१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंबाट कसरी हङकङ पुग्यो चरेस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ पुगेको गाँजा र चरेस बरामद भएको खुलेको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो। हङकङ प्रहरीले नेपालबाट गएको गाँजा र चरेस बरामद भएको जानकारी गराए पनि परिमाणचाहिँ खुलाएको छैन।  

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी गोविन्द थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाजाँच पास गरी हङकङ पुर्याइएको गाँजा र चरेसबारे डिएसपीको नेतृत्वमा छानबिन भैरहेको बताए। ‘सुरक्षा जाँचमा कसरी त्रुटि भयो, प्रहरीको त्रुटि भयो कि भन्सारको भन्नेबारे छानबिन भैरहेको छ। अहिले प्रहरीका तर्फबाट मात्रै हामीले छानबिन गरिरहेका छौं’, थपलियाले भने।

नेपाल प्रहरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाएर इन्टरपोलको १००औं वार्षिकोत्सव मनाएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री दाहालले संगठित अपराध, लागुऔषध ओसारपसार, साइबर क्राइम, आतंकवाद नियन्त्रण र सुरक्षा मामिलामा नेपाल प्रहरी सक्षम भएको बताएका थिए। नेपालको विमानस्थल हुँदै विदेशी भूमिमा पुगेको लागुऔषध बरामद हुनुले नेपाल प्रहरीको विमानस्थल सुरक्षा प्रबन्धमाथि प्रश्न उठेको छ। तर प्रहरीले यो विषयमा आफ्नो मात्र कमजोरी नभएको जनाएको छ। ‘भन्सारमा जाँच गर्ने एउटा मेसिन छ, त्यसले स्क्रिनिङ गर्दा केही देखाउँदैन। नेपाल प्रहरीका कर्मचारीले हातले जाँच गर्नुपर्छ। यस्तो अवस्थामा प्रहरीका तर्फबाट कमजोरी भयो कि भनेर छानबिन सुरु गरिएको हो’, एसएसपी थपलियाले भने।  

हङकङ प्रहरीले नेपालबाट गएको गाँजा र चरेस बरामद भएको जानकारी गराए पनि परिमाणचाहिँ खुलाएको छैन।

हवाईमार्ग हुँदै विदेशबाट आएको तस्करीको सुन विमानस्थलबाट बाहिरिनु र विमानस्थलबाट लागुऔषध बाहिरिँदा नेपाल प्रहरीको छविमा गम्भीर धक्का लागेको छ। पुस्तक पठाउने बहानमा लागुऔषध हङकङ पुर्याइएको हो। ‘बुक कभरमा लागुऔषध विमानस्थलबाट विदेश पुगेको भेटियो’, नोपाल प्रहरीका एक अधिकारीले भने। कार्गो कम्पनीहरूले भन्सार र प्रहरीलाई प्रभावित पारेर वा विश्वासमा लिएर सामान पठाउँदा यस्तो अवस्था आएको ब्युरा स्रोतले जनाएको छ। 

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीले हङकङ प्रहरीसँग सहयोग मागिरहेका बेला नेपालको विमानस्थल भएर लागुऔषध त्यहाँ पुर्याइएको हो। यस विषयमा हङकङ प्रहरीले नेपाल प्रहरीसँग चासो राखेको छ। ‘सुन तस्करी अनुसन्धानमा सहयोग माग्न हाम्रो प्रहरी त्यहाँ (हङकङ) पुगेको छ। हङकङ प्रहरीले कानुनी अड्चन देखाएर सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको विवरण दिन आनाकानी गरिहेको छ। यसै बेला नेपालबाट गएको लागुऔषध त्यहाँ बरामद भएको जानकारी प्रहरीले गरायो’, लागुऔषध नियन्त्रण ब्युरोका एक अधिकारीले भने। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करी अनुसन्धानमा हङकङ प्रहरीको सहयोग लिन एसएसपी दिनेश आचार्यलाई त्यहाँ पठाएको थियो।

लागुऔषध नियन्त्रण ब्युरोले नेपालको विमानस्थल भएर हङकङ पठाइएको गाँजा र चरेस बरामद प्रकरणमा छानबिन गर्न डिएसपी अनन्तराम शर्माको संयोजकत्वमा समिति बनाएको छ। समितिले काम थालिसकेको छ, त्यस दिन विमानस्थलमा ड्युटीमा खटिएका प्रहरीसँग बयान लिने काम पनि सकेको छ। 

विराट ग्लोबल प्राइभेट लिमिटेडले पठाएको सामानमा गाँजा र चरेस भेटिएको विवरण हङकङ प्रहरीले दिएको छ। साउन ३१ गते हङकङ प्रहरीले पत्राचार गरी नेपाल प्रहरीका अधिकारीलाई गाँजार र चरेस बरामद भएको जानकारी गराएको भए पनि यसलाई गुपचुप राखिएको थियो। साउन २६ गते विमानस्थल कार्गो चेकिङमा वरिष्ठ सई निरञ्जन पनेरुको ड्युटी थियो। प्रहरी सहायक निरीक्षक (असई) द्वय कैलाश राउत र विष्णुबहादुर थापासहित हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत पनि त्यहाँ ड्युटीमा खटिएका थिए। कार्गोमार्फत सामान पठाउँदा लागुऔषध ब्युरोले पनि जाँच गर्छ। तर कार्गोको सामानमा कसरी लागुऔषध गयो भन्नेमा प्रहरी अनभिज्ञ छ।

प्रकाशित: २२ भाद्र २०८० ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App