रोजगारीमा छन् । गाउँमा केटाकेटी, महिला र वृद्धवृद्धाहरू मात्र रहेका छन् ।

भैसेटारका बासिन्दा मात्र हैन, तमोर नदीको किनारका बस्तीमा बस्ने सबैलाई वर्षात लागेपछि यही पिरलो हुन्छ । पानी पर्ने बित्तिकै खोला र नदी  धमिलो हुन्छ । त्यसैले घिन लाग्दै भएपनि पिउँदै आएको धनकुटा नगरपालिका वडा नं. ९ छिम्सुवाका रामबहादुर थापाले बताए । घरमा धमिलो पानी पिउने बानी परिसक्यो । पाहुना आउँदा चाँहि निकै अप्ठयारो हुन्छ । कसैले पानी मागे दिनै सरम लाग्दो हुने थापाले बताए । 

तमोर नदीको किनारमा रहेको बस्तीका बासिन्दा नुहाई धुवाई गर्न नदीमा जानु पर्छ । खानेपानीकै अभावले गाउँमा सरसफाईको अवस्था अत्यन्तै दहनीय छ । कर्कले, साप्तिङ, घंघरु, सफाइटार, पोखरे लगायत बस्तीमा हिउँद तथा बर्खामा खानेपानीको दुख हुने गरेको छ । हिउँदमा पानी हुँदैन बर्खामा धमिलो भएर खाना नमिल्ने स्थानीयले बताए । धमिलो पानीको प्रयोगको कारण स्थानीयवासीमा झाडापखाला, एलर्जी, टाइफाइड, निमोनिया जस्ता रोग लाग्ने गरेको छ । 
त्यस्तै नदीकै भर पर्दा स्थानीयवासीले ज्यान समेत गुमाउने गरेका छन् । नुहाउन र पानी लिन नदीमा जाँदा हरेक साल मान्छे बेपत्ता हुने गरेका छन् । भदौ २३ गते दिउँसो तमोर नदीमा नुहाउन गएकी ५ वर्षीया बालिका स्नेहा श्रेष्ठ बगेर बेपत्ता भइन । भदौ २१ गते तमोर नदीको किनारमै बगाएर ल्याएको बेवारिसे लास प्रहरीले भेट्टाएको थियो । गर्मी भएकाले चिसो पानी नुहाउन गएका मान्छेहरू नदीको भेलले बगाउने गरेको मुलघाटका चन्द्र श्रेष्ठले बताए । 

तमोेर नदी किनारका बस्तीमा प्रर्याप्त सिँचाई अभावले खेतीयोग्य जमिन बाँझो छ । आकाशे पानीको भरमा मकै, कोदो र जुनेलोको मात्र खेती हुन्छ । नजिकै नदीमा पानी बगेपनि सदुपयोग गर्न नसक्दा हेर्नु बाहेक अरु केही विकल्प नभएको उनको भनाइ छ । केही वर्षयता सिचाई डिभिजन कार्यालयले तमोर नदी किनारका बस्तीमा लिफ्ट सिंचाई संचालन गर्ने योजना बनाएको छ । तर कार्यन्वयन नआउँदा घरको आँगनमै पानी थाप्न पाउने र तरकारी खेतीका लागि सिँचाई गर्ने स्थानीयबासीको सपना अधुरो छ।

प्रकाशित: २५ भाद्र २०७४ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App