७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुन व्यवसायी नै तस्करीमा

काठमाडौं- सुनको वैध कारोबार गर्न सरकारसँग अनुमति लिएर गहना व्यवसायमा संलग्न व्यवसायी नै सुन तस्करीमा संलग्न देखिएका छन् । वैध सुनको बजार मूल्यभन्दा सस्तो पाउँदा बजारमा तस्करीको सुन फैलाउनमात्रै हैन केही सुन व्यवसायी प्रत्यक्ष रूपमा आफैं तस्करीमा संलग्न रहेको अभियोगमा अदालतमा अझै मुद्दा खेपिरहेका छन् ।
२०६६ बाटै सुन तस्करीको अभियोगमा सुन कारोबारी पक्राउ पर्न थालेका हुन् । पक्राउ परेका भरियाको सूचनाका आधारमा प्रहरीले व्यवसायीलाई पक्राउ गर्ने गरेको थियो । २०७२ पुस १४ मा सुन व्यवसायी आफैं तस्करीको सुनसहित पक्राउ परेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाले २०७१ माघ २६ मा काठमाडौंका विभिन्न सुन पसलमा छापा मारेर तस्करीको सुन कारोबारमा सुन व्यवसायीको संलग्नता स्पस्ट पारेको थियो । महाशाखाले काठमाडौंको न्युरोडस्थित बालाजी एन्ड सन्स , युनाइटेड गोल्ड मार्ट, बौद्धको मामन स्टोर्स र संगम ज्वेलर्समा छापा मारेको थियो ।
छापा मार्दा  ५ किलो सुन र ४ करोड ७४ लाख नगद फेला परेको थियो । सुनको वैधानिक स्रोत खुलाउन नसकेपछि तस्करीको सुन कारोबार गरेको अभियोगमा बालाजी एन्ड सन्स सुनचाँदी पसलका बालु जगन्नाथ धाङगे, बौद्धमा रहेको मामन स्टोर्स सञ्चालक नरेश अग्रवाल पक्राउ परेका थिए ।
प्रहरीले भारत महाराष्ट्रका धाङगेको पसलबाट २ किलो सुन र ३ करोड २२ लाख रुपैयाँ फेला पारेको थियो । अग्रवाल भारत दार्जिलिङका हुन् । उनको पसलबाट २८ लाख फेला पारेको थियो । प्रहरीले सोही दिन द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्य, संगम ज्वेलर्सका सञ्चालक रमेश खडकालाई पक्राउ गरेको थियो ।
महाशाखाले पहिलोपटक सुन तस्करीमा पक्राउ परेकालाई राजश्व छलीको साटो संगठित अपराध ऐन लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । सुन राजश्व कार्यालयमा बुझाएर कारोबारीलाई संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीको प्रयासमा जिल्ला न्यायधिवक्ता कार्यालयका अधिकारी बाधक बने । उनीहरुमाथि संगठित अपराधको अभियोग लागेन ।
संसदीय समितिले यस विषयमा अनुसन्धान गर्ने दाबी गरेको थियो । तर, घटना त्यसै सेलायो । व्यापारीले सामान्य धरौटीमा उन्मुक्ति पाए । महाशाखाले २०७२ मा न्युरोडमा रहेको भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक विवेक र विक्रम  मित्तललाई साढे ९ किलो सुनसहित पक्राउ गरेको थियो । यी दुवै भारतीय नागरिक हुन् ।
साढे ३३ किलो सुन तस्करीमा पुनः सुन व्यवसायी प्रत्यक्ष संलग्न देखिए । २०७१ मंसिर १४ मा सुन तस्करीमा संलग्न देखिएका आरके ज्वेलर्स साढे ३३ किलो सुनको तस्करीमा समेत जोडियो । २०७१ मा महाशाखाले दुई किलो सुनसहित सन्नी श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी पसलबाहिर पक्राउ परेकाले यसमा व्यवसायी तानिएनन् । श्रेष्ठमात्रै कारबाहीमा परेका थिए ।
०७३ पुस २१ त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ३३ किलो सुनको अनुसन्धानमा आरके ज्वेलर्सका राजन्द्रकुमार शाक्यको संलग्नता खुलेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आरकेसँगै साईंराम ज्वेलर्सको विभूति अमोल बालचन्द्र,  शालीमार ज्वेलर्सको रामकृष्ण र कुसुम गोयल र भैवल लक्ष्मी ज्वेलरीका प्रमोद श्रेष्ठसमेत सुन तस्करीमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
कारोबारीको आवरणमा तस्करीको सुनलाई वैधता दिन व्यवसायी प्रत्यक्ष रूपमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेर अवैध सुन बरामद गर्दै आएको छ । वैध व्यापारलाई प्रोत्साहन गर्ने भन्दै खुलेका व्यवसायीका छाता संगठनका अधिकारी तस्करी र तस्करीको सुनको कारोबारीलाई निरुत्साहित गर्नुको साटो पटकपटक आन्दोलनमा उत्रेर उल्टो संरक्षण गर्दै आएको छ ।
सुन व्यवसायीहरू नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी तथा रत्न–आभूषण महासंघमा आबद्ध छन् । हस्तकला महासंघले समेत सरकारसँग वैध सुन किन्न पाउँछ ।
सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार नेपालभर करिब २० हजार व्यवसायी सक्रिय छन् । त्यसमा ७ हजार महासंघमा आबद्ध छन् । केही व्यवसायी रत्न आभूषण महासंघमा आबद्ध छन् ।
यी तीन संस्थामध्ये सुनचाँदी व्यवसायी महासंघका अधिकारी संरक्षणमा अग्रपंक्तिमा देखिन्छन् । सुन तस्करीको अभियोगमा व्यवसायी पक्राउ परे पनि उनीहरू आबद्ध संस्थाले उनीहरूमाथि कुनै कारबाही गर्दैन ।
महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य सुन तस्करीमा पक्राउ परेका व्यवसायीमाथि महासंघले अहिलेसम्म कुनै कारबाही नगरेको स्वीकार गर्छन् ।
‘यो विषयमा हामीले विचार नै गरेका रहेनछौं,’ उनले नागरिकसँग भने,‘ सरकारले कानुनअनुसार कारबाही गर्ने भएकाले हाम्रो ध्यान गएन । अब यो पाटोमा केही काम गर्छौं ।’
उनले केही व्यवसायी तस्करीमा पक्राउ परे पनि सुन तस्करीमा संलग्न अधिकांश अन्य व्यवसायमा संलग्न रहेको दाबी गर्छन् । बजारमा तस्करीको सुन आउँदा वैध कारोबार गर्नेहरू मारमा परेको र बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनले बताए ।
नेपाल प्रहरीका पूर्वएआइजी हेमन्त मल्ल तस्करीको सुन बजारमा फैलाउन सुन व्यवसायी कुनै न कुनै रूपमा संलग्न रहेको देखिएको बताउँछन् ।
‘मागअनुसारको वैध आयात नहुँदा व्यवसायीले तस्करीको सुन स्वीकार गरेको देखिन्छ,’ उनले भने, ‘वैध सुनको तुलनामा नाफा पनि बढी हुने भएकाले उनीहरूले तस्करीको सुन स्वीकार गर्ने गरेको हुनसक्छ ।’
पूर्वडिआइजी मल्ल चीनसँगको व्यापारमा बैंकिङ च्यालनमा कडाइ नगर्दा सुनलगायतका सामग्रीको तस्करी बढेको बताउँछन् ।
चीनसँगको कारोबारमा हुने भुक्तानी पारदर्शी नहुँदा अवैध कारोबारको भुक्तानीका लागि डलर तस्करीसँगै हुन्डीको प्रयोग बढेको बताउँदै उनले भुक्तानीका माध्यम लुज बनाएसम्म समस्या समाधान नहुने बताए ।
‘नेपालमा चिनियाँहरू डलरसहित पक्राउ पर्नु, तस्करीको सुन बरामद हुँदा पनि भुक्तानीमा समस्या नहुनुको कारण यही हो,’ सुनको होस् या पछिल्लो समय दरबारमार्गका पसलमा देखिएका समस्याको कारण यही हो ।’

प्रकाशित: २५ भाद्र २०७४ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App