१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुरु भयो ‘जलवायु विघटन’

पछिल्ला तीन महिनामा पृथ्वीको सतही तापमान बढ्दा यसअघिका सबै रेकर्ड तोडिएका छन्। यो वर्षको जुन, जुलाई र अगस्टमा पृथ्वीको सतहको सरदर तापमान १६.७७ डिग्री सेन्टिग्रेड पुगेको छ। यो सरदर तापमानभन्दा ०.६६ डिग्रीले बढी हो। यसअघि सन् २०१९ कोे गर्मीयाममा सर्वाधिक गर्मी थियो। तापमानमा भएको रेकर्ड वृद्धिले समुद्री सतहको तापक्रम बढेको र विश्वभर विषम मौसमका घटनाहरूमा वृद्धि भएको युरोपियन युनियन (इयु) को आर्थिक सहयोगमा कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ।

तापक्रममा भएको बढोत्तरीका कारण अधिकांश पश्चिमी युरोप र टर्कीमा रेकर्ड वर्षा भएको र युरोपका विभिन्न क्षेत्र, एसिया, चिली, ब्राजिल, अस्ट्रेलिया र अमेरिकामा बाढी आएको कपर्निकस प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार यो अवधिमा अन्टार्टिकामा रहेको हिउँको तहमा यसअघिका वर्षहरूका सोही महिनाको तुलनामा १२ प्रतिशतले कमी आएको र आर्टिक समुद्रमा सरदरको १० प्रतिशत कम हिउँ रहेको पाइएको छ। महिनागत सरदर तापमानका हिसाबले गत अगस्टमा समुद्र सतहको तापक्रम बढेर सर्वाधिक २०.९८ डिग्री पुगेको छ। 

सन् १९४० देखि पृथ्वीको सतह तापक्रमको आधिकारिक रेकर्ड राख्न थालेयता गत अगस्ट सबैभन्दा तातो महिना थियो। वर्ष सकिन अझै चार महिना बाँकी रहेको अवस्थामा सन् २०२३ हालसम्मकै दोस्रो सर्वाधिक गर्मी वर्ष बनेको छ। यसअघि सन् २०१९ को अगस्टमा समुद्र सतह सर्वाधिक तातो रहेको रेकर्ड थियो। त्यतिबेलाको वार्षिक सरदर तापमानभन्दा यो वर्षको पहिलो आठ महिनाको तापमान मात्र ०.०१ डिग्री सेन्टिग्रडले कम छ।

सन् १९४० देखि पृथ्वीको सतह तापक्रमको आधिकारिक रेकर्ड राख्न थालेयता गत अगस्ट सबैभन्दा तातो महिना थियो। वर्ष सकिन अझै चार महिना बाँकी रहेको अवस्थामा सन् २०२३ हालसम्मकै दोस्रो सर्वाधिक गर्मी वर्ष बनेको छ।  

बुधबार रिपोर्ट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले गर्मी दिनहरूले तर्साउने मात्र होइन, घाइते नै बनाउन थालिसकेको बताए। ‘सर्वाधिक तातो गर्मीयामका कारण हाम्रो पृथ्वी उम्लन थालेको छ। जलवायु विघटन सुरु भएको छ,’ उनले भने।  

थेग्न नसकिने हिसाबमा पृथ्वीको हरेक कुनामा विषम मौसमी घटना घटित भइरहेको चर्चा गर्दै उनले भने, ‘तापक्रम बढेजस्तै हाम्रा जलवायु कार्यमा पनि बढोत्तरी हुनु आवश्यक छ। चुनौतीलाई समाधान गर्न सके अझै पनि हामीले जलवायु अराजकता रोक्न सक्छौं।’

हाल प्रशान्त महासागरमा देखिएको मौसमी प्रवृत्ति इल–निनोको अत्यधिक असर दोस्रो वर्षमा देखिने चर्चा गर्दै विश्व मौसम संगठनका महासचिव पेटरी तलासले उक्त अवधि आउनुअघि नै यसरी तापमानमा बढोत्तरी हुनु चिन्ताको विषय रहेको बताएका छन्।  

कपर्निकस क्लाइमेट चेन्ज सर्भिसका निर्देशक कार्लाे बाउन्टेम्पोले एकपछि अर्काे गर्दै तापमानका रेकर्ड तोडिएको बताएका छन्। ‘सन् २०२३ का आठ महिनासम्मको रेकर्डका आधारमा वर्षभरिकै सरदर तापमानका हिसाबले इतिहासकै दोस्रो तातो वर्षमा नामांकित भएको छ। विषम मौसमी घटना मात्र होइन, तापमानका यसअघिका रेकर्ड लगातार तोडिने क्रम जारी छ,’ उनले भनेका छन्।

संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र बेलायतको मौसम कार्यालयले गत मे महिनामा सार्वजनिक गरेको एक रिपोर्टले आगामी पाँच वर्षमध्ये कुनै एक वर्ष हालसम्मको सबैभन्दा तातो वर्ष रहने आकलन गरेको थियो। सो रिपोर्टअनुसार आगामी पाँच वर्षको कुनै एक वर्षमा पृथ्वीको सरदर तापमान औद्योगिक क्रान्तिअघिको भन्दा १.५ डिग्री सेन्टिग्रेडले बढी हुनेछ। पृथ्वीको सरदर तापमान वृद्धिलाई सकेसम्म १.५ डिग्रीमा सीमित राख्ने लक्ष्य जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले लिएको छ। तर पेरिस सम्झौताअनुसार एक वर्ष मात्र नभई धेरै वर्षसम्म दीर्घकालीन रूपमा तापमान वृद्धि १.५ डिग्री सेन्टिग्रेडभन्दा बढी हुनुहुँदैन।

प्रकाशित: २२ भाद्र २०८० ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App